close

फेसबुक आईडी ‘ह्याक’ गरी ई-सेवाबाट पैसा ठग्दै ‘स्क्यामर’

टेकपाना टेकपाना

कात्तिक २७, २०७८ १७:३

फेसबुक आईडी ‘ह्याक’ गरी ई-सेवाबाट पैसा ठग्दै ‘स्क्यामर’

काठमाडौं । शुक्रबार राति ११ बजे फेसबुकमा नयाँ पत्रिका दैनिकमा कार्यरत आनन्द श्रेष्ठलाई सहकर्मी अजित अधिकारीको म्यासेज आयो । सामान्य किसिमको अभिवादनसँगै ‘सामान्य काम थियो’ भनेर कुरा सुरु हुन्छ ।

त्यस्तैमा ‘तपाईंको कुन मोबाइल बैंकिङ एप’ हो भन्ने प्रश्न आउँछ, उनी त्यसको जवाफ फर्काउँछन् । त्यसपछि आफ्नो एकजना साथीलाई ‘अर्जेन्ट’ परेको भन्दै ई-सेवामा २५ हजार रुपैयाँ पठाइदिन अनुरोध आउँछ ।

जसमा आफ्नोमा ‘इरर’ भएको र भोलिपल्ट बिहान फिर्ता गरिदिने बताइएको थियो । त्यसपछि आनन्दले ई-सेवामा २५ हजार रुपैयाँ पठाइदिन्छन् । 

अजितले आनन्द श्रेष्ठको म्यासेज आएको नोटिफिकेसन देखिएपछि हेर्न खोजे । तर म्यासेज खुलेन । अनि उनले तुरुन्तै फोन गरेर ‘तपाईंले म्यासेज पठाइराख्नु भएको रहेछ, मेरोमा खुलिरहेको छैन । मेरो फेसबुक ह्याक भएको जस्तो छ’ भनेर आनन्दलाई सुनाए ।

आफ्नो फेसबुकबाट कसैले साथीहरूसँग पैसा मागिरहेको चाल उनले त्यसअघि नै पाइसकेका थिए । ‘मेरो फेसबुक ह्याक गरेर कसैले पैसा मागिरहेको छ, नपठाउनु होला है’ भन्दै अजितले सचेत गराउन खोजे ।

तर आनन्दले ‘भर्खरै च्याटमा कुरा भएको र मागे २५ हजार रुपैयाँ पठाइसकेको भनेपछि अजितले झस्किँदै ‘मजाक गर्दै हुनुहुन्छ कि क्या हो ?’ भन्दै संशय व्यक्त गर्छन् । उनको फेसबुक ‘स्क्यामर’ (झुक्यानमा पारेर ठगी गर्ने अपराधी) ले चलाइरहेको थियो ।

वास्तवमा अर्को एक जना फेसबुक साथीले पठाएको लिङ्कमा क्लिक गर्दा उनको फेसबुक स्क्यामरको हातमा गएको रहेछ । शुक्रबार राति ८ बजेतिर उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले अजितलाई ‘ए गुरु’ भन्दै म्यासेज पठाए थिए ।

जसमा भोलिपल्ट बिहान ८ बजे जुममा अनलाइन कार्यक्रम रहेको र सहभागी हुन आग्रह थियो । ‘कन्फर्मेसनको लागि मोबाइलमा आएको म्यासेज पठाइदिन भन्यो,’ अजितले सुनाए, ‘मैले त्यसलाई कपी गरेर म्यासेञ्जरमै पठाइदिएको थिएँ ।’ त्यस लगत्तै अजितको फेसबुकको लगईन तथा पासवर्ड स्क्यामरको हातमा पुगेको रहेछ । 

उनी मोबाइल चार्जमा राखेर राति साढे ९ बजेतिर खानाको लागि भान्सातर्फ लागे । यता म्यासेञ्जरको घन्टी बजेको बज्यै थियो । फर्किँदा नोटिफिकेसनको च्याटमा आफ्नो आईडीबाट अन्य व्यक्तिहरूसँग पनि पैसा माग्दै गरेको चाल  उनले पाए । खोलेर हेर्न भने सकिरहेका थिएनन् । 

