close

ह्वाट्सएपका लुकेका १२ फिचर, थाहा पाइराख्नुहोस् काम लाग्छ

टेकपाना टेकपाना

कात्तिक ३०, २०७७ २२:२८

ह्वाट्सएपका लुकेका १२ फिचर, थाहा पाइराख्नुहोस् काम लाग्छ

काठमाडौं । ह्वाट्सएपले आफ्नो प्लेटफर्ममा स्नापच्याटको जस्तै फिचर ल्याएको छ । जसअन्तर्गत कम्पनीले रोलआउट गरेको नयाँ सेटिङ फिचरले तपाईंको म्यासेजलाई हप्ता दिनमा आफै क्लियर अर्थात मेटाइदिन्छ । 

तपाईं ल्यापटपमा ह्वाट्सएप प्रयोग गर्नुहुन्छ भने यो ल्यापटपमा प्रयोग गर्न र सेटअप मिलाउन दुवै एकदमै सजिलो छ भन्ने कुरा तपाईंलाई थाहा नै होला । आज हामी तपाईंलाई थाहा नभएका ह्वाट्सएपका केही लुकेका फिचर तथा ट्रिक्सहरुका बारेमा बताउँदै छौं । 

१. म्यासेजलाई कलात्मक बनाउने टेक्स्ट फर्म्याट 

ह्वाट्सएपमार्फत तपाईंले कुनै पनि टेक्स्टलाई बोल्ड, इटालिक बनाउनुका साथै टेक्स्टलाई स्ट्राइकथ्रो अर्थात् धर्सा तान्न सक्नुहुन्छ । ह्वाट्सएपमा टेक्स्टलाई बोल्ड बनाउने हो भने एस्ट्रिक (*) प्रयोग गर्नुहोस् । जस्तै *बोल्ड* ।

इटालिक बनाउन अण्डरस्कोर प्रयोग गर्नुहोस् । जस्तै _इटालिक्स_ । स्ट्राइकथ्रो गर्न टिल्ड्स प्रयोग गर्नुहोस् । जस्तै ~टिल्डस~ । 

२. म्यासेज स्वतः बिलाउने बनाउन सकिन्छ 

ह्वाट्सएपले भर्खरै डिसअपियरिङ फिचर रोलआउट गरेको छ । जसमा तपाईंले गरेका केही कुराकानीलाई डिसअपियर स्टाटसमा टर्न अन गरेर लुकाउन सक्नुहुन्छ ।

यो इनेबल गरेपछि सात दिनमा तपाईंका सबै च्याट स्वतः मेटिएर जानेछन् । आफ्नो ह्वाट्सएपमा रहेको च्याट खोल्नुहोस् र माथि रहेको कन्ट्याक्ट नाममा थिच्नुहोस् ।

अब त्यहाँ तपाईंले डिसअपियरिङ म्यासेजमा ट्याप गरी अन गर्न सक्नुहुन्छ । यदि तपाईंको ह्वाट्सएपमा यो फिचर उपलब्ध छैन भने आफ्नो ह्वाट्सएप अपडेट गर्नुहोस् । यति गर्दा समेत फेला परेन भने अर्को अपडेटका लागि कुर्नुपर्ने हुनसक्छ ।  

३. म्यासेज सजिलै खोज्न स्टारमा राख्नुहोस् 

च्याटबक्सभित्र कुनै पनि महत्वपूर्ण म्यासेज पहिचान गर्नु आफैमा एकदमै अप्ठ्यारो काम हो । तर कुनै पनि म्यासेजमा स्टार आइकन राख्नु भयो भने त्यसलाई पछि खोज्न सजिलो हुन्छ ।

यसका लागि तपाईंले म्यासेजलाई केही बेरसम्म दबाउनुपर्ने हुन्छ । त्यसपछि म्यासेजको माथि बारमा देखिने स्टार आइकनमा ट्याप गर्नुहोस् । यसरी स्टार राखिएको म्यासेजलाई तपाईंले पछि सजिलै पहिचान गर्न सक्नुहुन्छ । 

