close

म्यासेन्जरमा तत्काल इन्ड-टु-इन्ड इन्क्रिप्सन लागू नहुने

टेकपाना टेकपाना

मंसिर ५, २०७८ १२:३७

म्यासेन्जरमा तत्काल इन्ड-टु-इन्ड इन्क्रिप्सन लागू नहुने

काठमाडौं । मेटाको फेसबुक म्यासेन्जरमा सन् २०२३ सम्म इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर उपलब्ध नहुने भएको छ । सन् २०२२ को सुरुवातसँगै फेसबुक म्यासेन्जरमा समेत इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर उपलब्ध गराउने बताउँदै आएको भएता पनि तत्कालै उक्त फिचर कार्यान्वयनमा नआउने देखिएको हाे ।

म्यासेन्जरमा इन्क्रिप्सन फिचर उपलब्ध गराउँदा बालबालिकामा ठूलो असर पर्नसक्ने आँकलनका साथ यसको तयारीलाई ढिलाइ गरिने भएको हो ।

ह्वाट्सएप जस्तो पूर्णरुपमा इन्ड-टु-इन्ड इन्क्रिप्सन म्यासेजिङ सिस्टम उपलब्ध गराउँदै आएको मेटालाई म्यासेन्जरमा अनलाइन सेफ्टी र प्राइभेसी दुवै कायम राख्न मुस्किल परेको बताइएको छ ।

इन्ड-टु-इन्ड इन्क्रिप्सनका कारण दुई व्यक्तिबीच हुने कुराकानी सोही दुई जनाबीच मात्रै कायम रहने गर्छ । यसको अर्थ उक्त म्यासेज फेसबुकको सर्भरमा समेत स्टोर हुनेछैन भने फेसबुकले पनि हेर्न सक्दैन ।

त्यो हुँदा यसले बालबालिकाको अनलाइन सुरक्षामा थप चुनौती थप गर्न सक्ने आँकलन गरिएको छ । मेटाका सेफ्टी विभागीय प्रमुख एन्टिगन डेभिसले हाल कम्पनी उक्त चुनौतीको समाधानका लागि विभिन्न विज्ञसँग काम गरिरहेको बताएकी छन् ।

‘हाम्रो पछिल्लो अध्ययनले इन्क्रिप्सन बालबालिकाको लागि चुनौतीपूर्ण हुने देखाएको छ,’ आइतबार टेलिग्राफमा लेख्दै उनले भनिन्, ‘इन्ड-टु-इन्ड इन्क्रिप्सन भएता पनि हामीले सरकारी निकायहरूलाई आवश्यक परेको खण्डमा जानकारी दिन सक्ने खालको संयन्त्र बनाउन आवश्यक देखिएको छ ।’

त्यसैले यो विषय हाल विभिन्न विज्ञसँग छलफलमा रहेको र इन्ड-टु-इन्ड इन्क्रिप्सन सबै प्लेटफर्ममा उपलब्ध हुन सन् २०२३ सम्म लाग्ने उनले बताएकी छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३