close

अबको ३ वर्षमा विश्वको नम्बर वान स्मार्टफोन ब्रान्ड बन्ने साओमीको घोषणा

टेकपाना टेकपाना

पुस १५, २०७८ २०:१०

अबको ३ वर्षमा विश्वको नम्बर वान स्मार्टफोन ब्रान्ड बन्ने साओमीको घोषणा

काठमाडौं । साओमीले केही दिन अघिमात्रै एउटा सार्वजनिकीकरण कार्यक्रम आयोजना गरेको थियो । जसमार्फत कम्पनीले साओमी १२ स्मार्टफोन लाइनअप, मियूआई १३, साओमी वाच एस वान लगायतका उत्पादन बजारमा ल्याएको छ ।

उक्त कार्यक्रममा उत्पादनमात्र सार्वजनिक गरिएन, साओमीका  सीईओ तथा संस्थापक लेइ जुनले कम्पनीको आगामी योजना समेत घोषणा गरेका थिए । स्मार्टफोन विश्व बजारमा पठाउने मामिलामा साओमीले यसै वर्षको केही समय एप्पललाई पछि पारेको थियो ।

त्यसताका कम्पनी विश्वबजारमा दोस्रो ठूलो स्मार्टफोन निर्माता बन्न सफल भएको थियो । अहिले आएर साओमीका सीईओले आगामी तीन वर्षमा कम्पनी नम्बर वान स्मार्टफोन ब्रान्ड बन्ने र स्मार्टफोन उद्योगको नेतृत्व गर्ने घोषणा गरेका छन् ।

त्यसो त गत नोभेम्बरमा साओमी ग्रुपका उपाध्यक्ष तथा रेड्मीका प्रबन्ध निर्देशक लु वेइबनिङले पनि यस्तै अभिव्यक्ति दिएका थिए । यसका लागि साओमी सुरुवातमा चिनियाँ बजारमा आफ्नो बिक्री बढाउन केन्द्रित हुनेछ ।  

चीनमा बिक्री हुने स्मार्टफोन मध्ये ७० प्रतिशत भौतिक स्टोरहरूमार्फत जाने गरेका छन् । त्यसैले साओमीले आगामी तीन वर्षमा आफ्ना स्टोरको सङ्ख्या ३० हजार पुर्‍याउने योजना बनाएको छ ।

विश्वको नम्बर वान स्मार्टफोन ब्रान्ड बन्नका लागि एप्पललाई मात्र लक्षित गरिरहेको छैन । बरु टप ब्रान्डसँग प्रतिस्पर्धा गर्नसक्ने उत्पादन ल्याउन ध्यान दिनेछ । साओमी नियमित रुपमा विश्वको तेस्रो ठूलो स्मार्टफोन ब्रान्डको रुपमा रहँदै आएको छ ।

एप्पल साओमीभन्दा थोरैले मात्र अगाडि छ । तर यी दुवै ब्रान्डभन्दा सामसङ निकै अगाडि छ । यस्तो अवस्थामा साओमीले युरोपमा आफ्नो अवस्थालाई सुधार गर्नेछ, जहाँ सामसङले भर्खरै आफ्नो धरातल गुमाउँदै गएको छ ।

यस बाहेक अमेरिकी प्रतिबन्धका कारण ह्वावेले गुमाएको बजार समेत साओमीका लागि एउटा राम्रो अवसर हो । आगामी तीन वर्षमा आफ्नो लक्ष्यमा साओमी सफल हुन्छ वा हुँदैन भन्ने कुरा समयले नै बताउनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२