close

निःशुल्क अनलाइन मनोविज्ञान डिग्री र ल्यापटप दिने भन्दै फेसबुकमा झुटो विज्ञापन

टेकपाना टेकपाना

चैत २४, २०८० ९:०

निःशुल्क अनलाइन मनोविज्ञान डिग्री र ल्यापटप दिने भन्दै फेसबुकमा झुटो विज्ञापन

 

काठमाडौं । विश्वविद्यालय तहमा मनोविज्ञान डिग्री नि:शुल्क पढाइ हुने भन्दै सामाजिक सञ्जाल फेसबुकमा भ्रामक विज्ञापन भइरहेको पाइएको छ । केही समयदेखि फेसबुकमा विभिन्न विश्वविद्यालय तथा निकायहरूको नाम जोडेर यस्ताे झुटाे विज्ञापन भइरहेकाे हाे ।

विशेषत: शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र विदेशी विश्वविद्यालयको नाम जोडेर त्यस्ता नक्कली विज्ञापन गरिएको छ ।

त्यस्ता विज्ञापनमा कुनै निकायले मनोविज्ञानको नि:शल्क अनलाइन कोर्स उपलब्ध गराउने, अध्ययन गर्ने विद्यार्थीलाई नि:शुल्क ल्यापटप तथा प्रमाणपत्र दिने भनेर उल्लेख गरिएको हुन्छ । यससँगै एउटा लिङ्क राखिएको हुन्छ । जुन स्प्याम तथा फिसिङ लिङ्क जस्तो देखिन्छ ।

 

त्यस्तै फरक-फरक पेजको नामबाट गरिएका त्यस प्रकारका विज्ञापनको ढर्रा पनि उस्तै देखिन्छ । ती सबैमा हिज्जे गलत, नमिलेको पदसङ्गति, नमिलेको वाक्य संरचना, भद्दा ग्राफिक्स र अविश्वासिलो पेज ।

झट्ट हेर्दै ती विज्ञापन भ्रामक, नक्कली र मिथ्या भएको महसुस हुन्छ । तर पनि हामीले यस कुराको निश्चित गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र काठमाडौं विद्यालयमा सम्पर्क गर्यौं । तर ती दुवै निकायबाट अहिले कुनै पनि प्रकारको त्यस्तो योजना नभएको र आफूहरूलाई उक्त विज्ञापनबारे केही थाहा नभएको जवाफ आयो ।

 

 

त्यसबाट उक्त विज्ञापन साँचो नभएको पुष्टि हुन्छ । स्क्यामर अथवा ह्याकरले विभिन्न नक्क्ली पेज बनाएर तिनबाट सशुल्क विज्ञापन गरिरहेको अनुमान गर्न सकिन्छ । दु:खद पक्ष पैसा तिरेर गरिएको उक्त विज्ञापनमा थुप्रै व्यक्तिले लाइक, शेयर गरेका छन् । जुन निकै चिन्ताजनक पक्ष हो ।

 

 

ती सबै पोस्टमा एउटा रिडिरेक्ट लिङ्क छन् । जसमा क्लिक गर्दा 'psychology-degree4.store' 'psychologydegree12.services' जस्ता लिङ्कमा लैजान्छ । यो डोमेन अविश्वासिलो हुनुका साथै शंङ्कास्पद छ । त्यस डोमेनमा विभिन्न मास्टर्स प्रोग्राम, पीएचडी प्रोग्राम, क्लिनिकल साइकलोजिस्ट जस्ता विकल्प देखिन्छन् । 

 

जहाँ क्लिक गर्दा थप विभिन्न विश्वविद्यालयको सूची र वेबसाइट देखिन्छ । यसरी सर्सर्ती हेर्दा ‍कसैले एफिलियट मार्केटिङ गर्न यसो गरिरहेको जस्तो देखिन्छ ।

जति धेरै मानिसहरूलाई लिङ्कमा क्लिक गराएर विभिन्न साइटमा पुर्‍यायो, उनीहरूलाई त्यति नै बढी आम्दानी हुन्छ । यसबाट उनीहरूले विभिन्न युनिभर्सिटीबाट एफिलियट लिङ्क प्राप्त गरेर मार्केटिङ गरेको हो कि भन्ने लाग्छ ।

समग्रमा तपाईंले यस्ता शंकास्पद पोस्टमा दिइएको लिङ्कमा सुरक्षा बिना क्लिक गर्नु हुँदैन । अझ व्यक्तिगत जानकारी प्रदान गर्नुअघि वा कुनै पनि आर्थिक कारोबार गर्नुअघि निकै सतर्कता अपाउनु पर्छ । यदि यस्ता शङ्कास्पद पोस्ट देख्नु भएको छ भने तपाईंले सम्बन्धित निकायमा सिधै सम्पर्क गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: चैत २४, २०८० ९:२