close

चीन यसरी बन्दैछ, प्रविधिको विश्व महाशक्ति

टेकपाना टेकपाना

असार २१, २०७७ १४:४५

चीन यसरी बन्दैछ, प्रविधिको विश्व महाशक्ति

काठमाडौं । राम्रो काम गर्दा तपाईंको खातामा पोइन्ट जोडिने र गलत काम गर्दा पोइन्ट घट्ने हो भने सोच्नुहोस् त कस्तो हुन्थ्यो ? आफ्नो कर र बक्यौता समयमा भुक्तानी गर्दा पोइन्ट जोडिन्छ र निषेधित क्षेत्रमा प्रवेश गर्दा वा सडकमा लेन मिच्दा पोइन्ट घट्ने चलन हाम्रै छिमेकी मुलुक चीनमा अभ्यास भइरहेको छ ।

यसलाई त्यहाँ सोसल स्कोर भनिन्छ । चीनमा यसलाई मसिनले व्यवस्थापन गर्दछ । ती मसिनहरु आर्टिफिसियल इन्टेलिजेन्सको एउटा रोचक र विवादित उदाहरण हुन् । 

चीनमा मसिनले नै मानिसहरुको व्यवहारको रेटिङ गरिरहेको छ । स्वभाव राम्रो छ भने त्यहाँ सरकारले सुविधा दिन्छ र खराब छ भने सजाय । चीनको यो अभ्यासलाई हेर्दा आगामी दिनमा चाँडै नै चीन आर्टिफिसियल इन्टेलिजेन्सको सुपरपावर मुलुक बन्ने निश्चित छ ।

त्यसो त अमेरिका र चीनबीच सुपरपावर मुलुक बन्ने प्रतिस्पर्धा त सधैं चलिरहने विषय नै हो । तर सुपरपावर बन्ने यात्रामा चीनले अपनाएको मूख्य बाटो भनेको प्रविधिकै हो । यसका लागि उसले आर्टिफिसियल इन्टेलिजेन्स मात्र होइन, भ्वाइस रिकग्निसन, फेसियल रिकग्निसन, बिग डेटा र रोबोटिक्सको क्षेत्रमा समेत चीन विश्वमै अग्रस्थानमा छ । 

उदाहरणका लागि  चीनले आफ्नो स्वदेशी विमान पनि बनाएको छ । यस्तै चार सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा चल्ने बुलेट ट्रेन पनि उसले बनाइसकेको छ । जसको मोडल निर्यातका लागि समेत तयार भइसकेको छ ।

एप्पल, जनरल मोटर्स (जीएम), टोयोटा, फक्सवागन जस्ता कम्पनीहरु चीनमा आफ्नो उद्योग खोलिरहेका छन् । साथै रिसर्च सेन्टर (अनुसन्धान केन्द्र) पनि सञ्चालन गरिरहेका छन् । 

चीनमा यो सबै मेड ईन चाइना २०२५ अन्तर्गत भइरहेको छ । २०१५ मा चीन सरकारले दश वर्षे लक्ष्य लिएको थियो । जसको उद्देश्य चीनलाई दश वर्षभित्र उद्योग र प्रविधिको क्षेत्रमा महाशक्ति बनाउने भन्ने छ ।

चीनले स्पष्टरुपमा सस्तो कपडा, जुत्ता र खेलौना निर्यात गर्ने आफ्नो छवीलाई परिवर्तन गर्न चाहेको कुरा बताइसकेको छ । यसका लागि चीनले धेरै लगानी गरिरहेको छ र विदेशी कम्पनीहरुमाथि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रविधि हस्तान्तरणको दवाव पनि कायम गरिरहेको छ । 

यो कसरी सम्भव हुन्छ त ? वास्तवमा कुनै पनि विदेशी कम्पनी चिनियाँ बजारमा प्रवेश गर्दैगर्दा स्थानीय कम्पनीसँग गठबन्धन गर्नुपर्ने त्यहाँको बाध्यकारी नियम छ । यसबाहेक चीन आफ्नो रणनीति अन्तर्गत रहेर विदेशी कम्पनीको स्वामित्व खरिद समेत गर्दछ ।

उदाहरणका लागि मर्सडिज बेञ्ज गाडीको बारेमा त तपाईंले सुन्नु  भएकै होला । यो कार बनाउने जर्मन कम्पनी ड्याम्बलरको सबैभन्दा ठूलो शेयरधनी चिनियाँ कम्पनी गिली हो । यसबाहेक चीनमा यस्ता धेरै कानूनी फण्डाहरु छन्, जसले विदेशी प्रविधि कम्पनीलाई चीनमा स्थायीरुपमा रहन बाध्य बनाउँछ ।

