close

ठगीमा नपर्नेगरी यसरी गर्नुहोस् अनलाइन शपिङ‍

टेकपाना टेकपाना

असोज २१, २०७८ १७:४५

ठगीमा नपर्नेगरी यसरी गर्नुहोस् अनलाइन शपिङ‍

काठमाडौं । घटस्थापनासँगै यस वर्षको चाडबाडको समय सुरु भएको छ ।  ई–कमर्स कम्पनीहरूमा दशैँतिहारलाई लक्षित गर्दै डिस्काउन्ट र अफरको वर्षात् नै चलेको छ ।

त्यसमा स्मार्टफोन लगायतका इलेक्ट्रोनिक्स उपकरण सस्तो मूल्यमा खरिद गर्ने अफर समेत छन् । तर अनलाइनमार्फत कुनै पनि सामान खरिद गर्दै हुनुहुन्छ भने केही महत्त्वपूर्ण कुराहरू छन्, जसलाई तपाईंले ख्याल राख्नैपर्ने हुन्छ ।

अन्यथा तपाईँमाथि कुनै पनि प्रकारको धोका हुनसक्छ । यसको अर्थ तपाईं अनलाइन ठगीको शिकार बन्न सक्नुहुन्छ । त्यसैले अनलाइन शपिङ गर्दा केही निश्चित विषयहरूमा विचार पुर्‍याउनैपर्ने हुन्छ ।

आज हामी तपाईंलाई अनलाइनबाट स्मार्टफोन, इलेक्ट्रिक सामान वा अन्य कुनै चिजवस्तु खरिद गर्दा विचार पुर्‍याउनैपर्ने केही विशेष कुराहरूको विषयमा बताउँदैछौँ ।

१. आधिकारिक वेबसाइट तथा एपबाट मात्र खरिद गर्नुहोस्

कुनै पनि सामग्री खरिद गर्नका लागि आधिकारिक वेबसाइट वा आधिकारिक मोबाइल एप मात्र भिजिट गर्नुहोस् । यस्ता एप एन्ड्रोइडका लागि गुगल प्लेस्टोर र आईओएसका लागि एप्पल एप स्टोरबाट मात्रै एप डाउनलोड गर्नुहोस् ।

साथै वेबसाइटमा जाँदा https:// बाट सुरु भएको वा अलिकति तलमाथि वा तोडमोड गरिएको छ वा छैन भन्ने कुरा ख्याल राख्नुहोस् ।  किन भने वास्तविक जस्तै लाग्ने गरी ठगहरूले नक्कली वेबसाइटहरू समेत बनाउने गरेका हुन्छन् ।

साथै पप-अप लिङ्कको माध्यमबाट प्राप्त डिस्काउन्ट अफरको पछि नलाग्नुहोस् । साथै पप-अप लिङ्कमा क्लिक गर्ने र त्यसमा आफ्नो जानकारी राख्ने गल्ती समेत नगर्नुहोस् ।

किन भने यसो गर्नु सुरक्षाका लागि निकै गम्भीर मानिन्छ । यसबाट तपाईंको सामाजिक सञ्जाल अकाउन्टदेखि बैंक तथा वालेट अकाउन्ट समेत ह्याक हुनसक्छ ।

२. क्याश अन डेलिभरी नै रोज्नुहोस्

अनलाइनबाट हुने ठगीबाट जोगिनका लागि सीओडी अर्थात क्याश अन डेलिभरीको विकल्प प्रयोग गर्नुहोस् । किन भने यसो गर्दा सामान प्राप्त भएपछि मात्रै तपाईंले भुक्तानी गर्नुपर्ने हुन्छ ।

साथै डेलिभरी भएको सामग्री खोल्दाको समयमा भिडिओ रेकर्डिङ गर्न पनि नबिर्सिनुहोस्  । जसबाट ठगी जस्ता घटनाबाट तपाईंलाई जोगिन र क्षतिपूर्तिका लागि दाबी गर्न प्रमाणको रुपमा समेत काम आउन सक्छ ।

कहिले काहिँ अर्डर मिसप्लेस अर्थात अर्डर गरेको भन्दा अर्कै सामान डेलिभरी हुने गरेका घटना तपाईं हामीले सुन्दै भोग्दै आएका छौँ । तपाईंसँग भिडिओ रेकर्ड छ भने यस्तो बेलामा सजिलै सामान फिर्ता गर्न र आफ्नो रकम फिर्ता पाउन सहज हुन्छ ।