शनिबार बिहान नौ बजेतिर मात्र आफ्नो फेसबुक आईडी ‘रिकभर’ (आफ्नो हातमा फिर्ता आएको) भएको अजितले बताए । ‘आज बिहान पनि गुडमर्निङ भन्दै थुप्रैलाई म्यासेज गएको रहेछ,’ उनले भने, ‘तर आनन्दजी बाहेक अन्यले पैसा पठाएर ठगिएको जानकारी अहिलेसम्म पाएको छैन ।’

तर त्यसअघि नै अजितको जस्तै उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाको फेसबुक स्क्यामरको कब्जामा गइसकेको थियो  । शुक्रबार दिउँसो स्वास्थ्य क्षेत्रमा काम गर्ने उनका साथीले भोलिपल्ट बिहान जुममा कार्यक्रम रहेको भन्दै एउटा लिङ्क पठाएका थिए ।

‘उताबाट मलाई लिङ्क आयो कि आएन भनेर सोधिएको थियो,’ उनले भने, ‘मैले यताबाट हजुर, छ भनेँ । पछि उताबाट कन्फर्मेसनका लागि आएको लिङ्क फरवार्ड गरिदिन भन्ने कुरा आयो ।’

यति गरेसँगै उनको फेसबुक समेत स्क्यामरको हातमा पुगेको रहेछ । उनको फेसबुकमा रहेका साथीहरूमध्ये कसैलाई धमाधम लिङ्क पठाउँदै कार्यक्रममा सहभागिताका लागि लिङ्क क्लिक गर्न लगाउने तथा कसैलाई समस्या परेको भन्दै पैसा माग्ने काम भइरहेको थियो । 

उनको फेसबुकबाट यस्तो म्यासेज पठाइएका व्यक्तिहरूमा प्रायः सबै पत्रकारहरू नै थिए । पैसा माग्न थालेपछि आफूलाई १५/२० जनाको कल आएको तिमल्सिनाले सुनाए । 

दिनभर व्यस्त रहेका उनी राति ९ बजेतिर मात्रै घर फर्किएका थिए । उनले फेसबुक खोल्ने प्रयास गरे । तर सेसन समाप्त भन्दै पुनः लगईन गर्न भनियो । ‘लगईन गर्न खोज्दा हुँदै भएन । मेरो फेसबुक दिउँसोतिर साथीले पठाएको लिङ्क क्लिक गर्दाकै समयमा ह्याक भइसकेको रहेछ,’ उनले भने, ‘मैले राति १२ बजेपछि मात्रै आफ्नो फेसबुक आईडी फिर्ता पाउन सकेँ ।’

त्यसो त आफ्नो आईडीबाट पैसा मागिएको म्यासेज गइरहेको थाहा पाएपछि उनले स्टाटस लेख्दै फेसबुक ह्याक भएको जानकारी गराइरहेका थिए । तर पोस्टहरूलाई स्क्यामरले तुरुन्तै डिलिट गरिदिने वा ‘अन्ली मि’ (आफू बाहेक अरुले देख्न नपाउनेगरी राखिदिने) गरिदिन्थ्यो ।

आफ्नो फेसबुकबाट धेरैलाई स्क्यामरले पैसा मागेको भए पनि झुक्किएर कसैले पैसा जम्मा गरेको जानकारी नभएको तिमल्सिनाले सुनाए ।आनन्द श्रेष्ठले स्क्यामरको ठगीमा परेको चाल पाए लगत्तै ई-सेवाको ग्राहक सेवा केन्द्रमा रिपोर्ट गरेका थिए ।

