close

फोल्डेबल स्मार्टफोन ल्याउँदै कम्प्युटर निर्माता एचपी

टेकपाना टेकपाना

असोज ८, २०७७ १२:४०

फोल्डेबल स्मार्टफोन ल्याउँदै कम्प्युटर निर्माता एचपी

काठमाडौं । अमेरिकी ल्यापटप तथा कम्प्युटर निर्माता कम्पनी एचपी (ह्याभलेट प्याकर्ड) ले स्मार्टफोन ल्याउने तयारी गरेको छ । कम्पनीले फोल्डेबल फोनमार्फत स्मार्टफोनको बजारमा हात हाल्ने योजना बनाएको हो ।

कम्पनीले वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अफिस (डब्लूआईपीओ) मा सन् २०१९ मै फोल्डेबल फोनको डिजाइन पेटेन्टको रुपमा दर्ता गराएको थियो । इलेक्ट्रोनिक डिस्प्ले डिभाइस नामक उक्त पेटेन्टलाई वाईपोले १३ अगस्ट २०२० मा मञ्जुरी दिएको छ ।

यस अघि सन् २०१६ मा आएको एलिट एक्स थ्री नै एचपीको अन्तिम स्मार्टफोन थियो । जुन विण्डोज टेन मोबाइल स्मार्टफोन हो । जसले प्रयोगकर्तालाई डेस्कटप जस्तै मनिटर र माउसमा कनेक्ट गराउने विकल्प दिन्छ । 

फोनमा हुनेछ लचकदार स्क्रिन

एचपीले दर्ता गराएको पेटेन्ट अनुसार स्मार्टफोनमा थ्रीडी इमेज जस्तै डिजाइन बनाइएको छ । कम्पनीले ओएलईडी डिस्प्लेका साथ फ्ल्याट फ्लेक्जिबल स्क्रिन सहितको फोन ल्याउने बताइएको छ ।  जुन ल्यापटप जस्तै फोनलाई फ्लिप गराउन सकिनेछ । 

फोल्ड गर्दा समेत देखिनेछ नोटिफिकेसन

एचपीले बिभिन्न डिजाइन भेरियन्ट छनौट गर्ने अधिकार सुरक्षित राख्दै आएको छ । संभवतः यो फोनमा डिस्प्लेको दुई वटा भागलाई फोल्ड गर्दा आंशिक रुपमा अलग गर्न समेत सकिनेछ । यसअनुसार फोन फोल्ड गर्दा समेत एक सानो अंश देखिनेछ ।

जसबाट सबै किसिमका नोटिफिकेसन, इनकमिङ कल र म्यासेज रहनेछन् । यसले कभर डिस्प्लेको आवश्यकताको अन्त्य गर्ने बताइएको छ । यसको सोझो असर लागत मूल्यमा पर्नेछ । यानिकि यसले फोल्डेबल फोनलाई सस्तो बनाउनेछ ।

जब तपाईं फोनलाई खल्तीमा राख्नुहुन्छ, त्यस्तो बेला डिस्प्लेका दुवै हिस्सा एक साथ मोडिएर बस्छन् । जसले स्क्रिनलाई केरिनबाट जोगाउनेछ । 

एन्ड्रोइडको साटो विण्डोजलाई दिनेछ प्राथमिकता

एलिट एक्स थ्रीपछि एचपीले कुनै पनि नयाँ स्मार्टफोन ल्याएको छैन । यसको मुख्य कारण विण्डोज फोन प्लेटफर्मको कमी नै हो । एचपी र इन्टेलजस्ता कम्प्युटर निर्माता निश्चित रुपमा माइक्रोसफ्टसँग वर्षौंदेखि सहकार्य गर्दै आएका छन् ।

तर माइक्रोसफ्टले आफ्नो विण्डोज फोन प्लेटफर्म बन्द गरिसकेको छ । विण्डोज टेन एक्सले दुई वटा स्क्रिन फोल्ड गर्न सकिने उपकरणका लागि एउटा उत्तम विकल्प दिएको थियो ।

यस्तोमा कम्प्युटर निर्माताले ल्याउने फोल्डेबल फोन तथा ट्याब्लेट एन्ड्रोइड वा आईओएसको साटो विण्डोजमा चल्ने आँकलन गरिएको छ । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०