close

मसिन लर्निङ तथा डेटा साइन्ससम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

टेकपाना टेकपाना

साउन २०, २०७७ ११:३०

मसिन लर्निङ तथा डेटा साइन्ससम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

काठमाडौं । मसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी तेस्रो राष्ट्रिय वर्कशप (कार्यशाला) एनडब्लूएमएलडीएस २०२० सफलतापूर्वक सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको उक्त वर्कशप सोमबार समापन भएको हो ।

एनडब्लूएमएलडीएसको यो तेस्रो संस्करण हो । प्रत्येक वर्ष आयोजना हुँदै आएको यो कार्यक्रम यस पटक भने कोरोनाका कारण पूर्णरुपमा भर्चुअल रुपमा आयोजना भएको छ । कार्यक्रममा विज्ञान, प्रविधि तथा सञ्चार क्षेत्रका विभिन्न सरोकारवाला, प्राज्ञिक व्यक्तित्व तथा विज्ञहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका डीन प्राध्यापक डा शशिधरराम जोशी, नेपाल खुल्ला विश्वविद्यालयका डीन प्राध्यापक डा इन्द्र कार्की, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा मनीष पोखरेल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले भाग लिएका थिए ।

त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कँडेल, युनेस्को नेपालका प्राध्यापक डा रमेश मास्के, त्रिभुवन विश्वविद्यालय सीडीसीएसआईटीका विभागीय प्रमुख नवराज पौडेल र क्यानका अध्यक्ष नवराज कुँवर समेत उपस्थित थिए । 

कार्यक्रमको उद्घाटन शत्रमा कम्प्युटर वैज्ञानिक डा समिर मास्के, इञ्जिनियरिङ अध्ययन संस्थानका डीन डा शशीधर राम जोशी र अष्ट्रेलियास्थित डाइकेन विश्वविद्यालयका डा सुनिल अर्याल प्रमुख वक्ताको रुपमा रहेका थिए । 

विश्वभर छरिएर रहेका १४ जना नेपाली विज्ञहरुले मसिन लर्निङ, सुपरभाइज्ड लर्निङ, अनसुपरभाइज्ड लर्निङ, रेनफोर्समेन्ट लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स, डेटा माइनिङ, कम्प्युटर भिजन, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, बिग डेटा टेक्नोलोजी लगायतका विषयमा प्रस्तुति दिएका थिए । वर्कशपमा सहभागीहरुलाई आठ समूहमा विभाजन गरी कार्यक्रम सञ्चालन गरिएको थियो । 

कार्यक्रममा नेपालको परिप्रेक्षमा मसिन लर्निङ तथा डेटा साइन्सको उपदेयताको विषयमा पनि प्यानल छलफल चलाइएको थियो । प्रत्येक समूहलाई डेटा साइन्स तथा मसिन लर्निङका सामान्यदेखि अत्याधुनिक विभिन्न आठ परियोजना सम्पन्न गर्ने जिम्मेवारी समेत दिइएको थियो । 

यस्ता छन्, कार्यशालाका परियोजना

  • कोभिड डेटालाई वेब स्क्र्यापिङ र पूर्वानुमान सहितको एउटा साधारण फ्लास्क एप बनाउने 
  • सेन्टिमेन्ट एनालिसिसः डिप लर्निङ मोडलहरुको एनालिसिस 
  • मास्कका लागि फेस डिटेक्सन
  • एक्स रे तस्वीर प्रयोग गरेर निमोनिया डिटेक्सन
  • सुरुवातकर्ताहरु लक्षित टाइटानिक डेटासेटको मसिन लर्निङ
  • ह्याण्ड क्यारेक्टर रिकग्निसन 
  • स्टक मूल्यको पूर्वानुमान 
  • एनोमली डिटेक्सन 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३