close

अमेरिकी प्रहरीलाई प्रविधि बिक्री रोक्न गूगलका कर्मचारीको माग

टेकपाना टेकपाना

असार ९, २०७७ १७:३८

अमेरिकी प्रहरीलाई प्रविधि बिक्री रोक्न गूगलका कर्मचारीको माग

एजेन्सी । गूगलका १,६६६ भन्दा धेरै कर्मचारीको एक समूहले प्रहरीलाई आफ्नो प्रविधिको बिक्री रोक्न गूगलसँग माग गरेको छ । गूगलका सीईओ सुन्दर पिचाईलाई कर्मचारीहरुले लेखेको पत्रमा भनिएको छ, ‘गूगलले प्रहरी बललाई अझै पनि प्रविधि बिक्री गरिरहेको भन्ने कुरा थाहा पाउँदा हामी एकदमै निराश भएका छौं ।

गूगलले प्रहरी बलसँगको आफ्नो सम्बन्धलाई अझै विज्ञापन गरिरहेको छ । प्रहरी प्रशासनलाई हानिरहीत बनाउन लागिपरेका संस्थासँग जोडिदै  प्रहरीसँगको सम्बन्ध तोड्नुको साटो गूगल प्रहरीसँग अझै धेरै व्यापार गर्ने सुरमा छ ।’ 

पत्रमा अश्वेत अफ्रिकी अमेरिकन नागरिक जर्ज फ्लोयडको ज्यान लिने प्रशासनलाई किन सहयोग गर्ने भन्दै उक्त पत्रमार्फत प्रश्न गरिएको छ । ब्ल्याक लाइभ म्याटर्स अभियान चलाउने नागरिकहरुमाथि निगरानी गरेपछि मूद्दा खेपिरहेका क्लार्कटाउन प्रहरीलाई सफल पात्रको रुपमा गूगलले विज्ञापन गरेको कर्मचारीहरुको आरोप छ । 

गूगलले केही समय अघि क्लार्क टाउन प्रहरी विभागले जानकारी तथा डिजिटल इभिडेन्सहरु शेयर गर्न जी सूटको कसरी प्रयोग गरिरहेको छ भनेर सफलताको कथाको रुपमा सार्वजनिक गरेको थियो । यसैबीच गूगल सियटल प्रहरी फाउण्डेसनको साझेदार तथा दात्री निकाय पनि हो ।

साथै गूगलको भेञ्चर क्यापिटल आर्म जीभीले समेत प्रहरीका लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा काम गरिरहेका स्टार्टअपहरुमा लगानी गरेको छ । 

यसैबीच गूगलका प्रवक्ताले रंगभेद निर्मूल पार्नका लागि अर्थपूर्ण कार्य गर्न गूगल प्रतिवद्ध रहेको बताएका छन् । साथै यसका लागि कर्मचारीहरुले पाँच सय प्रडक्टको सिफारिस गरेको र त्यसमाथि अहिले समक्षा भइरहेको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१