close

केन्याका प्रयोगकर्ताले नेटफ्लिक्स निःशुल्क हेर्न पाउने

टेकपाना टेकपाना

असोज ५, २०७८ २०:२७

केन्याका प्रयोगकर्ताले नेटफ्लिक्स निःशुल्क हेर्न पाउने

काठमाडौं । नेटफ्लिक्सले केन्याका प्रयोगकर्तालाई लक्षित गर्दै निःशुल्क सब्सक्रिप्सन अफर ल्याएको छ । यो अफरसँगै केन्याका प्रयोगकर्ताले निःशुल्क नेटफ्लिक्स प्रयोग गर्न पाउनेछन् ।

कम्पनीका अनुसार निःशुल्क दर्ता गरेका प्रयोगकर्ताले एपमा भएको पैसा तिरेर हेर्न पाउनेमध्ये करिब २५ प्रतिशत भिडिओहरू हेर्न पाउनेछन्, जसमा कुनै विज्ञापन हुनेछैन ।

त्यसैगरी भिडिओहरू हेर्दा पेमेन्ट गरेर थप सामग्री हेर्न अनुरोध पनि गरिने छैन । यद्यपि यो सुविधा १८ वर्ष नाघिसकेका प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउनेछन् ।

यो सुविधा हाललाई एन्ड्रोइड प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउनेछन् भने प्रयोगकर्ताले कुनै पनि भिडिओहरू अफलाइनमा हेर्नका लागि भनेर डाउनलोड गरेर राख्न पाउने छैनन् ।

त्यस्तै मोबाइलमा हेर्ने भिडिओ टिभीमा पनि हेर्ने मिल्ने छैन । केन्यामा भएका नेटफ्लिक्स नहेरेका वा नेटफ्लिक्सको बारेमा थाहा नभएका प्रयोगकर्ताका लागि भनेर यो अफर ल्याएको कम्पनीले बताएको छ ।

नेटफ्लिक्सले यसरी निःशुल्क सेवा दिएको यो पहिलोपटक भने होइन । गत वर्ष पनि नेटफ्लिक्सले ‘वाच फ्री’ अफर ल्याएको थियो, जसअन्तर्गत प्रयोगकर्ताले ओरिजिनल मुभी लगायत लोकप्रिय सिरिज हेर्न मिल्ने व्यवस्था थियो ।

यद्यपि निःशुल्क सब्सक्रिप्सनको अफर भने यो पहिलोपटक हो । यो अफरले पैसा तिरेर हेर्न मानिसहरू कत्तिको इच्छुक छन् वा छैनन् भन्ने विषयमा विवरण संकलन गर्न पनि सहज हुने कम्पनीले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१