close

अनलाइनबाटै सेञ्चुरी बैंकमा खाता खोल्न सकिने, यस्तो छ प्रक्रिया

टेकपाना टेकपाना

मंसिर ५, २०७७ १५:५७

अनलाइनबाटै सेञ्चुरी बैंकमा खाता खोल्न सकिने, यस्तो छ प्रक्रिया

काठमाडौं । कोभिड १९ का कारण बैंकका सेवाग्राहीहरुलाई पर्न गएको बैंकिङ समस्याको समाधानको लागि सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङ सुविधालाई थप सहज बनाएको छ । बैंकले आफ्ना सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लिक अकाउन्ट नामक दुई वटा अनलाइन अकाउन्ट सेवा सुरु गरेको हो ।

ग्राहकले घरमै बसेर शून्य मौज्दातमा खोल्न सक्ने यी खातामा बैंकले वार्षिक ५.५० प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी दिइने जनाएको छ । उच्चतम प्रतिफल पाउने गरी खोल्न सकिने यी खाताहरु डिजिटल रुपमा खुल्न सकिने छ र यसका लागि ग्राहकहरुले बैंकमा गइरहनु समेत पर्ने छैन ।

डिजिटल बैंकिङलाई प्राथमिकता दिँदैं यस्ता बचत खातालाई प्रवर्द्धन गर्न बढी ब्याजदर दिइएको बैंकले जनाएको छ । सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नका साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेञ्चुरी पे एपमार्फत वालेटको कारोबार समेत गर्न सक्नेछन् ।

यो नयाँ सेवामार्फत ग्राहकले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन पाँच हजार बराबरको क्यासलेस (नगद रहीत) कारोबार गर्न सक्नेछन् । यी खातामा वार्षिक एक लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ ।

सेञ्चुरी क्लिक अकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाता खोल्नका साथै उक्त खातामा समेत तुरुन्तै पैसा जम्मा गर्न सक्नेछन् । यसरी खोलिएको खाताबाट वार्षिक १५ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ ।

विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गर्दै बैंकले यो खाता संचालनमा ल्याएको हो । यी खाता खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइल वा ईमेलमा उपलब्ध गराउने छ र सहजै खाता खोल्न तथा संचालन गर्न सकिनेछ ।

बैंकको अनलाइन अकाउन्ट सेवा सुरु गर्नका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ । र थप जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट भिजिट तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०