यस किसिमको विशेष म्यासेज हेर्न तपाईंले आइफोनमा सेटिङ ट्याबमा गएर स्टारर्ड म्यासेज सेलेक्ट गर्नुपर्ने हुन्छ भने एन्ड्रोइडमा मेनु बटनमा ट्याप गरेर स्टारर्ड  म्यासेजमा दबाउनु पर्ने हुन्छ । 

४. स्टोरेज क्लियर गर्न र आफूले अत्यधिक कुरा गर्ने व्यक्ति खोज्न सकिन्छ 

ह्वाट्सएपमा तपाईं कोसँग सबैभन्दा धेरै कुरा गर्नुहुन्छ, अब त्यो खोज्न सजिलो भएको छ । यसका लागि आफ्नो आईफोन वा एन्ड्रोइड फोनमा रहेको ह्वाट्सएपको सेटिङमा गएर स्टोरेज एण्ड डेटा हुँदै म्यानेज स्टोरेजमा पुग्नुहोस् ।

अब त्यहाँ तपाईंले कन्ट्याक्ट लिस्ट देख्नुहुनेछ । आफूले सर्वाधिक कुरा गर्ने प्रत्येक कन्ट्याक्टमा ट्याप गर्दै जानुहोस् । त्यहाँ तपाईंले एक्सचेन्ज भएको म्यासेज, तस्वीर र जीआईएफहरु देख्नुहुनेछ ।

ह्वाट्सएपको नयाँ लुक्सको स्टोरेज सेक्सनका ठूला फाइलले तपाईंको फोनमा एकदमै कम स्पेस लिन्छ । यहाँबाट तपाईंले त्यस्ता ठूला फाइलहरु छनौट गरेर स्टोरेज खाली गराउन पनि सक्नुहुन्छ ।

५. म्यासेजको डिटेल हेर्न सकिन्छ

तपाईंले म्यासेज कुन समयमा पठाउनु भएको थियो वा पढिएको थियो यस्ता विस्तृत विवरण थाहा पाउन आईफोनमा ह्वाट्सएप म्यासेजलाई बायाँतिर स्वाइप गर्नुहोस् ।

एन्ड्रोइड प्रयोगकर्ताले भने म्यासेजलाई केही बेर दबाएपछि देखिने मेनु बटनमा ट्याप गरी इन्फोमा गएर जानकारीहरु हेर्नसक्छन् । 

६. कुराकानी म्यूट राख्न मिल्छ

आफूलाई दिग्दार लाग्ने कुनै साथीको म्यासेजलाई तपाईंले म्युट गरेर राख्न पनि सक्नुहुन्छ । एन्ड्रोइड प्रयोगकर्ताहरुले च्याट लिस्टमा गएर म्यूट गर्न चाहेको व्यक्तिको बक्समा लामो समयसम्म प्रेस गरेपछि माथि म्युट आइकन देखा पर्छ ।

त्यसमा ट्याप गरेर कति समयसम्म त्यसलाई म्युट गर्नुपर्ने हो अप्सन रोज्न पनि सकिन्छ । आईफोन प्रयोगकर्ताले भने यसका लागि च्याटबक्सलाई बायाँतिर स्वाइप गर्नुपर्ने हुन्छ । त्यसपछि देखिने तीन वटा थोप्ला भएको मेनुमा क्लिक गरी म्यूटमा ट्याप गर्नुपर्ने हुन्छ । 

७. आफू अन्तिम पटक अनलाइन भएको जानकारी लुकाउने 

तपाईं अन्तिम पटक कहिले अनलाइन हुनुहुन्थ्यो भन्ने कुरा साथीहरुसँग लुकाउन सक्नुहुन्छ । यसका लागि सेटिङमा गएर अकाउन्ट अनि प्राइभेसी हुँदै लास्ट सिनमा दबाउनुहोस् ।

त्यसपछि एभ्रिवान (हरेकलाई), माइ कन्ट्याक्ट (आफ्नो कन्ट्याक्ट लिस्टमा भएका जतिलाई) र नोबडी (कुनैलाई पनि नगर्ने) मध्ये एउटा विकल्प चयन गर्नुहोस् । 

