close

टेलिकमले १ वर्षमै गुमायो ३० लाख ग्राहक, अरुको अवस्था के छ ?

टेकपाना टेकपाना

कात्तिक २३, २०७७ १४:५९

टेलिकमले १ वर्षमै गुमायो ३० लाख ग्राहक, अरुको अवस्था के छ ?

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपालमा मोबाइल तथा टेलिफोन सेवाका कुल ४२ लाख ६९ हजार ८८६ सब्सक्राइबर (ग्राहक) घटेका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै प्रकाशित गरेको एमआईएस रिपोर्टले यस्तो देखाएको हो ।

गत २०७६ भदौ मसान्तसम्म नेपालमा मोबाइल तथा टेलिफोन सेवाका चार करोड १९ लाख १३ हजार ६६१ सब्सक्राइबर थिए । तर गएको भदौसम्म आइपुग्दा उक्त संख्या तीन करोड ७६ लाख ४३ हजार ७७५ मा सीमित हुन पुगेको हो ।

सब्सक्राइबर संख्या घट्दा नेपालमा मोबाइल तथा टेलिफोन सेवाको पेनिट्रेसन (पहुँच) समेत खुम्चिएको छ । गत वर्ष कुल जनसंख्याको १४२.०१ रहेको भ्वाइस सेवाको पेनिट्रेसन अहिले घटेर १२६ प्रतिशतमा सीमित भएको हो ।  

श्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

यस अवधिमा सबैभन्दा धेरै ग्राहक नेपाल टेलिकमले गुमाएको छ । प्राधिकरणका अनुसार टेलिकमका ३० लाख २० हजार ४५७ ग्राहकले यस अवधिमा सेवा बन्द गराएका छन् ।

जसमध्ये ३० लाख १५ हजार ८३३ ग्राहक जीएसएम मोबाइल सेवाका रहेको पाइएको छ । यस बाहेक कम्पनीले पीएसटीएन अर्थात ल्याण्डलाइन सेवामा २२ हजार १९९ र डब्लूएलएल (वायरलेस लुप) सेवामा एक हजार ४९ ग्राहक घटेका छन् ।

तर कम्पनीले बन्द गर्ने तयारी गरेको सीडीएमए सेवामा भने पछिल्लो एक वर्षको अवधिमा १८ हजार ६२४ प्रयोगकर्ता थपिएका छन् । त्यसो त ग्राहक घट्नेमा नेपाल टेलिकम मात्र एक्लो कम्पनी भने होइन ।

मुलुकको सबैभन्दा ठूलो निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले समेत यस अवधिमा १३ लाख ३६ हजार ९७० सब्सक्राइबर गुमाएको छ । हाल कम्पनीको भ्वाइस (मोबाइल) सेवामा एक करोड ५३ लाख ३१ हजार ८९० ग्राहक रहेका छन् । 

तर तेस्रो मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले भने एक वर्षको अवधिमा ८६ हजार ३७८ जना ग्राहक बढाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०