close

विद्यार्थीलाई फेसबुक र ह्वाट्सएप ग्रुपबाट चिट चोराउने प्रिन्सिपल र शिक्षकसहित ५ जना पक्राउ

टेकपाना टेकपाना

चैत २१, २०८० २१:२१

विद्यार्थीलाई फेसबुक र ह्वाट्सएप ग्रुपबाट चिट चोराउने प्रिन्सिपल र शिक्षकसहित ५ जना पक्राउ

 

काठमाडौं । एसईईमा विद्यार्थीलाई मोबाइलमार्फत विज्ञान विषयको उत्तर पठाएर चिट चोराएको आरोपमा प्रहरीले विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले फेसबुक तथा ह्वाट्सएप ग्रुप बनाएर विद्यार्थीलाई चिट चोराएको आरोपमा बुधबार पाँच जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बाँकेको ओएनबी ए वन क्लास इन्स्टिच्युटका सञ्चालक इफरान अली मेकरानीसहित दिलिप बिक, सन्तोष नेपाली रहेका छन् । उनीहरूले इन्स्टिच्युटमा पढ्ने विद्यार्थीलाई अनलाइन मार्फत चिट चोराउने गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा फोनबाट उत्तर पठाएको देखिएको हो । त्यस्तै प्रहरीले बाँकेको लोटस बोर्डिङ स्कुलका प्रिन्सिपल तपनकुमार शर्मा र सोही विद्यालयका शिक्षक अल्ताब खाँलाई पनि पक्राउ गरेको छ । प्रिन्सिपल शर्माले शिक्षक खाँलाई उत्तर लेखेर विद्यार्थीलाई पठाउन भनेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार उनीहरूले विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तर लेखेर फोन मार्फत विद्यार्थीलाई पठाएका थिए । उनीहरूले विद्यार्थीलाई चिट चोराउन प्रयोग गरेको ल्यापटप र मोबाइल पनि बरामद गरिएको छ । उनीहरूमाथि बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत २१, २०८० २१:२१