close

ह्याकरबाट जोगिन यसरी गर्नुहोस् कम्पनीको सुरक्षा

टेकपाना टेकपाना

असोज ९, २०७८ १५:४५

ह्याकरबाट जोगिन यसरी गर्नुहोस् कम्पनीको सुरक्षा

काठमाडौं । पछिल्लो समयमा अनलाइनको माध्यमबाट काम गर्ने प्रवित्ति बढ्दै गएको छ । झन् कोरोना महामारी फैलिएसँगै कामका लागि मात्र होइन, मिटिङहरू पनि भर्चुअल नै हुने गरेको छ । अनलाइन माध्यमको प्रयोग बढेसँगै सुरक्षाका चुनौती पनि उत्तिकै बढेको छ ।

अफिसियल मिटिङहरू बस्दा ह्याक हुने मात्र होइन, अन्य अवस्थामा कम्पनीको डेटा चोरी हुने लगायतका गतिविधि पनि बढ्दै गएको छ । कम्पनीको ईमेलमा मात्रै अनधिकृत पहुँच पाउँदा यस्ता ह्याकरहरूले लाखौं रुपैयाँ चोरी गरेका समाचार पनि हामीले सुन्दै आएका छौं ।

कतिपय अवस्थामा ठूला कम्पनीहरूले आफ्नो साइबर सुरक्षाका लागि प्राविधिक मान्छेलाई नै सुरक्षाविज्ञको रुपमा काममा राख्ने पनि गर्छन् ।

तर सबै कम्पनीले यसरी छुट्टै प्राविधिक राख्न सक्छन् भन्ने हुन्न, विशेषगरी साना कम्पनीहरूले ।

त्यसैले कतिपय अवस्थामा आफैंले यस्ता सुरक्षाका विषयमा जानकारी राख्दा उपयुक्त हुन्छ । यस्ता छन् कम्पनीलाई सुरक्षित राख्न अपनाउनुपर्ने ६ उपाय:


१. सिस्टमका उपलब्ध अपडेटहरू इन्स्टल गर्नुहोस्

समय-समयमा आफूले प्रयोग गरिरहेको अपरेटिङ सिस्टमको अपटेडको बारेमा जानकारी राख्नपर्छ । किनकि हरेक प्रणाली नयाँ अपडेटसँगै थप सुरक्षित भएर आएको हुन्छ । जस्तो कि तपाईंले प्रयोग गर्ने डिभाइसको अपटेड, अथवा क्रोम, आईओएस, म्याकओएस, एन्ड्रोइड अपडेट अथवा विण्डोजको अपटेड ।

त्यसैगरी तपाईंले आफ्नो डिभाइसमा इन्स्टल गर्नुभएको अन्य एपहरूको पनि समय-समयमा अपडेट आइरहेको हुन्छ । यस्तो अपडेटहरू ख्याल गर्दा तपाईंको कम्पनीले प्रयोग गर्ने डिभाइसहरू सुरक्षित हुन्छन् ।

एप्पल, गुगल, विण्डोजजस्ता ठूला कम्पनीहरूले यसरी कम्पनीको डिभाइसहरू अपडेट छन् कि छैनन् भनेर हेर्नका लागि छुट्टै विभाग नै बनाएर काम गर्ने गरेको छ ।

अन्य डिभाइससँगै आफूले प्रयोग गरिरहनु भएको प्रिन्टर र राउटरको पनि सिस्टममा नयाँ अपडेटहरू आइरहेको हुन सक्छ । यसलाई पनि ध्यान दिनु जरुरी छ । तर यदि सेवाप्रदायकले तपाईंले प्रयोग गरिरहनु भएको डिभाइसमा अपडेट दिन छोडिसकेको छ र अपडेटहरू दिइरहेको छैन भने त्यस्ता डिभाइसका लागि वैकल्पिक डिभाइसको प्रयोग गर्दा उपयुक्त हुनेछ ।

२. मल्टी-फ्याक्टर अथेन्टिकेशन

साइबर सुरक्षालाई मध्यनजर गर्दै आजभोलि प्रायजसो सबै साइनईन प्रणालीमा मल्टी-फ्याक्टर अथेन्टिकेशन उपलब्ध गराएको हुन्छ । यसको अर्थ हो, तपाईंले कुनै पनि सिस्टममा साइनईन गर्नका लागि एकपटक पासवर्ड थिचेर मात्र पुग्दैन ।

