close

दूरसञ्चारका ५ वर्ष : इन्टरनेट प्रयोगकर्ता दोब्बरले बढ्दा मोबाइल र टेलिफोनको गति रोकियो

टेकपाना टेकपाना

असोज २७, २०७८ १७:१५

दूरसञ्चारका ५ वर्ष : इन्टरनेट प्रयोगकर्ता दोब्बरले बढ्दा मोबाइल र टेलिफोनको गति रोकियो

काठमाडौं । विगत पाँच वर्षमा दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन भएको छ । कुनै समय टेलिफोनको महत्व बढी थियो । तर, आज इन्टरनेट सबैका लागि अपरिहार्य भएको छ । यसको अर्थ टेलिफोनका महत्व हट्दै गएको भन्ने हाेइन । इन्टरनेटसँगै जोडिएर आएका म्यासेन्जर, भाइबर, ह्वाट्सएप जस्ता ओटीटी सेवाले टेलिफोनलाई विस्थापित गर्दै गएको छ ।

जसको प्रतिफल दूरसञ्चार कम्पनीको आम्दानीमा पनि पर्दै आएको छ । कुनै समय सेवाप्रदायकको आम्दानीको सबैभन्दा ठूलो माध्यम टेलिफोन हुने गरेकोमा अब विस्तारै डेटाले त्यसको स्थान लिन थालेको छ । यस्तोमा पक्कै पनि इन्टरनेट प्रयोगकर्ता बढ्दै जानु स्वभाविक पनि हो । तथ्याङ्कले पनि त्यस्तै देखाएको छ ।

दूरसञ्चार क्षेत्रको पछिल्लो पाँच वर्षमा इन्टरनेटको प्रयोगकर्ता आकासिँदा मोबाइल तथा टेलिफोन सेवा भने सुस्ताएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हालै असार मसान्तसम्मको डेटालाई समेटेर वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदनमा विगत पाँच आर्थिक वर्षमा इन्टरनेट, मोबाइल फोन तथा ल्याण्डलाइन फोनको उपयोगको प्रवृत्ति प्रस्तुत भएको छ । जस अनुसार आर्थिक वर्ष २०७३/०७४ मा मोबाइल फोनको प्रयोगकर्ता तीन करोड ४१ लाख ७२ हजार ५८ थिए । उक्त समयमा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ता जम्मा एक करोड ६१ लाख ८६ हजार ७५९ पुगेको थियो ।

पाँच वर्षको यो अवधिमा इन्टरनेट प्रयोगकर्ता दोब्बरले वृद्धि हुँदै तीन करोड नाै लाख ५४ जार १४५ मा पुगेको छ । तर, मोबाइल फोन प्रयोगकर्ता ४० लाखले मात्रै बढेका छन् । गएको असार मसान्तसम्म मोबाइल टेलिफोनको पहुँच तीन करोड ८४ लाख ५१ हजार ९६६ मा पुगेको छ । जुन नेपालको कुल जनसंख्याभन्दा बढी हो ।

अर्कोतर्फ ल्याण्डलाइन टेलिफोनको प्रयोगकर्ता ओरालो लागेको तथ्याङ्कले देखाएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७३/०७४ मा ल्याण्डलाइन प्रयोगकर्ताको संख्या आठ लाख ५९ हजार ४६९ रहेका थिए । तर, गएको असार मसान्तमा आइपुग्दा ल्याण्डलाई टेलिफोन प्रयोगकर्ता घटेर आठ लाख ८ हजार ५२७ पुगेका छन् ।

यसले विस्तारै ल्याण्डलाइन टेलिफोन विस्थापित हुँदै जाने र मोबाइल टेलिफोनको विकल्प इन्टरनेट हुनेसक्ने देखाएको छ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१