close

प्रहरीभन्दा चोर चलाख, हराएका र चोरी भएका मोबाइल ट्रेस गर्नै गाह्रो

टेकपाना टेकपाना

साउन १४, २०७७ १७:४

प्रहरीभन्दा चोर चलाख, हराएका र चोरी भएका मोबाइल ट्रेस गर्नै गाह्रो

काठमाडौं । पछिल्ला वर्षहरुमा मोबाइल फोन हराएको भन्दै उजुरी दिनेको संख्या बढिरहेको छ । गएको आर्थिक वर्षमा महानगरिय प्रहरी परिसर टेकु र नेपाल दूरसञ्चार प्राधिकरणमा गरी कुल १३ हजार ७ सय १३ वटा मोबाइल फोन हराएको उजुरी दर्ता भएको छ ।

दर्ता भएका मोबाइल फोन मध्ये १०.०१ प्रतिशत अर्थात १ हजार ३ सय ७४ वटा मात्रै भेटिएका छन् । यो तथ्याङ्कले नेपालमा हराएका तथा चोरी भएका फोन निकै कम संख्यामा मात्रै भेटिने गरेको देखिन्छ ।

सरकारी तथ्याङ्क अनुसार पछिल्ला तीन वर्षमा मोबाइल हराएको भन्दै ४६ हजार ७ सय ३१ निवदेन दर्ता भएका थिए । तर, त्यसमध्ये ५ हजार ८९ वटा मोबाइल मात्र पत्ता लगाउन प्रहरी सफल देखिएको छ ।

यती ठूलो संख्यामा मोबाइल फोन हराइरहेको अवस्थामा सीमित संख्यामा मात्रै फेला पर्नुको कारण के हो त ? नेपाल दूरसञ्चार प्राधिकरणमा विगत तीन वर्षको अवधिमा २,४४६ वटा मोबाइलफोन हराएको उजुरी परेको छ । त्यसमध्ये जम्मा एक सय ५४ वटा मात्रै ट्रेस हुन सफल देखिएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल भन्छन्, ‘सेवा प्रदायकको नेटर्वकबाट हनुपर्ने ट्रेस कम हुन थालेको छ ।’ मोबाइल ट्रेसिङको कार्य ६ महिनादेखि एक वर्षसम्म निरन्तर रुपमा हुनुपर्ने प्रक्रिया हो ।

सेवा प्रदायकले एक दुई पटक ट्रेस गरेर त्यसै छाड्ने गरेको समेत हुनसक्ने नियामकको आशंका छ । अर्याल भन्छन्, ‘त्यसभन्दा पनि चोरहरुले मोबाइलमा सिम नराखेरै प्रयोग गर्ने गरेकाले पनि ट्रयाक हुन नभएको हुनसक्छ ।’

महानगरिय प्रहरी परिसर टेकूले समेत मोबाइल चोरहरुले चोरीको मोबाइल प्रयोग गर्ने तरिका परिवर्तन भएको विश्लेषण गरेको छ । पहिले–पहिले पाकेटमारले पकेट मारेको वा चोरेको मोबाईल सिमकार्ड फ्याँक्दै, नयाँ सिमकार्ड राख्थे र मोबाईल ट्रयाक गर्न सजिलो हुन्थ्यो । तर, हाल मोबाईल चोरहरुले मोबाईलमा सिम नराखेरै प्रयोग गर्ने गरेकाले पनि ट्रयाक गर्न गाह्रो भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०