काठमाडौं । भारतीय टेलिकम क्षेत्रमा हाल भारतकै सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्स जिओको दबदबा छ । अब विश्वकै दोस्रो धनी व्यक्ति एलन मस्कले उक्त कम्पनीलाई टक्कर दिनसक्ने देखिएको छ ।
एलन मस्कको कम्पनी स्पेस एक्सप्लोरेसन टेक्नोलोजीज कर्पोरेसन (स्पेस एक्स) सस्टारलिङ्क प्रोजेक्ट भारतमा समेत सुरु हुने बताइएको छ । कम्पनीले भारतमा सुरुवाती चरणमा १०० एमबीपीएस गतिको स्याटेलाइटमा आधारित इन्टरनेट सेवा दिनेछ ।
यसका लागि कम्पनीले एक ट्रिलियन अमेरिकी डलर लगानीका साथ भारत र चीन जस्ता देशमा सेवा विस्तार गर्ने योजना बनाएको छ । एनालिटिक्सइन्डियाम्याग वेबसाइटका अनुसार एलन मस्कले भारत सरकारसँग स्याटेलाइटमा आधारित ब्रोडब्याण्ड प्रविधि भारतमा सञ्चालन गर्नका लागि अनुमतिपत्र माग गरेको छ ।
भारतको दूरसञ्चार नियामकले भारतमा ब्रोडब्याण्ड कनेक्टिभिटीलाई बढावा दिन गत वर्षको अगस्टमा एउटा कन्सल्टेन पेपर जारी गरेको थियो । त्यसै सन्दर्भमा स्पेस एक्सका स्याटेलाइट गभर्नमेन्ट अफेयर्स प्याट्रिशिया कपुरले स्टारलिङ्कको हाइ स्पिड स्याटेलाइट नेटवर्कबाट भारतका सबै जनतामा ब्रोडब्याण्ड कनेक्टिभिटी पुर्याउने लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने बताएका थिए ।
भारत इन्टरनेटका लागि ठूलो बजार हो । जहाँ ७० करोड इन्टरनेट प्रयोगकर्ता रहेका छन् । सन् २०२५ सम्म यो संख्या बढेर ९७ करोड ४० लाख पुग्ने अपेक्षा गरिएको छ ।
भारतमा हाल औषत १२ एमबीपीएस गतिको इन्टरनेट रहेको छ । यद्यपी फाइभजी इन्टरनेट सञ्चालनमा आएपश्चात भने भारतको इन्टरनेट स्पिड बढ्ने अपेक्षा गरिएको छ ।
तर भारतका गाउँ गाउँसम्म उच्च गतिको इन्टरनेट पुर्याउन भने निकै चुनौतिपूर्ण छ । तर यस्तो कामलाई स्पेस एक्सको स्टारलिङ्क परियोजनाबाट चाँडै सम्पन्न गर्न सकिने बताइएको छ ।
जसबाट १५० एमबीपीएस गतिको इन्टरनेट दिन सकिनेछ । साथै यो सेवा सस्तो मूल्यमा समेत उपलब्ध हुनेछ ।
ग्रामीण तथा दुर्गम क्षेत्रमा अप्टिकल फाइबर पुर्याउने कार्य निकै महंगो हुन्छ । यस्तोमा एलन मस्कको स्याटेलाइटमा आधारित इन्टरनेट सेवा सस्तो र छिटो रुपमा विस्तार गर्न सकिनेछ ।
नेपालमा समेत अधिकांश पहाडी तथा दुर्गम भूभाग रहेका कारण स्टारलिङ्कको स्याटेलाइट निकै उपयोगी हुने देखिन्छ । स्टारलिङ्कको भारत प्रवेशले नेपालमा समेत हाइस्पिड स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्ने संभावना बढ्ने अपेक्षा गरिएको छ ।
के हो स्टारलिङ्क ?
स्टारलिङ्क पृथ्वीको तल्लो कक्षमा घुम्ने स्याटेलाइट सेवा हो । जसले ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन उपलब्ध गराइरहेको छ । यो सेवाबाट विश्वका दुर्गम क्षेत्रमा गुणस्तरिय इन्टरनेट पुर्याउन सकिनेछ ।
यसका लागि कम्पनीले करिब एक हजार स्याटेलाइट लञ्च गरिसकेको छ । साथै स्पेस एक्सले तीव्र रुपमा स्याटेलाइटको संख्या बढाउँदै गएको छ ।
कम्पनीले सन् २०२७ सम्म १२ हजार डेस्क आकारका स्याटेलाइट प्रक्षेपण गर्ने तयारीमा छ । साथै जमिन स्तरमा स्टेसन राख्ने काम समेत भइरहेको छ । स्पेस एक्सका अनुसार उसको इन्टरनेट स्पिड ५० एमबीपीएसदेखि १५० एमबीपीएस गतिको हुनेछ ।