close

१४ वर्षीय नेपाली बालकले बनाए भ्वाइस असिस्टेन्स टूल

टेकपाना टेकपाना

भदौ १०, २०७७ ९:३५

१४ वर्षीय नेपाली बालकले बनाए भ्वाइस असिस्टेन्स टूल

काठमाडौं । महांकालस्थित जोसेफ पब्लिक स्कूलमा कक्षा ८ मा अध्ययनरत छात्र हुन् निश्चल शाक्य ।  प्राविधिक बुवा र बिजनेसम्यान काकाबाट प्रेरित निश्चललाई विज्ञान प्रविधिसँग गहिरो लगाव छ ।

यही लगाव र प्रेरणाको बलमा निश्चलले १४ वर्षको कलिलो उमेरमा नै भ्वाइस असिस्टेन्स टूल सफ्टवेयर निर्माण गरेका छन् । 

निश्चलको यो कलिलो उमेरमै अभूतपूर्व क्षमताको सम्मान गर्दै उनलाई ‘मेकर अफ द डे’ घोषणा गरिएको छ । कारखाना र टेकपानाकाे संयुक्त प्रयासमा भदाै महिनाभरका लागि आयोजित मेकर एण्ड इन्नाेभेटर मन्थमा हरेक दिन एकजना प्रतिभाशाली विद्यार्थीलाई मेकर अफ दी डे घाेषणा गरिँदै आएको छ ।

NISCHAL SHAKYA | Maker of the day

‘मेकर अफ द डे’ निश्चल शाक्यलाई हार्दिक बधाई ! ?? प्रोग्रामिङमा रुची राख्ने शाक्यले १४ वर्षको उमेरमै भ्वाइस असिस्टेन्स टूल्स बनाउन सफल भएका छन् । सिक्दै गर्नुस् अनि बनाउँदै जानुस् है ! #छुकछुकेकथाहरु Karkhana र TechPana को संयुक्त प्रयास सहयोगीः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विज्ञान शिक्षक संघ नेपाल (एसटीएएन) र हिमालयन साइन्स फाउण्डेसन

Posted by TechPana on Monday, August 24, 2020

लकडाउनका कारण घरमै बसिरहेको बेला आफ्नो खाली समयलाई धेरैभन्दा धेरै सिर्जनात्मक कार्यमा सदुपयोग गर्ने निश्चलको चाहना थियो  । यसैकारण उनले आफ्नो विद्यालयको कम्प्युटरको कोर्ष बूकबाट एचटीएमएल सिकेर विभिन्न भिडियो हेर्दै भ्वाइस असिस्टेन्स टूल बनाउन सफल भए ।

यो भ्वाइस असिस्टेन्स टूल बनाउन बुबा र काकाको सल्लाहले पनि उनलाई ठूलो सहायता दियो ।निश्चलले बनाएको भ्वाइस असिस्टेन्स टूल एउटा सफ्टवेयर हो ।

तपाईंले गूगल असिस्टेन्स, एप्पलको सीरी, अमेजनको एलेक्जा त सुनेकै हाेला । निश्चलले तयार पारेको भ्वाइस असिस्टेन्स टूल पनि यस्तै प्रकारको सफ्टवेयर हो जसले तपाईंको भ्वाइस अर्डरको आधारमा अर्‍हाएका कामहरु गर्न सक्छ ।

‘यो एउटा सफ्टवेयर हो, ‘ निश्चल प्रष्ट्याउँदै भन्छन्, ‘एकपटक रन गरिसकेपछि त्यसलाई स्टप नगरेसम्म ब्याकग्राउण्डमा चलिरहन्छ । माइक राम्रो भयो भने यसले जे भन्यो त्यो पकड्न सक्छ । यसमा रहेको प्रोग्राममा कुनै निश्चित टास्क राख्यो भने कमाण्ड दिदाँ समेत काम पनि गर्छ । ‘ 

हाल निश्चलले निर्माण गरेको भ्वाइस असिस्टेन्स टूलले हाम्रो नेपाली भाषामा काम गर्छ । यसबाहेक यसले हिन्दी र अंग्रेजी भाषामा समेत बुझ्न सक्छ । उनको यो असिस्टेन्स टूलले ईमेल पठाउने, एप्लिकेसन खोल्ने जस्ता कामहरु गर्दछ । 

यसअघि नेपाली वैज्ञानिकले भ्वाइस असिस्टेन्स जस्तै च्याटबोट प्रविधि बनाएका थिए । तर भ्वाइस असिस्टेन्स टूल निर्माण गर्नेमा भने निश्चल नै पहिलो नेपाली बालक हुन् । 

भविष्यमा विज्ञान विषय पढेर वैज्ञानिक बन्ने सपना बोकेका निश्चलले यस्ता प्राविधिक सामग्री बनाउन भर्खरै मात्र सुरु गरेका हुन् । परीक्षा सकेपछि थप यस्ता अन्य थुप्रै सामाग्री बनाउने निश्चलको योजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३