close

ब्रोडब्याण्ड परियोजना सुरु भएको चार वर्ष बित्दा ७० प्रतिशत काम सम्पन्न

टेकपाना टेकपाना

पुस १२, २०७७ १९:११

ब्रोडब्याण्ड परियोजना सुरु भएको चार वर्ष बित्दा ७० प्रतिशत काम सम्पन्न

काठमाडौं । ग्रामीण दूरसञ्चार विकास परियोजना अन्तर्गतको चार वर्षअघि सुरु भएको ब्रोडब्याण्ड विस्तार परियोजनाको ७०.१६ प्रतिशत काम सम्पन्न भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिएको सो परियोजना अन्तर्गत अझै पनि चार हजार सात सय ६९ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान गर्न बाँकी छ । 

विभिन्न इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई विस्तारका लागि ठेक्का सुम्पिएको सो परियोजना अन्तर्गत हालसम्म ११ हजार दुई सय १३ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडानको कार्य सम्पन्न भइसकेको छ । 

सरकारले स्थानीय निकायको कार्यलय, वडा कार्यलय, विद्यालय तथा स्वास्थ संस्थाहरुमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्न चार वर्षअघि विभिन्न सेवा प्रदायकहरुसँग सम्झौता गरेको हो । 

परियोजना अन्तर्गत अझै पनि १९० स्थानीय निकायका कार्यालय, १७ सय २० वटा वडा कार्यालय, १७२० वटा मध्यामिक विद्यालय र ११ सय ३९ वटा स्वस्थ संस्थाहरुमा इन्टरनेट जडान गर्न बाँकी छ । 

१८ वटा प्याकेजमा विभाजन गरिएको सो परियोजनामध्यको १२ वटा प्याकेज अन्तर्गतका ४६ जिल्ला बमोजिमका स्थानहरुमा शतप्रतिशत कार्य सम्पन्न भइसकेको प्राधिकरणद्वारा जारी प्रतिवेदनमा उल्लेख छ ।

यस्तै २ वटा प्याकेज अन्तर्गत तोकिएका ९ जिल्लामा ५० प्रतिशत काम सम्पन्न भएर बाँकी काम पनि सञ्चालनमा छ । 

बाँकी रहेका ४ वटा प्याकेज अन्तर्गतका १९ जिल्लामा भने तोकिए बमोजिमको स्थानहरुममा सेवा प्रदायक छनौट भएर विस्तारको काम अगाडि बढिरहेको प्राधिकरणले जनाएको छ । 

यस्तै सम्पन्न भइसकेका परियोजनामध्ये ४ वट परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ । यस्तै दुईवटा परियोजनाको भने प्राधिकरणद्वारा नियुक्त परामर्शदाताबाट पहिलो चरण  र अन्य ६ वटाको भने दोस्रो चरणको अनुगमन तथा प्रमाणीकरण कार्य भइरहेको छ ।  

बाँकी दुईवटा परियोजनाको भने पर्फमेन्स मोनिटरिङको कार्य भइरहेको प्राधिरकणको प्रतिवेदनमा बताइएको छ । 

पाँच अर्ब ६७ करोड ४६ लाख ९१ हजार २७६ रुपैयाँको उक्त परियोजनामा हालसम्म प्राधिरणले सम्झौता गरिएका सेवाप्रदायकलाई दुई अर्ब ७४ करोड ९५ लाख ५० हजार ३७६ रुपैयाँ भुक्तानी गरिसकेको छ ।

हालसम्मको परियोजनाको वित्तीय प्रगति ४८.४५ प्रतिशत रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०