close

फेसबुकले घृणा फैलाएर कमाउँदै छ नाफा

टेकपाना टेकपाना

असोज १८, २०७८ १२:०

फेसबुकले घृणा फैलाएर कमाउँदै छ नाफा

काठमाडौं : फेसबुकको आन्तरिक विषयमा धेरै जानकारी लिक गरेकी पूर्व कर्मचारी फ्रान्स हगेनले आफ्नो पहिचान सार्वजनिक गरेकी छन् । फेसबुकको आन्तरिक कागजपत्र अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिटमार्फत सार्वजनिक गरेकी फेसबुककी पूर्व प्रडक्ट म्यानेजर हगेनले एक अमेरिकी टेलिभिजनमा अन्तर्वार्ता दिँदै कम्पनीले घृणा फैलाएर नाफा कमाउने गरेको आरोप लगाएकी छन् ।

फेसबुकले घृणाजन्य सामग्री फैलाउने एल्गोरिदमको उच्चतम प्रयोग गर्ने गरेको आरोप पनि उनले लगाएकी छन् । ‘हाम्रो सुरक्षालाई दाउमा राखेर फेसबुकले नाफा कमाइरहेको छ,’ अन्तर्वार्ताको क्रममा उनले भनेकी छन् । फेसबुकको नीतिप्रति असहमति जनाउँदै उनले केही समय अघि मात्रै कम्पनी छाडेकी हुन् ।

‘फेसबुकलाई डरलाग्दो प्लेटफर्म बनाउनबाट रोक्न जेमा लगानी गर्नुपर्ने हो त्यसमा कम्पनीले लगानी गर्छ भन्ने विश्वास मलाई छैन,’ अन्तर्वार्ताको क्रममा उनले भनेकी छन्, ‘प्रयोगकर्ताको हित हेर्ने कि फेसबुकले आफ्नै हित हेर्नेमा ठुलो मतभेद छ ।’

फेसबुकले आन्तरिक रूपमा गरेको अनुसन्धान सम्बन्धी विवरणहरू उनले अमेरिकाको सेक्युरिटी एन्ड एक्सचेन्ज कमिसनलाई पनि उपलब्ध गराएकी थिइन् । ‘मैले गुगल र पिन्टरेस्ट जस्ता कम्पनीमा पनि काम गरिसकेँ तर फेसबुकमा काम गर्दाको जस्ता खराब अनुभूति कतै भएन,’ अन्तर्वार्ताको क्रममा उनले भनेकी छन् ।

फेसबुकले भने आफ्नो प्लेटफर्ममा घृणाजन्य सामग्री रोक्नको लागि प्रयास गरिरहेको दाबी गर्दै आएको छ । तर, हगेनले सार्वजनिक गरेको एउटा आन्तरिक विवरणमा भने ‘हामीले घृणा फैलाउने सामग्री ३–५ प्रतिशत मात्रै रोक्न सकेको अनुमान छ’ भन्ने वाक्यांश प्रयोग गरिएको थियो ।

यस्तै, उनले नै सार्वजनिक गरेको एक कागजपत्रमा फेसबुकको आन्तरिक टिमले लेखेको वाक्यांशमा भनिएको छ, ‘हाम्रो विभिन्न एपमा आउने घृणा फेलाउने अभिव्यक्ति, विभाजन गर्ने खालका राजनीतिक अभिव्यक्ति र अफवाहका कारण विश्वभरका समाजमा असर पारिरहेको प्रमाण विभिन्न स्रोतबाट हामीलाई प्राप्त भएको छ ।’

सन् २०१८ मा फेसबुकले लागू गरेको एल्गोरिदम नै समस्याको प्रमुख जड रहेको हगेनको दाबी छ । उक्त एल्गोरिदमले फेसबुकमा इन्गेजमेन्ट बढाउनको लागि मानिसमा डर र घृणा पैदा गराउने सामग्रीलाई बढवा दिने गरिएको आरोप लगाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५