८. आफूले म्यासेज पढेको जानकारी लुकाउने

ह्वाट्सएपमा तपाईंले कसैको म्यासेज पाउनु वा पढ्नु भयो, तर त्यसको जानकारी देखाउन चाहनुहुन्न भने रिड रिसिप्टलाई डिसेबल गर्नु सक्नुहुन्छ । यसका लागि सेटिङ, अकाउन्ट हुँदै प्राइभेसीमा जानुहोस् ।

अब रिड रिसिप्ट्सलाई अफ पोजिसनमा राख्नुहोस् । तर यसो गर्दा तपाईंको कुनै साथीले तपाईंको म्यासेज पढ्दा त्यो पनि तपाईंले देख्न पाउनुहुने छैन । यो विशेषगरी तपाईंले ग्रुप च्याटमा प्रयोग गर्न सक्नुहुन्छ । 

९. फोटो तथा भिडियो सेभ नहुने बनाउन 

यदि तपाईं ह्वाट्सएपमा आएका वा पठाइएका फोटो तथा भिडियोहरुलाई बाइ डिफल्ट रुपमा सेभ नहोस् भन्ने चाहनुहुन्छ भने तपाईंले यसको पनि अप्सन पाउन सक्नुहुन्छ ।

यसका लागि सेटिङ ओपन गरी च्याट हुँदै सेभ टु क्यामेरा रोलमा टर्न अफ गर्नुहोस् । यस्तै एन्ड्रोइडमा सेटिङबाट च्याट हुँदै मिडिया भिजिबिलिटीलाई टर्न अफ राख्नुहोस् । 

१०. ल्यापटप वा कम्प्युटरमा यसरी खोल्नुहोस् ह्वाट्सएप 

ह्वाट्सएपलाई ल्यापटपमा प्रयोग गर्न चाहनुहुन्छ भने एकदमै सजिलो छ । यसका लागि तपाईंको ल्यापटपको ब्राउजरमा गएर ह्वाट्सएप डट कम खोल्नुहोस् ।

अब माथि देखिएको ह्वाट्सएप वेबमा क्लिक गरेर त्यहाँ देखिने क्यूआर कोडलाई आफ्नो मोबाइलको ह्वाट्सएपको माथि तीन वटा थोप्ला भएको मेनुमा गएर ह्वाट्सएप वेबमा क्लिक गरी त्यसको क्यामेराले ल्यापटपको बारकोड स्क्यान गर्नुहोस् । लगआउट गर्न चाहेको खण्डमा लगआउट फ्रम अल डिभाइस क्लिक गर्नुहोस् । 

११. कस्टम नोटिफिकेसन प्राप्त गर्नुहोस् 

सबै किसिमका म्यासेजका लागि एकै किसिमको अलर्ट साउण्ड प्रयोग गर्नुको सटो हरेक कन्ट्याक्टका लागि छुट्टै किसिमको ट्युन तपाईंले सेट गर्न सक्नुहुन्छ । यसो गर्दा फोनमा म्यासेज नहेरी म्यासेज कताबाट आएको रहेछ भन्ने कुरा तपाईंले थाहा पाउन सक्नुहुन्छ । 

यसका लागि एन्ड्रोइड प्रयोगकर्ताले मेनु आइकनमा ट्याप गरी भ्यू कन्ट्याक्ट हुँदै कस्टम नोटिफिकेसनमा गएर बक्सलाई चेक गरी नोटिफिकेसन तथा रिङटन सेट गर्नुपर्ने हुन्छ । आईफोन प्रयोगकर्ताले भने कन्ट्याक्ट नेममा ट्याप गरी कस्टम टोनमा थिच्नुपर्दछ । 

१२. कुराकानीलाई एक्सपोर्ट 

कुराकानीलाई सेभ गर्नु पर्‍यो भने तपाईंले कुनै पनि च्याटलाई एक्सपोर्ट गर्न सक्नुहुन्छ । च्याटमा गएर एन्ड्रोइड प्रयोगकर्ताले मेनुमा क्लिक गरी मोर हुँदै एक्सपोर्ट च्याटमा थिच्नुपर्ने हुन्छ । यसमा मिडिया फाइलसहित र त्यस बिना दुवै अप्सनमा च्याट एक्सपोर्ट गर्ने विकल्प रहेको हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०