close

थाहा पाइराख्नुहोस्, नेपालको दूरसञ्चार सेवाको इतिहास

टेकपाना टेकपाना

कात्तिक १३, २०७७ १७:४१

थाहा पाइराख्नुहोस्, नेपालको दूरसञ्चार सेवाको इतिहास

काठमाडौं । नेपालमा दूरसञ्चार सेवाको सुरुवात बि. सं १९७० मा म्याग्नेटो प्रविधिको टेलिफोन सेवा सुरु भएसँगै आरम्भ भएको हो । सन् २०१३ सालमा नेपालमा ३५० वटा स्थानीय टेलिफोन सेवा, २८ वटा आकाशवाणी केन्द्र, सात स्थानमा ट्रंक टेलिफोन सेवा र भारतसँग अन्तर्राष्ट्रिय दूरसञ्चार सेवा सञ्चालनमा आएको थियो ।

उक्त अवधिमा सर्वसाधारणलाई निजी टेलिफोन सुविधा उपलब्ध थिएन । दूरसञ्चार सेवाको विकास र विस्तार गर्ने उद्देश्यले २०१६ सालमा दूरसञ्चार विभागको स्थापना भएको थियो ।

त्यसपश्चात दोस्रो पञ्चवर्षीय योजना अवधी (२०१८ देखि २०२३) मा ५८ जिल्लामा टेलिफोन सेवा विस्तार भयो । साथै अन्तरदेशीय र अन्तर्राष्ट्रिय दूरसञ्चार सेवाको विकास समेत त्यसै अवधिमा भएको थियो ।

२०४६ सालको जनआन्दोलन पश्चात २०४९ सालमा जारी भएको राष्ट्रिय दूरसञ्चार नीतिले दूरसञ्चार सेवामा निजी क्षेत्रलाई समेत सहभागी गराउने नीति लियो । त्यसैअनुसार २०५३ सालमा दूरसञ्चार ऐन बनेपछि मात्र नेपालको दूरसञ्चार क्षेत्रमा निजी क्षेत्रले प्रवेश पाएको हो ।

कुनै समय विलासिताको साधनको रुपमा रहेको दूरसञ्चार सेवा हाल आम मानिसको आधारभूत आवश्यकता हुन पुगेको छ । नेपालमा टेलिफोनबाट कुराकानी गर्न घण्टौं हिँड्नुपर्ने र नयाँ टेलिफोन जोड्न वर्षौं पर्खिनुपर्ने बाध्यता आजको दिनमा इतिहास भइसकेको छ ।

अहिले दूरसञ्चार सेवाका लागि अनेक प्रदायकहरु अस्तित्वमा आएका छन् । मोबाइल सेवाको माध्यमबाट सर्वसाधारणको हात हातमा सूचना प्रविधि सेवा पुगेको छ । आज हामी तपाईंलाई नेपालको दूरसञ्चार सेवाको इतिहासलाई संक्षिप्त रुपमा प्रस्तुत गर्दै छौं ।

नेपालमा दूरसञ्चार सेवाको विकास

१९७०ः म्याग्नेटो प्रविधिको टेलिफोन सेवाको सुरुवात

२०१६ः दूरसंचार विभागको स्थापना

२०२१ः एचएफ रेडियो सर्भिसद्वारा अन्तर्राष्ट्रिय (भारत तथा पाकिस्तान) दूरसञ्चार सेवाको प्रारम्भ

२०३२ः दूरसंचार संस्थानको स्थापना

२०४१ः दूरसञ्चार संस्थानद्वारा अन्तरदेशीय ट्रंक सेवा (एसटीडी) को प्रारम्भ, नेपालमा ग्रामीण दूरसञ्चार सेवाको शुरुवात

२०४४ः दूरसञ्चार संस्थानमार्फत अन्तर्राष्ट्रिय ट्रंक सेवा (आईएसडी) को सुरुवात

२०४९ः राष्ट्रिय सञ्चार नीति तर्जुमा

२०५३ः दूरसञ्चार ऐन २०५३ को तर्जुमा । नेपालमा इन्टरनेट/ईमेल सेवाको सुरुवात

२०५४ः नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना । दूरसञ्चार नियमावली २०५४ को तर्जुमा ।

२०५५ः प्राधिकरणबाट पहिलो पटक निजी क्षेत्रको सेवा प्रदायकलाई इन्टरनेट तथा इमेल सेवा सञ्चालनको अनुमतिपत्र जारी

२०५६ः दूरसञ्चार नीति तर्जुमा । नेपालमा मोबाइल सेवाको शुरुवात ।

२०५९ः भ्वाइस सेवा संचालनका लागि निजी क्षेत्रको सेवा प्रदायकताई अनुमतिपत्र प्रदान

२०६०ः दूरसञ्चार नीति, २०६० तर्जुमा । ग्रामीण दूरसञ्चार सेवा संचालनका लागि निजि क्षेत्रको सेवा प्रदायकलाई अनुमतिपत्र प्रदान

२०६१ः निजी क्षेत्रलाई मोबाइल सेवा संचालनका लागि अनुमतिपत्र प्रदान

२०६४ः थ्रीजी सेवाको सुरुवात (सार्क मुलुकमध्ये थ्रीजी सेवा सुरु गर्ने पहिलो मुलुक)

२०६९ः दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य सम्बन्धी) नीति जारी

२०७०ः आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमतिपत्र

२०७१ः ब्रोडब्याण्ड नीति तर्जुमा

२०७२ः सूचना तथा सञ्चार प्रविधि नीति तर्जुमा

२०७३ः दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य निर्धारण) नीति (पहिलो संसोधन)

२०७४ः फोरजी सेवाको सुरुवात

२०७६ः पहिलो पटक लिलाम बढाबढको माध्यमबाट दूरसञ्चार सेवा सञ्चालनको फ्रिक्वेन्सी प्रदान

श्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०