close

लोकप्रिय बन्दै ह्वावेको ‘एप ग्यालरी’, विश्वभर ४९ करोड सक्रिय प्रयोगकर्ता

टेकपाना टेकपाना

भदौ २९, २०७७ १८:११

लोकप्रिय बन्दै ह्वावेको ‘एप ग्यालरी’, विश्वभर ४९ करोड सक्रिय प्रयोगकर्ता

काठमाडौं । ह्वावेले २०२० को आफ्नो डेभलपर कन्फ्रेन्समा एप ग्यालरीका महत्वपूर्ण उपलब्धि सार्वजनिक गरेकाे छ । कन्फ्रेन्समा बोल्दै ह्वावे कन्ज्युमर बिजनेस ग्रुपका ग्लोबल पार्टनरसिप तथा ईको डेभलपमेन्टका अध्यक्ष वाङ यानमिनले एप ग्यालरीले २०२० को पहिलो त्रैमासिकमा पाएका उपलब्धिहरुको व्याख्या गरे। 

विभिन्न चुनौतीहरुको बाबजुद पनि यस वर्ष एप ग्यालरी र ह्वावेको मोबाइल सर्भिस एचएमएस ईकोसिस्टमले महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको छ । यसका लागि आफ्ना ग्लोबल साझेदारहरुप्रति कृतज्ञ रहेको ह्वावेले बताएको छ । एप ग्यालरी विश्वको तेस्रो ठूलो एप वितरक प्लेटफर्म बनेको छ । 

गूगलको सम्पूर्ण सेवाबाट बञ्चित भएपछि एन्ड्राेइड अपरेटिङ सिस्टमका लागि ह्वावे आफैँले सुरु गरेको एप ग्यालरीले अहिले १७० वटा मुलुक तथा क्षेत्रका ४९ करोड मासिक सक्रिय प्रयोगकर्ताहरुको विभिन्न आवश्यकतालाई परिपूर्ति गरेकाे कम्पनीले बताएकाे छ ।

२०२० को पहिलो ६ महिनामा एप ग्यालरीबाट एप डाउनलोडको संख्या दुई खर्ब ६१ अर्ब पुगेको थियो । यससँगै यस प्लेटफर्मको एप मार्केट प्लेसमा लोकप्रियता बढेको देख्न सकिन्छ । 

अहिले विश्वभरका १८ लाख डेभलपरहरु एचएमएस ईकोसिस्टममा जोडिएका छन् । विश्वभरबाट ९६ हजार एप्लिकेसनहरु एचएमएस कोरमा इन्टिग्रेट भएका छन् । यी सेवाले प्रयोगकर्ताहरुलाई फरक अनुभव प्रदान गरिरहेका छन् । 

यसबाहेक एप ग्यालरीले विभिन्न क्षेत्र तथा मुलुकहरुमा त्यहाँका लोकप्रिय स्थानीय एपलाई आफ्नो प्लेटफर्ममा अनबोर्ड गरेर अहिले प्रयोगकर्ताको आवश्यकता पुरा गरिरहेको छ । 

अगाडि बढ्दै जाने क्रममा ह्वावेले डेभलपर एक्सपेरियन्सलाई निरन्तर बढाइरहेको छ । ह्वावेले रसिया, पोल्याण्ड र जर्मनीमा ग्लोबल डेभलपरलाई सेवा दिन तीन ग्लोबल इकोसिस्टम कोअर्परेसन ल्याब पनि स्थापना गरेकाे छ ।

यसले डेभलपरहरुलाई इनब्लेमेन्ट, परीक्षण तथा सर्टिफिकेसन सेवा प्रदान गर्दछ । यसबाहेक रोमानिया, मलेसिया, इजिप्ट, मेक्सिको र रसियामा पनि ह्वावेले पाँचवटा ग्लोबल डेभलपर सर्भिस सेन्टर स्थापना गर्दैछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०