close

घटेन नेपालको साइबर सुरक्षा जोखिम

टेकपाना टेकपाना

साउन ९, २०७७ ११:४२

घटेन नेपालको साइबर सुरक्षा जोखिम

काठमाडौं । नेपालमा पर्याप्त किसिमको सावधानीको अभावमा साइबर सुरक्षाको जोखिम बढ्दै गएको विज्ञहरुले बताएका छन् । वूमन ईन बिग डेटाले आयोजना गरेको  ‘बेल्ट योर डेटा’ शिर्षकको भर्चुअल प्यानल छलफलमा  बोल्दै साइबर सेक्युरिटी फर्म इमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइरालाले पर्याप्त सतर्कताको अभावमा डेटा ब्रिच (तथ्याङ्क चोरी) को जोखिम कम हुन नसकेको बताएका हुन् । 

साइबर सुरक्षा विज्ञ कोइरालाले भने,‘नेपालमा डेटा सुरक्षा र डेटा ब्रिचको सँगसँगै बढ्दै गएको छ । विगतको तुलनामा डेटा सुरक्षामा सुधार देखिए पनि साइबर सुरक्षाको जोखिम झन् अर्को स्तरमा विकास भएको छ ।’

यस्तै सूचना तथा सञ्चार प्रविधि कानूनमा वकालत गर्दै आएका अधिवक्ता प्रविन सुवेदीले नेपालमा डेटा सम्बन्धी कानून कार्यान्वयनको अभ्यास एसियामै उत्कृष्ट रहेको बताए । उनका अनुसार नेपालले यस्तो कानूनको कार्यन्वयनमा राम्रो प्रयास गरिरहेको भन्दै सरकारको प्रशंसा गरे । उनले नागरिक स्तरमा डेटा सम्बन्धी कानून र व्यवस्थाप्रतिको जागरुकता भए जस्तै आफ्नो डेटा सुरक्षा र गोपनीयतामा पनि उत्तिकै सजग हुन आवश्यक रहेको उल्लेख गरे । 

यस्तै डेटा वैज्ञानिक तथा एजुकेसन कोअर्डिनेटर दोभान राईले डेटा सुरक्षा कोभिड १९ लाई रोकथाम गर्न लगाउने मास्क जस्तै महत्वपूर्ण रहेको बताइन् । उनले भनिन्, ‘सबैले आफ्नो डेटालाई सुरक्षित राखेर त्यसको संभावित चोरीलाई रोक्नेतर्फ लाग्न जरुरी छ ।’ कार्यक्रममा उनले विश्वमा घटेका ठूला डेटा ब्रिचका केही घटनाहरुको दृष्टान्त समेत दिएकी थिइन् । 

आइतबार आयोजित उक्त भर्चुअल कार्यक्रममा १२५ जना व्यक्तिहरु सहभागी थिए । सो कार्यक्रममा डेटा के हो ?, डेटा कसरी ब्रिच हुन्छ ?, डेटा ब्रिचलाई कसरी रोकथाम गर्ने ? तथा नेपालमा डेटा सुरक्षाको वर्तमान अवस्था कस्तो छ भन्ने जस्ता विषयमा विज्ञहरुबीच छलफल भएको थियो ।

बिग डेटा र एनालिटिक्सको क्षेत्रमा महिलाहरुलाई आकर्षित गर्ने उद्देश्यका साथ सन् २०१५ मा वूमन इन बिग डेटाको स्थापना भएको थियो । यसबीच यसै गर्ष वूमन ईन बिग डेटाको नेपाल च्याप्टर खुलेको हो ।  यो सामुदायिक संस्थाले बिग डेटाको क्षेत्रमा महिलाहरुलाई संलग्न गराएर उनीहरुको वृत्ति विकासका लागि प्रेरित गर्दै आइरहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४