close

प्रविधि पछ्याउँदै ट्राफिक प्रहरी, यस्ता छन् अनलाइनबाटै सञ्चालित सेवा

टेकपाना टेकपाना

फागुन ८, २०७७ १४:२१

प्रविधि पछ्याउँदै ट्राफिक प्रहरी, यस्ता छन् अनलाइनबाटै सञ्चालित सेवा

काठमाडौं । पछिल्लो समय प्रविधि हाम्रो अपरिहार्य आवश्यकता बन्दै गएको छ । हरेक कुरा प्रविधिसँग जोडिँदै गर्दा यसले प्रयोगकर्तालाई धेरै कुराको सहजता पनि प्रदान गरिरहेको छ । चाहेर होस् वा नचाहेर, सरकारी कार्यालय, बैंकिङ र निजी क्षेत्र पनि विस्तारै प्रविधिको आत्मसात गर्न बाध्य भइरहेका छन् ।

अझ कोभिड–१९ को महामारीसँगै प्रविधिको विकास र त्यसको प्रयोगले नयाँ उचाई छाेएको छ भन्दा कुनै फरक नपर्ला । त्यसमा पनि बैंकिङ क्षेत्र अर्थात भनौं, आर्थिक कारोबारको क्षेत्र पछिल्लो समय प्रविधि आत्मासाथ गर्नेमा सबैभन्दा अघि छ ।

अनलाइन भुक्तानी, अनलाइन कारोबार, अनलाइन बैंकिङ, अनलाइन जरिवाना भुक्तानी जस्ता शब्दसँग प्रयोगकर्ता निकै नै नजिक भएका छन् ।

कुनै समय आफूले पठाएको पैसा भनेको ठाउँमा जाने हो वा होइन भनेर डराएर कारोबार नै नगर्ने मनस्थितिका प्रयोगकर्ता पनि विस्तारै अनलाइन माध्यममै भर पर्न थालेका छन् । यसरी अनलाइन कारोबार, अनलाइन शपिङ, अनलाइन भुक्तानीप्रति प्रयोगकर्तामा विश्वास पैदा हुँदै जाँदा नेपालकाे ट्राफिक प्रहरी पनि यसबाट अलग रहन सकेन ।

‘सबै कुरा प्रविधिमैत्री भइरहँदा ट्राफिक अछुतो रहने भन्ने कुरा रहँदैन,’ काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी हेर्ने निकाय महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराई भन्छन, ‘हामीले आज डिजिटल सेवामा प्रवेश गरेर सवारी व्यवस्थापनलाई कार्यान्वयन गर्न नसकेको खण्डमा यसको असर भोलिका दिनमा हामीले नै भोग्ने हो ।’

त्यसैले अबको बाटो प्रविधि हो भन्ने कुरा सरकारले पनि बुझेको छ । डिजिटल नेपालको परिकल्पना त्यसैको एउटा ज्वलन्त उदाहरण हो । त्यही डिजिटल नेपालको परिकल्पनालाई सार्थक गर्न पनि नेपालको ट्राफिक सिस्टम विस्तारै प्रविधिमै बन्दै जानुपर्ने बाध्यता छ ।

त्यसैको परिणाम अनलाइनबाटै जरिवाना भुक्तानी गर्न सकिने सुविधाको सुरुवात भएको हो । एसएसपी भट्टराई भन्छन, ‘यो सुविधा आज महानरीय ट्राफिक प्रहरी महाशाखाबाट भएको होला । तर, भोलिका दिनमा विस्तारै यो देशव्यापी रुपमा विस्तार हुँदै जाने नै छ ।

जतिसक्दो धेरै डिजिटल प्रविधिको प्रयोग हुन्छ, त्यही नै अवसर र सहज उपलब्धता हुनेछ । हाम्रो व्यवस्थापन र सेवा अझ बढी प्रभावकारी हुँदै जानेछन् । त्यसैले विस्तारै हाम्रा हरेक सेवा अनलाइनमा गइरहेका छन् ।’

उनी थपछन्, ‘जसको सुरुवात सवारी साधनको कागजपत्र हराएको खण्डमा अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्थाबाट भएको थियो । यसबाहेक नै अहिले ४–५ ओटा सेवा अनलाइनमा गइसकेको छ ।’

सवारी साधनको कागजपत्र हराएमा अनलाइन सिफारिस

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रविधिको आत्मसाथ सवारी साधनको कागजपत्र हराएमा अनलाइनबाटै सिफारिस दिन मिल्ने सिस्टमबाटै भएको हो । एसएसपी भट्टराई भन्छन, ‘यसमा प्रयोगकर्ताले देखाएको रुचिले पनि अन्य सेवामा प्रविधिको आवश्यकता महसुस भएको हो ।’

कुनै समय सवारीको कागजपत्र हराएको खण्डमा कार्यालयमा आएर निवेदन दिनुपर्ने बाध्यता थियो । उक्त निवेदनका आधारमा हामीले यातायात व्यवस्थापन कार्यालयलाई सिफारिस गर्ने र उक्त सिफारिसका आधारमा यातायात कार्यालयले कागजपत्र बनाइदिने खालको व्यवस्था थियो ।

तर, अब त्यति झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ । त्यसका लागि कार्यालयले छुट्टै सिस्टम नै निमार्ण गरेको छ । जसमार्फत सवारी धनीले ट्राफिक कार्यालयलाई जानकारी गराउने र त्यसका आधारमा कार्यालयले अनलाइन नै सिफारिस उपलब्ध गराउने गरेको उनी सुनाउँछन् ।

