close

महाधिवेशनमा नेपालमै बनेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने एमालेको निर्णय

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ २०:८

महाधिवेशनमा नेपालमै बनेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको आफ्नो आसन्न १० औँ महाधिवेशनमा विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेपालमै बनेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने निर्णय गरेको हो ।

एमाले प्रवक्ता तथा पार्टी सचिव प्रदीप ज्ञवालीका अनुसार बैठकअघि विद्युतीय भोटिङ मेसिनको पूर्वअभ्यास समेत गरिएको थियो । यो विद्युतीय भोटिङ मसिन रामलक्ष्मण इनोभेसनले तयार पारेको हो ।

२०६८/०६९ सालमै राम लक्ष्मण रिमाल दाजुभाइले नेपालमै पहिलो पटक विद्युतीय भोटिङ मसिन बनाएका थिए । आफूहरूले बनाएको उक्त मसिन अन्तर्राष्ट्रिय स्तरको भएको उनीहरूको दाबी छ ।

विभिन्न उद्योग वाणिज्य संघ, सहकारी, नेप्सकुन, स्ववियु, लगायतका सय भन्दा बढी निर्वाचनमा यो विद्युतीय भोटिङ मसिन प्रयोग भइसकेको छ । त्यस्तै नेपाल जेसिजले लगातार पाँच चुनावमा भोटिङ मेसिन प्रयोग गरिसकेको छ ।

Image

राजनीतिक पार्टीहरूमा राप्रपाले केही वर्ष अघि आफ्नो महाधिवेशनमै यो भोटिङ मसिन प्रयोग गरेको थियो । आफूले विकास गरेको विद्युतीय भोटिङ मसिन विदेशमा समेत निर्यात गर्ने आकाङ्क्षामा रहेका राम लक्ष्मणलाई त्यसअघि निर्वाचन आयोगले गराउने चुनावमा यसको प्रयोग होस् भन्ने चाहना छ ।

आफ्नै देशको राष्ट्रिय स्तरको चुनावमा प्रयोग भए विदेशमा विश्वास जित्न सहज हुने आशामा उनीहरूले वर्षौँदेखि सरकारको मुख ताकेका छन् । ‘अहिलेको अवस्थामा हामी भोटिङ मसिनबाट पैसा आम्दानी गर्ने पक्षमा छैनौँ, राष्ट्रिय स्तरको चुनावमा प्रयोग होस भन्ने चाहना मात्रै हो ।’

‘त्यसो हुन सके यो मेसिनको विश्वसनीयताले आधिकारिक रुप ग्रहण गर्ने र व्यवसायिक रुपमा बजारमा लैजाने आधार तयार हुने आशा छ,’ राम रिमाल भन्छन् । यो मसिनबाट २८ प्रकारका चुनाव गराउन सकिने रामलक्ष्मणको भनाई छ ।

‘राष्ट्रिय स्तरको चुनाव प्रणालीका हिसावले त्यति जटिल होइन,’ राम भन्छन्, ‘हामीले तयार पारेको भोटिङ मसिनले चुनावका लागि तय गरिएका नियमलाई जस्ताको तस्तै रुपमा आत्मसाथ गर्न सक्छ,’ राम दाबीका साथ भन्छन्, ‘हाम्रो मसिनप्रति अविश्वासको गर्ने ठाउँ अहिलेसम्म देखिएको छैन ।’

विदेशी भोटिङ मसिनहरूको तुलनामा थुप्रै फिचरहरू आफूहरूले बनाएको मसिनमा रहेको उनीहरूको दाबी उनीहरूको छ । यो मसिन प्रयोग भएका चुनावमा खसेको मत स्वचालित र म्यानुअल गरी दुवै किसिमले गणना गर्न सकिन्छ ।

मसिनमा ब्लकचेन जस्तो अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । जसका कारण एउटा उम्मेदवारको मत अर्को उम्मेदवारको नाममा पार्न नसकिने रामको भनाई छ । अहिलेसम्म भोटिङ मसिनको विकासका लागि राम-लक्ष्मणले आठ करोड रुपैयाँ खर्च गरिसकेका छन् ।

सरकारले राष्ट्रिय स्तरको चुनावमा आफ्नो भोटिङ मेसिन गर्न चाहेको खण्डमा निर्णय भएको पाँच महिनामै आवश्यक सम्पूर्ण मेसिनहरू उपलब्ध गराउन सकिने उनीहरू बताउँछन् ।

Image

‘आगामी चुनावमा भोटिङ मेसिन प्रयोग गर्ने सवालमा निर्वाचन आयोग पछिल्लो समय सकारात्मक देखिएको छ,’ उनी भन्छन्, ‘हामी त्यसको प्रतिक्षामा छौँ । अपग्रेड गर्न सकिने गरी बनाइएको यो मसिनमा फिंगरप्रिन्टदेखि फेस रिकग्निशनसम्मको प्रविधि समेत प्रयोग गर्न सकिन्छ ।

नेपालीले नेपालमै बनाएको प्रविधि भएको आधारमा यसलाई प्राथामिकता दिनुपर्ने आफूहरूको चाहना नभएको रामलक्ष्मण बताउँछन् । ‘हामी प्राविधिक र लागत दुवै हिसाबले विदेशी कम्पनीहरुसँग खुला प्रतिस्प्रर्धा गर्न तयार छौँ,’ उनीहरू भन्छन् ।

‘सरकारले निर्वाचनमा भोटिङ मसिन प्रयोग गर्ने निर्णय गरेर अन्तर्राष्ट्रिय स्तरको टेण्डर आह्वान गरोस् । त्यसमा खुल्ला प्रतिस्पर्धा गरेरै छनौट हुन सक्छौँ भन्नेमा हामीलाई पुरापुर विश्वास छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१