close

नेपालमा ३५ प्रतिशतले चलाउँछन् वर्ल्डलिङ्कको इन्टरनेट ! टेलिकम दोस्रो

टेकपाना टेकपाना

भदौ १०, २०७७ १६:२१

नेपालमा ३५ प्रतिशतले चलाउँछन् वर्ल्डलिङ्कको इन्टरनेट ! टेलिकम दोस्रो

काठमाडौं । नेपालमा सबैभन्दा धेरैले वर्ल्डलिङ्क मार्फत इन्टरनेट प्रयोग गर्ने गरेको देखिएको  छ। एसिया प्यासेफिक नेटवर्क इन्फरमेसन सेन्टर (एप्निक) ले गरेको अध्ययनमा यस्तो तथ्य फेला परेको हो । 

एप्निकको तथ्याङ्क अनुसार नेपालका ३५.४१ प्रतिशत अर्थात करिब १८ लाख १९ हजार ६२५ सक्रिय प्रयोगकर्ताले वर्ल्डलिङ्कको इन्टरनेट प्रयोग गर्ने गरेका छन् । प्रयोगकर्ताको संख्याको आधारमा वर्ल्डलिङ्क विश्वभरका २६ हजार ४१८ सेवाप्रदायकको सूचीमा २८९ औं स्थानमा रहेको छ ।

आईपीभी सिक्स मेजरमेन्ट

 नेपालका ५२ वटा सेवाप्रदायकलाई समेटिएको यो सर्भेमा नेपाल टेलिकम दोस्रो स्थानमा छ । जसका सात लाख १६ हजार ३९७ अर्थात १३.९४ प्रतिशत प्रयोगकर्ता देखिएका छन् ।

यसैगरी इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु नेपालमा सबैभन्दा बढी प्रयोग हुने इन्टरनेटको तेस्रो नम्बरमा रहेको छ । एप्निकका अनुसार कम्पनीका पाँच लाख ६२ हजार ३९४ अर्थात १०.९४ प्रतिशत प्रयोगकर्ता रहेका छन् । 

त्यसपछि क्रमशः चौथोदेखि सातौं स्थानमा भायनेट पाँच लाख ३९ हजार ४९० (१०.५ प्रतिशत), एनसेलका दुई लाख ८७ हजार ५८० (५.६ प्रतिशत), क्लासिक टेकका दुई लाख ५१ हजार ७९० (४.९ प्रतिशत) र टेकमाइण्ड्स नेटवर्कमा दुई लाख ५० हजार ७४७ (४.८८) प्रतिशत प्रयोगकर्ता रहेका छन् ।  

यसैगरी आठौं स्थानमा रहेको वेबसर्फरका प्रयोगकर्ता एक लाख ९४ हजार २४ (३.७९ प्रतिशत) र नवौं स्थानमा रहेको ब्रोडलिङ्कका प्रयोगकर्ता एक लाख २१ हजार १४ (२.३५ प्रतिशत) रहेको एप्निकको तथ्याङ्क छ । बाँकी अन्य सेवाप्रदायकका ग्राहक एक प्रतिशतभन्दा कम देखिएका छन् । 

एप्निकले गूगल एडको माध्यमबाट कोड पठाएर प्रयोगकर्ताको संख्या एकिन गर्दै आएको छ । एप्निक ल्याबले अटोनोमस सिस्टम नम्बरमार्फत सेवाप्रदायकको क्षमता मापन गर्दै आएको छ । संस्थाले यसरी संकलित तथ्याङ्कलाई साप्ताहिक रुपमा सूचीमा समावेश गर्ने गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३