अर्को कुनै माध्यमबाट साइनईन गरेको अकाउन्ट तपाईंकै हो भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । यसमा अर्को कुनै ईमेल, एसएमएस अथवा अन्य विभिन्न विकल्प हुन्छन् । सबैभन्दा राम्रो उपाय अथेन्टिकेटर एप प्रयोग गर्दा पनि हुन्छ ।

यसका लागि गुगल अथेन्टिकेटर, माइक्रोसफ्ट अथेन्टिकेटर जस्ता एपहरू पनि प्रयोग गर्न सकिन्छ । यसले कुनै सिस्टममा साइन इन गर्न खोज्दा पासवर्ड राखिसकेपछि एउटा कोड जेनरेट गर्छ ।

सो कोड राखेपछि मात्र तपाईंको सिस्टम ओपन हुन्छ । प्रत्येक पटक अथेन्टिकेटर अन गर्दा फरक-फरक कोड जेनरेट भइरहेको हुन्छ । यसले गर्दा जोकोहिले तपाईंले प्रयोग गरिरहनु भएको सिस्टममा सहजै पहुँच पाउँदैन ।

३. पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस्

व्यवसाय अथवा कुनै व्यावसायिक टिमका लागि नै भनेर बनाइएको पासवर्ड म्यानेजर सिस्टम प्रयोग गर्नु पनि राम्रो हुन्छ । यस्तो प्रकारको सिस्टमले टिममा कसलाई पहुँच दिने कसलाई नदिने भनेर हटाउन र राख्नसक्छ ।

त्यसैगरी यसको प्रयोग गरेर प्रयोगकर्ताले विभिन्न शब्द, अंक, संकेत प्रयोग गरेर जति नै लामो पासवर्ड बनाउन सक्छ । यसरी बनाइएको पासवर्ड सुरक्षित रुपमा शेयर पनि गर्न मिल्छ ।

४. क्लाउड प्रोटेक्सन प्रयोग गर्नुहोस्

कम्पनीको डेटा सुरक्षाका लागि माइक्रोसफ्ट ३६५ अथवा गुगल वर्कस्पेस प्रयोग गर्नु राम्रो हुन्छ । यी दुवै प्लेटफर्मले विभिन्न प्रकारका मालवेयर, स्पाम र भाइरसबाट सुरक्षा दिन्छ । त्यसैगरी यी दुवै प्लेटफर्मले फाइल स्टोरेजका लागि राम्रो सेवा दिएको छ । यी प्लेटफर्महरूको सुरक्षाको दायरा निकै ठूलो भएका कारण यस्ता प्रणाली आफ्नो कम्पनीको लागि प्रयोग गर्नु उपयोगी हुन्छ ।

५. डीएनएस रेकर्ड प्रयोग गर्नुहोस्

बाहिरबाट आउने फेक तथा अनधिकृत ईमेलहरूबाट बच्नका लागि डोमेन नेम सिस्टम अर्थात् डीएनएस रेकर्डहरू प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईंको ठूलो कम्पनी छ भने आफ्नो भिजुअल आईडेन्टिटी तथा ब्रान्ड इन्डिकेटरहरू सुरक्षित राख्न आवश्यक हुन्छ । यस्ता कुरालाई ध्यानमा राखेर सुरक्षाका उपायहरु अपनाउन सकिन्छ ।

६. डेटाको नियमित ब्याकअप

आफ्नो आवश्यक डेटाहरूको नियमित व्याकअप राख्दा पछि तपाईंलाई आवश्यक परेको बेला रिकभर गर्न सक्नुहुन्छ । यसले आवश्यक डेट हराउनबाट जोगाउँछ ।

र्‍यानसमवेयर जस्ता आक्रमणबाट बच्नका लागि राम्रो ब्याकअप प्रणाली प्रयोग गरेर आफ्नो डेटा सुरक्षित राख्न सकिन्छ । अन-साइट-क्लाउड, क्लाउड टु अन-साइट, क्लाउड टु क्लाउड लगायत विभिन्न माध्यमबाट आफ्नो डेटा ब्याकअप गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१