close

यसकारण हुन्छ टिकटक अकाउन्ट ‘फ्रिज’, समाधान कसरी गर्ने ?

टेकपाना टेकपाना

मंसिर ५, २०७८ ११:३९

यसकारण हुन्छ टिकटक अकाउन्ट ‘फ्रिज’, समाधान कसरी गर्ने ?

काठमाडौं । पछिल्लो समय नेपालमा पनि टिकटक प्रयोगकर्ता बढेका छन् । सामाजिक सञ्जालमा छोटो समयमै लोकप्रिय बनिरहेको टिकटकमा बच्चादेखि वृद्ध-वृद्धासम्म जोडिएका छन् ।

यसैबीच आज हामी टिकटक अकाउन्टलाई ‘फ्रिज’ हुन नदिन के गर्ने भन्ने विषयमा लेख तयार पार्दैछौं । सबैभन्दा पहिले के बुझौं भने ‘फ्रिजिङ’ भन्नाले तपाईंको टिकटक अकाउन्ट ब्लक वा बन्द हुनु चैं होइन ।

जब तपाईंको भिडिओ पर्याप्त मानिससम्म पुग्दैन, तब तपाईंंको अकाउन्ट फ्रिज गरिएको छ भनेर बुझ्न सक्नुहुन्छ । टिकटक अकाउन्ट फ्रिज गर्नुपछाडिका कारण धेरै हुन सक्छन् ।

तपाईंको अकाउन्ट फ्रिज गरिएको छ कि छैन भनेर जाँच गर्न सुरुमा आफ्नो टिकटक प्रोफाइलमा जानुहोस् । तपाईंको एनलाइटिक्स (Analytics) हेर्नका लागि कन्टेन्टको कुनै पनि भिडिओ जाँच गर्न सक्नुहुन्छ ।

तपाईंको टिकटकबाट धेरै मानिसको फ्लो ‘flow’ भएको देख्नुहुन्छ भने तपाईंको टिकटक अकाउन्ट फ्रिज गरिएको छैन भन्ने संकेत हो ।

मानिसहरू तपाईंको पेजबाट आएका छैनन् भने यो तपाईंको अकाउन्ट फ्रिज गरिएको स्पष्ट संकेत हो । यो एक स्वचालित प्रक्रिया हो, जसले नियमित रूपमा तपाईंको अकाउन्ट जाँच गर्दछ ।

तपाईंको टिकटक फ्रिज भएको छ र भिडिओहरू नयाँ दर्शकहरूमा पुगिरहेका छैनन् भनेर कसरी पहिचान गर्ने ?

आफ्नो टिकटक अकाउन्टको प्रोफाइलमा गई ‘प्राइभेसी एन्ड सेटिङ’ हुँदै ‘Analytics’ मार्फत् कुनै पनि भिडिओ जाँच गर्न सकिन्छ ।

यद्यपि, एनालिटिक्स जाँच गर्न, तपाईंसँग प्रो अकाउन्ट हुनुपर्दछ । तपाईंले My account सेटिङहरू व्यवस्थापन गरेर टिकटक प्रो अकाउन्ट इनेबल गर्न सक्नुहुन्छ ।

टिकटक अकाउन्ट किन फ्रिज गरिन्छ ?

टिकटक अकाउन्ट फ्रिज हुनुको पहिलो कारण तपाईंले नक्कली सामग्री पोस्ट गर्नु हो । यदि तपाईं टिकटकमा पहिले नै पोस्ट गरिएको भिडिओ आफ्नो अकाउन्टमा पोस्ट गर्दै हुनुहुन्छ भने तपाईंको अकाउन्ट फ्रिज हुन सक्छ ।

त्यसैले लाइक र इंगेजमेन्टका लागि अरु मानिसहरुको भिडिओ पोस्ट नगर्नु नै उपयुक्त हुन्छ । सुरुमा, यसले तपाईंलाई टिकटकमा छवि जमाउन मद्धत त गर्न सक्छ, तर पछि तपाईंको अकाउन्ट नै फ्रिज हुनेछ ।

अर्कोतर्फ, यदि तपाईं टिकटक भिडिओ पोस्ट गर्नुअघि भिडिओको वाटरमार्क (जुन अन्य प्रयोगकर्ताको प्रोफाइलको रूपमा सेभ गरिएको छ) हटाउनुभयो भने पनि टिकटकले यसलाई परीक्षण गरेर तपाईंको अकाउन्ट फ्रिज गरिदिन सक्छ ।

टिकटक अकाउन्ट फ्रिज गर्नु भनेको इन्स्टाग्राममा ‘shadow banned’ गर्नुजस्तै हो ।

तपाईंको भिडिओमा खतरनाक व्यक्ति वा संस्थाहरूको प्रतिनिधित्व गर्ने वस्तुहरूको नाम, प्रतीक, लोगो, जेस्चर, युनिफर्म, अभिव्यक्ति लगायत फेला परेको छ भने पनि टिकटक अकाउन्ट फ्रिज हुन सक्छ ।

यदि तपाईंको भिडिओ गैरकानूनी गतिविधिहरु प्रवर्द्धनका लागि जिम्मेवार पाइयो भने, यो तपाईंको अकाउन्टबाट हट्नसक्छ, तपाईंको अकाउन्ट प्रतिबन्धित हुन सक्छ वा टिकटकले फ्रिज गर्न सक्छ ।

तपाईंले जनावरहरूको हत्याजस्ता हिंसात्मक ग्राफिक सामग्री देखाउने कुनै पनि भिजुअल पोस्ट गर्नबाट जोगिनैपर्छ । यदि कसैले यो रिपोर्ट गर्‍याे र त्यो रिपोर्ट जायज पाइयो भने तपाईंको टिकटक अकाउन्ट फ्रिज वा बन्द हुन सक्छ ।

तसर्थ, टिकटकमा भिडिओहरू पोस्ट गर्दा सबै कम्युनिटी गाइडलाइन पालना गरेर सुरक्षित पक्षमा रहनु सधैं राम्रो हुन्छ । यदि तपाईं सधैं सुरक्षित पक्षमा हुनुहुन्छ भने त्यहाँ तपाईंको टिकटक फ्रिज हुने कुनै संभावना छैन ।

टिकटक अकाउन्ट कसरी अनफ्रिज गर्ने ?

  • अन्य मानिसहरूसँग सकेसम्म अन्तर्क्रिया गर्नुहोस् । अन्य व्यक्तिको भिडिओमा लाइक वा कमेन्टका साथ प्रतिक्रिया दिनुहोस् ।
  • आकर्षक र मौलिक भिडिओहरू पोस्ट गर्नुहोस् । टिकटकले यसलाई मन पराउँछ र दर्शकहरूले यसको प्रशंसा गर्छन् ।
  • यदि सम्भव छ भने, डेटा वा टिकटक एपकाे स्पेस खाली गर्नुहोस्, लगआउट गर्नुहोस्, एप अनइन्स्टल गर्नुहोस्, फोन रिस्टार्ट गर्नुहोस, पुन: टिकटक इन्स्टल गर्नुहोस् र त्यसपछि पुन: लगईन गर्नुहोस् ।
  • यदि अकाउन्ट तपाईंको लागि महत्वपूर्ण छ भने अधिक भिडिओहरु बनाउन सुरू गर्नुहोस्, प्लेटफर्ममा धेरै सक्रिय हुन प्रयास गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३