close

९० कम्पनीले रोके फेसबुकको विज्ञापन, यस्तो छ कारण

टेकपाना टेकपाना

असार १४, २०७७ १९:११

९० कम्पनीले रोके फेसबुकको विज्ञापन, यस्तो छ कारण

काठमाडौं । पछिल्लो केही समयदेखि सामाजिक सञ्जाल फेसबुकसँग विभिन्न कम्पनीले आफ्नो सम्बन्ध तोडिरहेका छन् । उनीहरुले फेसबुकमार्फत गर्दै आएको आफ्नो विज्ञापन केही समयका लागि रोक्ने निर्णय गरेका छन् ।

जसका कारण फेसबुकले केही समय अन्तरालमै ठूलो घाटा व्यहोर्नुपरेको छ । यसरी हालसम्म फेसबुकसँग सम्बन्ध तोड्ने कम्पनीको संख्या ९० नाघिसकेको छ ।

फेसबुकमाथि किन यसो भइरहेको छ त ? पछिल्लो समय विश्वव्यापी रुपमा फेसबुकबिरुद्ध ‘नाफाका लागि घृणा बन्द गर’ (#StopHateforProfit) अभियान चलिरहेको छ ।

यसका आयोजकहरुले फेसबुकलाई जातीय न्यायको लागि हालसालै भएको प्रदर्शनमा हिंसा जगाउने पोष्टलाई बेवास्ता गरेको आरोप लगाउँदै आएका छन् । त्यतिमात्र नभएर फेसबुकले घृणा भरिएका सन्देश र गलत सूचना नरोकेको आरोप उनीहरुको छ ।

उनीहरुले खास परिचय बोकेका व्यक्ति विरूद्ध हुने घृणा र गलत सूचनाप्रति फेसबुकले स्वतन्त्र जाँचबुझ गर्नुपर्ने माग राखेका छन् । त्यतिमात्रै नभएर यस्ता सामग्री प्रकाशन गर्ने सार्वजनिक तथा निजी समूहलाई खारेज गर्नुपर्ने माग उनीहरुको छ ।

खासगरी यसलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग जोडेर हेरिएको छ । फेसबुकले डोनल्ड ट्रम्पको हिंसात्मक सोचलाई प्रोत्साहन गर्ने किसिमको पोस्टमाथि कुनै पनि प्रतिक्रिया नदिई मुकदर्शक बनेको आरोप लागाइएको छ ।

जसका कारण अहिले फेसबुक बहिष्कार गर्ने अभियान नै चलेको छ । यसैबीच फेसबुकका मालिक मार्क जुकरबर्गले शुक्रबारमात्रै विज्ञापनको नीतिमा परिवर्तन गरेको घोषणा गरेका छन् ।

फेसबुकले अब कुनै जात, समुदाय, धर्म लगायतका आधारमा छुट्टिने खालका विज्ञापन फेसबुकबाट प्रशारित नहुने जनाएको छ । त्यतिमात्र नभएर यदि कुनै राजनीतिज्ञले उसको नीति विपरीत पोष्ट गरेको खण्डमा त्यसमा चेतावनी दिने समेत जनाएको छ ।

फेसबुकले आफूले नीतिगत रुपमै परिमार्जन गरेको जनाकारी दिएको भएता पनि अभियानले भने यसलाई स्वीकार गरेको छैन । उनीहरुले भनेका छन्, ‘फेसबुकले पहिला पनि यस्ता विषयमा माफी मागेको हो । यसअघि पनि उसले आफ्नो प्लेटफर्मबाट ठूला घटनामा भूमिका निभाए‍को देखाउन साना कदम उठाएको थियो । अब त्यस्तो हुँदैन । यो बन्द हुनैपर्छ ।’

यसरी यो अभियानमा साथ दिनेको संख्या विस्तारै बढ्दै गएको छ । सुरुवाती चरणमा अमेरिकाबाट सुरु भएको यो अभियानमा अहिले विश्वका धेरै कम्पनी जोडिएका छन् । पछिल्लो रिपोर्टअनुसार हालसम्म ९० भन्दा बढी कम्पनीले फेसबुकमार्फत गर्दै आएको विज्ञापन बन्द गर्ने निर्णय गरिरहेका छन् ।

त्यसमध्ये केहीले एक महिनाको लागि त कतिपयले एक वर्षकै लागि आफ्नो विज्ञापन रोकेका छन् । जसले गर्दा फेसबुकले ९ खर्ब भन्दा बढी आम्दानी गुमाइसकेको छ । त्यतिमात्र होइन कम्पनीको मार्केट शेयर दिनप्रतिदन ओह्रालो लाग्दै गएको छ ।

यस्ता छन्, फेसबुकसँग सम्बन्ध तोड्ने प्रमुख कम्पनी

  • युनिलिभर
  • भेरिजोन
  • होण्डा
  • दी नर्थ फेस
  • बेन एण्ड जेरी
  • आरईआई
  • प्याटागोनिया
  • अपओर्क
  • मोजीला
  • म्याग्नोलिया पिक्चर
  • ब्रिभबक्स
  • ड्यासलेन
  • टल्क स्पेस
  • लेन्डिङ क्लब
  • भाइबर

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३