close

जाडोमा टेलिकमको न्यानो अफर, एफटीटीएचका ग्राहकलाई मोबाइलमा ११० जीबी डेटा फ्री

टेकपाना टेकपाना

पुस २, २०७७ १६:५९

जाडोमा टेलिकमको न्यानो अफर, एफटीटीएचका ग्राहकलाई मोबाइलमा ११० जीबी डेटा फ्री

काठमाडौं । नेपाल टेलिकमले आफ्ना एफटीटीएच इन्टरनेट सेवाका ग्राहकका लागि विशेष अफर ल्याएको छ । कम्पनीले एफटीटीएच प्रयोगकर्ताका लागि करिब ११० जीबी निःशुल्क डेटा सहितको ‘जाडोमा न्यानो’ अफर उपलब्ध गराउन थालेको हो ।

यो योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकले आफ्नो मोबाइलमा दैनिक तीन सय एमबी डेटा पाउनेछन् । यो अफर बुधबार अर्थात पुस देखि नै कार्यान्वयनमा ल्याइएको हो ।

एफटीटीएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने तथा यस अघिदेखि नै सेवा लिँदै आइरहेकोमा प्याकेजलाई २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नती गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकले यो सुविधा पाउने छन् ।

यस्ता ग्राहकको मोबाइलमा दैनिक ३०० एमबी डेटा उपलब्ध गराइने कम्पनीले जनाएको छ । त्यसैगरी एफटीटीएच जडानका लागि आवश्यक सीपीई र सय मिटरसम्म ड्रप फाइबर समेत निःशुल्क उपलब्ध हुने बताइएको छ ।

यसका लागि ग्राहकले एफटीटीएच आवेदन फाराममा राखेको ग्राहक सम्पर्क नम्बरमा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । यसअघि नै कायम रहेका ग्राहकले नजिकैको दूरसञ्चार कार्यालयमा आफ्नो मोबाइल नम्बर उपलब्ध गराउन सक्नेछन् ।

एफटीटीएच जडान भएपश्चात् सो नम्बरमार्फत *1416# डायल गरी प्राप्त निर्देशन अनुसार प्रतिदिन ३०० एमबी निःशुल्क डेटा एक्टिभ गर्न सकिनेछ । यो डाटा टुजी, थ्रीजी तथा फोरजी सबै नेटवर्कमा, २४ सै घण्टा जुनसुकै प्रयोजनमा उपयोग गर्न सकिनेछ ।

मोबाइलमा एकपटक दैनिक निःशुल्क डेटा एक्टिभ गरेपश्चात् उक्त नम्बरमा एक वर्षसम्म हरेक दिन ३०० एमबी अर्थात कूल १०९.५ जीबी डेटा निःशुल्क उपलब्ध हुनेछ । संस्थागत ग्राहकले पनि व्यक्तिगत ग्राहकले जस्तैगरी मोबाइलमा निःशुल्क डेटा प्याक एक्टिभ गराउन सक्ने बताइएको छ ।

हाल नयाँ एफटीटीएच लाइन जडान गरी एक वर्षको लागि २० एमबीपीएसको अनलिमिटेड इन्टरनेट प्याकेज लिँदा सबै करसहित जम्मा १३ हजार रुपैयाँ शुल्क लाग्ने गरेको छ । यो अफर कम्पनीले उपलब्ध गराइरहेको २० एमबीपीएस सहित २५ एमबीपीएस, ५० एमबीपीएस र ६० एमबीपीएसका प्याकेजमा पनि उपलब्ध भएको छ ।

एफटीटीएच–जाडोमा न्यानो अफर लिने ग्राहकले वार्षिक रुपमा १३ हजार रुपैयाँमा अत्यधिक सुविधा उपयोग गर्न पाउनेछन् । यो अफरमा प्राप्त हुने दैनिक ३ सय एमबीपीएस डेटाको मूल्य प्रचलित दरअनुसार १० हजार रुपैयाँभन्दा बढीको हुने कम्पनीले जनाएको छ ।

साथै प्रचलित मूल्य २,८२५ रुपैयाँ पर्ने सीपीई समेत प्याकेज लिने ग्राहकले निःशुल्क पाउनेछन् । यो अफरमा एकसय मिटर ड्रप फाइबर समेत गरी कुल १३ हजारभन्दा बढी रकम बराबरको सहुलियत प्राप्त हुनेछ ।

एफटीटीएच सेवामा उपलब्ध सबै प्याकेजहरु र सोको मूल्य सम्बन्धी विवरण नेपाल टेलिकमको वेबसाइटमा उपलब्ध रहेको छ । एफटीटीएचमार्फत हाल तीव्र गतिको डेटा र भ्वाइस सेवा उपलब्ध रहेको छ ।

कम्पनीले निकट भविष्यमा आईपीटीभी ल्याउने गरी आवश्यक तयारी समेत थालिसकेको छ । त्यसपश्चात कम्पनीले उपलब्ध गराउँदै आएको फाइबर टु द होम सेवा थप लोकप्रिय हुने टेलिकमको अपेक्षा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४