संयोगबश उनले पठाएको पैसा सोही ई-सेवा अकाउन्टमै थियो । ई-सेवाले उक्त रकम ‘होल्ड’ गरिएको जनाएको छ । ‘आवश्यक केही निश्चित प्रक्रिया पुरा गरेपछि उहाँको रकम फिर्ता हुन्छ,’ ई-सेवाका एक कर्मचारीले भने । 

उनका अनुसार यस्ता स्क्यामरले अर्कै व्यक्तिको पहिचान प्रयोग गरेर पैसा माग्ने र ई-सेवा आईडी पनि अर्काकै प्रयोग गर्ने गरेका छन् । जसले गर्दा उनीहरूको पहिचान गर्न समेत कठीन छ ।

‘फर्गेट पासवर्ड भन्ने अप्सनमा जाने र आफू ई-सेवाबाट बोलेको भन्दै सम्बन्धित व्यक्तिको मोबाइलमा गएको ओटीपी कोड मागेर ठगी गर्ने प्रवृत्ति एकदमै बढेको छ,’ ई-सेवाका कर्मचारीले भने, ‘तर फेसबुक नै ह्याक गरेर ई-सेवामा पैसा जम्मा गर्न लगाउने समस्या भने खासै आउने गरेको छैन ।’

यस्तो ठगीबाट जोगिने कसरी ?

तपाईंले चिनेकै साथी वा परिवारजन कसैले फेसबुक वा अन्य अनलाइनका माध्यमबाट रकम मागेको खन्डमा पठाउन हतारो नगर्नुहोस् । च्याट गर्दा ‘स्क्यामर’ले निकै चलाखी गर्ने गरेका हुन्छन् ।

उनीहरूले फेसबुक आईडी आफ्नो हातमा लिएर तपाईंसँग भएको च्याट निकै ध्यानपूर्वक पढ्छन् । जसबाट तपाईंसँग कसरी कुराकानी गर्ने भन्ने शैली थाहा हुन्छ । यसरी च्याट गर्दा तपाईंलाई सकेसम्म कुनै पनि हिसाबले शङ्का गर्ने ठाउँ नै बाँकी राख्दैनन् ।

अर्थात सम्बन्धित व्यक्तिले नै च्याट गरिरहेको जस्तो लाग्छ । त्यसैले यदि कसैले तपाईंलाई फेसबुक वा अन्य म्यासेजिङ एपमार्फत कुनै बहानामा अनलाइनमा रकम माग्छ भने एक पटक फोन गरेर सम्बन्धित व्यक्तिसँग बुझ्नुहोस् ।

अनि मात्र पैसा पठाउने वा नपठाउने निधो गर्नुहोस् । अनि अर्को कुरा इन्टरनेट प्रयोग गर्दा जथाभावी लिङ्कमा क्लिक गर्ने वा आएको लिङ्क तथा कोड अरुलाई फरवार्ड गर्ने गल्ती पनि नगर्नुहोस् ।

‘H29Q+Fsn4Sr’ कोड सहितको म्यासेज आएको खण्डमा कसैलाई फरवार्ड नगर्नुहोस्, बरु यसलाई सकेसम्म तुरुन्तै डिलिट गर्नुहोस् । किन भने यसबाट तपाईंको फेसबुक अकाउन्टमा साइबर अपराधीले पहुँच बनाउएर पासवर्ड नै परिवर्तन गर्न सक्छ ।

लिङ्कमा क्लिक गर्नु अघि त्यसको यूआरएल अथवा म्यासेजमा भएको सूचना विचारपूर्वक हेर्नुहोस् । ईसेवा, खल्ती जस्ता डिजिटल वालेट वा कुनै बैंकबाट बोलेको भन्दै फोन वा म्यासेज गरेर तपाईंको मोबाइलमा आएको कोड (ओटीपी) मागेको खन्डमा नदिनुहोस् । किन भने बैंक तथा वित्तीय संस्थाले यस्ता व्यक्तिगत वित्तीय जानकारी कहिल्यै पनि फोन, म्यासेज वा ईमेलमार्फत माग्दैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२