close

एफटीटीएच इन्टरनेट विस्तारमा टेलिकमको छलाङ, नयाँ ग्राहक थप्नेमा ‘नम्बर वान’

टेकपाना टेकपाना

पुस १४, २०७७ ११:४४

एफटीटीएच इन्टरनेट विस्तारमा टेलिकमको छलाङ, नयाँ ग्राहक थप्नेमा ‘नम्बर वान’

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आक्रामक रुपमा फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवा विस्तार गर्न थालेको छ । कम्पनी गएको भदौ यता सबैभन्दा धेरै ग्राहक संख्या विस्तार गर्ने कम्पनीको पहिलो स्थानमा रहेको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस प्रतिवेदन अनुसार टेलिकमल भदौ र असोजमा मात्र २२ हजार ५७५ वटा नयाँ एफटीटीएच इन्टरनेट कनेक्सन जडान गरेको छ ।

यससँगै कम्पनीको एफटीटीएच इन्टरनेट जडान गर्ने कूल प्रयोगकर्ताको संख्या ५९ हजार ७१३ पुगेको छ । कम्पनीले प्रतिस्पर्धी मूल्यमा गुणस्तरिय इन्टरनेट दिन थालेपछि पछिल्लो समय प्रयोगकर्ता टेलिकमतर्फ आकर्षित हुन थालेका हुन् ।

कम्पनीले निकट भविष्यमा देशभर तीन लाख ५० हजार लाइन क्षमताको एफटीटीएच नेटवर्क बनाउने योजना अगाडि सारेको छ । हाल टेलिकमको एफटीटीएच सेवा देशका विभिन्न ७३ स्थानमा उपलब्ध रहेको छ ।

नेपालकै ठूलो इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले यस अवधिमा १७ हजार ५५७ वटा मात्र नयाँ एफटीटीएच कनेक्सन गर्न सकेको छ । हाल वर्ल्डलिङ्कको कूल एफटीटीएच कनेक्सन संख्या चार लाख नौ हजार ६४ पुगेको छ ।

श्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

तीव्र गतिको इन्टरनेटको आवश्यकता बढ्दै जाँदा पछिल्लो समय प्रयोगकर्ताहरुबाट एफटीटीएच इन्टरनेटको माग निकै बढेको छ । पछिल्ला दुई महिनामा यो सेवामा धेरै नयाँ ग्राहक बनाउने कम्पनीको सूचीमा इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु तेस्रो स्थानमा छ ।

सुबिसुले यस अवधिमा ७ हजार १४ हजार २३६ वटा नयाँ कनेक्सन थप गर्दै कुल ग्राहक संख्या एक लाख २३ हजार ३१६ पुर्‍याएको छ । यसैगरी यस अवधिमा नयाँ ग्राहक थप्नेमा चौथो स्थानमा रहेको भायनेटले ७ हजार २२८ नयाँ ग्राहक थप्दै आफ्नो कूल एफटीटीएच एक लाख २१ हजार १५९ घरमा पुर्‍याएको छ ।

यस्तै सूचीको पाँचौं स्थानको क्लासिक टेकले यस अवधिमा पाँच हजार ४८० वटा नयाँ एफटीटीएच ग्राहक बनाएको छ । यससँगै कम्पनीको कूल एफटीटीएच जडान संख्या एक लाख १२ हजार ८९१ पुगेको छ ।

असोज मसान्तसम्म आइपुग्दा नेपालमा कूल नौ लाख ९३ हजार २५४ एफटीटीएच, दुई लाख २४ हजार १५० वटा केवल, ४६ हजार ४७२ वटा वायरलेस गरी कुल १२ लाख ६३ हजार ८७६ वटा फिक्स लाइन इन्टरनेट कनेक्सन जडान भएका छन् । जसमार्फत देशका ६१ लाख ६८ हजार ८६८ जनताले इन्टरनेट सेवा प्रयोग गरिरहेको प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०