३. एटीएम वा क्रेडिट कार्डको जानकारी शपिङ साइटमा सेभ नगर्नुहोस्

प्रायजसो मानिसहरूले जानीनजानी शपिङ साइटमा आफ्नो डेबिट तथा क्रेडिट कार्डको जानकारी सेभ गरिदिन्छन् । त्यसो त तपाईंको कार्डको विवरण निकै नै सुरक्षित हुन्छ ।

सीभीभी (कार्ड भेरिफिकेसन भ्यालु) तथा पिन नम्बर बिना कसैले पनि तपाईंको कार्ड दुरुपयोग  गर्न सक्दैन । तर यदि तपाईं अतिरीक्त तहको सुरक्षा चाहनुहुन्छ भने कार्ड डिटेल नराखेरै शपिङ गर्ने बानी बसाल्नुहोस् ।

४. शपिङका लागि बजेट बनाउनुहोस्

चाडबाडको समयमा सधैँ बजेट निश्चित गरेर मात्रै शपिङ गर्नुपर्ने हुन्छ  । यसो गर्दा अनावश्यक वा फजुल किसिमको शपिङबाट जोगिन पनि सहयोग पुग्छ ।

जानकारहरूका अनुसार क्रेडिट कार्डको साटो डेबिट कार्ड वा नगद भुक्तानी यस्ता फजुल किसिमका खर्चबाट जोगिन बढी उपयोगी हुने  गरेको छ । यस्तोमा शपिङका लागि सूची बनाउनुहोस् र डिल तथा डिस्काउन्ट चेक गर्नुहोस् ।

५. डिस्काउन्ट तथा अफर

ई–कमर्स कम्पनीका अफरलाई अफलाइनमा समेत चेक गर्न नभुल्नुहोस् । किन भने अनलाइनमा भारी मात्रामा छुट देखाएर तपाईंलाई लोभ्याउन खोजिएको पनि हुनसक्छ ।

अहिलेको समयमा धेरैजसो यस्ता प्रयोगकर्ता हुन्छन्, जसले सामग्रीको वास्तविक बजार मूल्य थाहा नपाएर धेरै छुट देखेकै भरमा सामान खरिद गर्ने निर्णय लिन्छन् । यस्तोमा बिक्रेताले सामानको मूल्य अनावश्यक रुपमा धेरै देखाएर भारी छुट दिएको जस्तोगरी तपाईंलाई ठग्ने सम्भावना उत्तिकै हुन्छ ।

त्यसैले बजार पसलमा गएर भए पनि आफूले अनलाइनमा खरिद गर्न चाहेको सामानको मूल्य बुझ्ने गर्नुहोस् । जसले तपाईंलाई देखाइएको छुट वा अफर वास्तविक हो कि होइन भन्ने छुट्याउन समेत सहयोग पुग्छ ।

६. प्रतिस्पर्धी ई-कमर्स कम्पनीको वेबसाइट भिजिट गर्नुहोस्

अनलाइनबाट सामान अर्डर गर्नुअघि आफूले खोजेको सामानको मूल्य अर्को त्यस्तै ई–कमर्स कम्पनीको वेबसाइटमा कति छ भन्ने विषय चेकजाँच गर्न पनि नभुल्नुहोस् । किन भने तपाईंले हेरिरहेको सामान अर्को कम्पनीको वेबसाइटमा निकै सस्तोमा समेत राखिएको हुनसक्छ ।

त्यसमाथि अहिले चाडबाडको बेलामा ई-कमर्स कम्पनीहरूबीच छुट तथा अफरको विषयलाई लिएर चर्को प्रतिस्पर्धा समेत हुनेगर्छ । यस्तोमा राम्रो छुट कुन कम्पनीले दिइरहेको छ भन्ने कुरा ख्याल राख्नु बुद्धिमानी हुन्छ ।

तर छुटको पछि लागेर जुनसुकै ई-कमर्सबाट सामान अर्डर गर्नु पनि राम्रो होइन । किन भने डेलभिरी हुने/नहुने कुराको सुनिश्चितता, डेलिभरी हुन लाग्ने समय, सामान फिर्ता गर्ने प्रक्रिया आदि विषय समेत अनलाइन शपिङमा महत्त्वपूर्ण हुन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१