close

साओमीको नयाँ चश्माले स्मार्टफोनलाई विस्थापन गर्ने दाबी

टेकपाना टेकपाना

भदौ ३०, २०७८ १४:५४

साओमीको नयाँ चश्माले स्मार्टफोनलाई विस्थापन गर्ने दाबी

काठमाडौं । सोओमीले मंगलबार स्मार्ट ग्लास सार्वजनिक गर्‍याे । ५ मेगापिक्सेलको क्यामेरायुक्त उक्त ग्लासको स्क्रिनमै मोबाइलमा आउने नोटिफिकेसन हेर्न, कल गर्न तथा उठाउन र नेभिगेसन हेर्न मिल्नेछ ।

स्मार्ट ग्लासको यो परिकल्पना लामो समयदेखि भएतापनि सार्थक हुन सकेको थिएन । अन्ततः साओमीले यस्ता फिचरसहित आफ्नो स्मार्ट ग्लास सार्वजनिक गर्‍यो । याेसँगै धेरैको ध्यान साओमीकाे स्मार्ट ग्लासले तानेकाे छ ।

हुन त अघिल्लो सातामात्रै साेसल मिडिया जायन्ट फेसबुकले रेबनसँगको सहकार्यमा स्मार्ट ग्लास सार्वजनिक गरेको थियो । तर, फेसबुकले ल्याएकाे ग्लासको स्क्रिनले भने कुनै काम गर्दैन ।

त्यो हुँदा पनि साओमीकाे स्मार्ट ग्लासले चासाे बटुलिरहेकाे छ । यसैबीच कम्पनीले यो स्मार्ट ग्लासले स्मार्टफोनलाई नै प्रतिस्थापन (रिप्लेस) गर्ने दाबी गरेको छ ।

यसमा प्रयोग भएका फिचर र प्रविधि भोलिका दिनमा स्मार्टफोनको विकल्प हुने दावी कम्पनीको छ ।

हुन पनि हो, यसमा प्रयोग भएको प्रविधि पनि त्यही अनुसारको रहेको छ । साओमीले सार्वजनिक गरेको स्मार्ट ग्लासमा स्क्रिनमै मोबाइलमा आउने नोटिफिकेसन हेर्न, कल गर्न तथा उठाउन र नेभिगेसन हेर्नमात्रै नभएर तपाईंको आँखाअगाडि रियल टाइममै टेक्स्टलाई ट्रान्सलेट गर्न मिल्ने जस्ता धेरै फिचर छन् ।

जम्मा ५१ ग्रामको तौलको उक्त ग्लास एन्ड्रोइडमा आधारित रहेको छ । जसमा  क्वाडकोर एआरएम प्रोसेसर रहेको छ । साथै माइक्रो एलईडी इमेज टेक्नोलोजीको प्रयोग गरिएको छ, जुन ब्राइटनेस र ओएलईडीको तुलनामा लामो समयसम्म टिक्ने प्रविधिको रुपमा परिचित छ ।

यसका साथै स्मार्ट ग्लासले महत्वपूर्ण नोटिफिकेसन छनोट गरी तपाईंलाई देखाउने, स्मार्टहोम अलार्म तथा महत्वपूर्ण व्यक्तिबाट आएको म्यासेज जस्ता कुरालाई आफैंले नियन्त्रण गर्न सक्छ ।

यसमा उपलब्ध नेभिगेसेन सिस्टममार्फत तपाईंले आफ्नो आँखाअगाडि म्याप हेर्न सक्नुहुनेछ । जसले गर्दा यात्रा गर्न सहज हुनेछ ।

साथै स्मार्ट ग्लासले तपाईंलाई कसले कल गरिरहेको छ भन्ने जानकारी दिनेछ । त्यो भएसँगै ग्लासमा प्रयोग भएको माइक र स्पिकरमार्फत सहजै उठाएर कुराकानी गर्न सकिने छ ।

त्यो हिसाबले पनि यो स्मार्ट ग्लासले भोलिका दिनमा स्मार्टफोनलाई नै विस्थापित गर्ने दाबी कम्पनीले गरेको हुनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१