उदाहरणका लागि एप्पल कम्पनी चीनमा त्यहाँको स्थानीय कम्पनीसँग मिलेर पहिलो डेटा स्टोरेज सेन्टर खोल्ने तयारी गर्दैछ । जसका लागि उसले चीन सरकारको सबै नियमको पालना गर्नुपर्ने हुन्छ । यसबाट कम्पनीको सबै जानकारी चिनियाँ सरकारले प्राप्त गर्दछ ।

चीन आर्टिफिसियल इन्टेलिजेन्समा विशेष जोड दिइरहेको छ । सेनामा पनि उसले आर्टिफिसियल इन्टेलिजेन्सलाई बढाइरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्सको सहारामा टाढै बसेर युद्ध तथा हातियारलाई नियन्त्रण गर्न सकिन्छ । चीन एआईमा आधारित क्षेप्यास्त्रहरु पनि विकास गर्दैछ । जसले स्वत: निशाना पत्ता लगाएर मानिसको सहयोग बिना आफैं काम फत्ते गर्न सक्छ । 

चीनको शहर सेञ्जेनमा एआईमा काम गर्ने त्यस्ता धेरै कम्पनीहरु छन् । यी मध्ये कतिपय स्वास्थ्य क्षेत्रलाई अझ बढी आधुनिक बनाउनका लागि पनि काम गरिरहेका छन् । चीनको सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीन २००७ देखि केन्द्रीय एल्गोरिदममा आधारित एउटा यस्तो सफ्टवेयर विकास गर्दैछ, जसले युद्धको समयमा तीब्र गतिमा बडो सटिकताका साथ निर्णय लिन सक्नेछ ।

ड्रोन प्राविधिक नै हेर्नुहोस् । अमेरिकाले आप्नो ड्रोन प्रविधि कुनै पनि मुलुकलाई दिन अस्विकार गरेको छ । तर चीनले यसको ठिक विपरित घोषणा गर्दै आफ्नो ड्रोन प्रविधि अन्य मुलुकलाई निर्यात गर्न हतारिएको छ । चीनले अमेरिका निकट नरहेका मुलुकहरुलाई सैन्य प्रविधि आपूर्ति गर्ने योजना बनाएको छ ।

चीन अहिले विश्वको सबैभन्दा ठूलो ड्रोन निर्यातकर्ताको रुपमा विकसित भएको छ । इन्टरनेशनल इन्स्टिच्यूट फर स्ट्राटेजिक स्टडीका अनुसार चीनले मिश्र, पाकिस्तान, नाइजेरिया, साउदी अरब र बर्मालाई आफ्नो ड्रोन बेचेको छ ।

आखिर चीनका लागि यो सबै कसरी सम्भव छ त ? यसको उत्तर सरल छ । चीनका स्टार्टअप कम्पनीहरुले करमा छूट पाउँछन्, सरकारी ठेक्का पाउँछन् र कार्यालयका लागि ठाउँ । चीनको सरकार ठूला कम्पनीहरुसँग मिलेर काम गर्दैछ । जस्तै बाइडू, अलिबाबा, टेन्सेन्ट ।

यसरी नै चीन आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअपको सबैभन्दा ठूलो बजार बनेको हो । चीनमा डेटा र सस्तो श्रमको फाइदा पनि छ । 

अर्को कुरा भनेको चीन विश्वको महत्वपूर्ण सप्लाई चेन हो । सेञ्जेन र ग्वानझाउमा सबै सामग्री बन्छन् । तपाईंको हातमा जुन मोबाइल छ, त्यसभित्रको चिप चीनमा बनेको हो । यहाँ सामग्रीहरु एसेम्बल गरिन्छ । विश्वभरको प्रविधिमा चीनको पहुँच छ । 

चीनले प्रविधि शक्ति हासिल गर्न अन्वेषणलाई महत्वपूर्ण मान्दैन । उसले प्रविधि जहाँसुकैको होस्, त्यसको प्रयोग र पहुँचमा ध्यान दिन्छ । हालै भारत सरकारले डेटा सुरक्षालाई ध्यानमा राख्दै ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगायो ।

साइबर चुनौतीको खेलमा चीन धेरै नै अगाडि पुगिसकेको छ । अमेरिका जस्तो मुलुकले पनि चीनमाथि वौद्धिक सम्पत्ति चोरीको आरोप लगाइसकेको छ र त्यस्ता कम्पनीहरुमाथि एक्सन पनि लिइसकेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३