भन्छन, ‘सोही सिफारिसको आधारमा यातायात कार्यालय पुग्दा सवारीको कागजात बनाउन सकिन्छ ।’ हाल मासिक आउने त्यस्ता आवेदनको ८० प्रतिशतभन्दा बढी अनलाइनबाटै आउने गरेको उनी बताउँछन् ।

‘यसले कार्यालयमा आउनुपर्ने, लाइन लाग्नुपर्ने, निवेदन दिनुपर्ने, निवेदन दिएको भोलिपल्ट आएर सिफारिस लिनुपर्ने खालको झन्झटको अन्त्य गरिदिएको छ । यसमा यसले एउटा सिफारिसको लागि दुई/चार दिन कार्यालयमा धाउनुपर्ने झन्झटको अन्त्य भएको छ,’ उनले सुनाए ।

सवारी हराएमा अनलाइन निवेदन

चोरीका सवारी खोज्ने, हराएको सवारीको रेकर्ड राख्ने, त्यसबारे देशभर परिपत्र गर्ने, नाकाहरुमा परिपत्र गर्ने काम पनि अनलाइनबाटै भइरहेको छ ।

‘आज भन्दा ६ महिना अघिसम्म यी सबै काम कार्यालयबाटै गर्नुपर्ने बाध्यता थियो,’ एसएसपी भट्टराई भन्छन, ‘त्यसका लागि सवारी साधन हराउने व्यक्ति कार्यालयमै आएर निवेदन दिनुपर्ने थियो । खोजी कार्य पनि त्यसपछि मात्रै सुरु हुन्थ्यो ।’

तर, अब सवारी हराएको खण्डमा सवारी धनीले आवश्यक जानकारी सहित अनलाइनबाट फर्म भरेको खण्डमा उक्त जानकारीका आधारमा तत्कालै खोजी कार्य सुरु हुने गरेको छ । सोही सिस्टममार्फत नै देशभर परिपत्र गर्ने काम पनि हुने गरेको भट्टराई सुनाउँछन् ।

तर, सवारी साधन हराएको खण्डमा अनलाइनबाट बुझाउनुपर्ने कागजपत्र स्क्यान गरेर बुझाउनुपर्ने भएकाले भने यसमा सोचअनुसार हुन नसकेको उनी सुनाउँछन् । भन्छन, ‘मासिक आउने कुल निवेदनको २०–३० प्रशितमात्रै अनलाइनबाट आउने गरेको छ ।’

अनलाइन कक्षा

महानगरीय ट्राफिक प्रहरी महाशाखालाई डिजिटाइजेशन गर्न चालिएको अर्को महत्वपूर्ण कदम भनेको अनलाइन कक्षा हो ।

उनी भन्छन, ‘कोरोनाका कारण सिर्जना भएको त्रासपूर्ण वातावरणको बीचमा फिजिकल रुपमा कक्षा सञ्चालन गर्न सक्ने अवस्था भएन । यस्तो अवस्थामा सवारी साधान चलाउँदा गल्ती गर्ने सवारी चालकलाई उपलब्ध गराउन कक्षालाई अनलाइन सञ्चालन गरेका छौं ।’

त्यसका लागि ट्राफिक कार्यालयले छुट्टै पोर्टल नै तयार पारेको छ । जहाँ गएर आफ्नो चिट नम्बर र नाम हाली कक्षामा सहभागी हुन सक्नेछन् । कक्षा १२ बजेदेखि १, १ देखी २ र २ देखी ३ बजेगरी तीन चरणमा सञ्चालन गरिएको छ ।

उक्त कक्षामा सहभागी भएको विषय उक्त व्यक्तिको चिट नम्बरका आधारमा सिस्टमले जानकारी दिनेछ । कक्षामा सहभागी हुँदा भिडियो बन्द गरेर अरु काम गर्नु भन्ने खालको सुविधा भने उपलब्ध नभएको उनी बताउँछन् ।

भन्छन, ‘उक्त सिस्टमले कक्षामा उसले पूर्ण रुपमा सहभागी भए नभएको, भिडियो अन भए/नभएको सम्पूर्ण कुरालाई मध्यनजर गर्नेछ । त्यसका आधारमा मात्र कक्षामा सहभागी भएको भनी सिस्टमले नै भेरिफाइ गर्ने छ ।’

यो हुँदा अनलाइनबाट हुने कक्षामा बस्दा छुटकारा पाउँछु भन्ने खालको सोच राख्नु कुनै उपयुक्त नहुने उनी बताउँछन् । यसरी अनलाइन कक्षा लिए पश्चात कार्यलयमा आएर आफ्नो कागजपत्र लिएर जान सकिने छ ।

अनलाइन जरिवाना भुक्तानी

सेवा चाहे १५ दिन अघिमात्रै सुरु भएको किन नहोस्, महानगरीय ट्राफिक प्रहरी महाशाखाका लागि याे ठूलो उपलब्धि हो ।

‘यो ट्राफिक डिजिटाइजेसनको एउटा महत्वपूर्ण आधार भएको छ,’ उनी भन्छन, ‘यसले कुनै सवारी चालकले ट्राफिक नियमको उल्लंघन गरेको खण्डमा त्यसको जरिवाना भुक्तानीको लागि बैंकमा पुगेर बुझाउनुपर्ने बाध्यता अन्त्य गरिदिएको छ ।’

यसअघि यदि कुनै सवारी चालक जरिवानामा परेको खण्डमा उसले बैंकमा गएर जरिवानाको रकम खातामा जम्मा गरी रसिद बोकेर ट्राफिक कार्यालयमा पुग्नुपर्ने बाध्यता थियो ।

तर, अब त्यो झन्झटिलो प्रक्रिया अन्त्य भएको छ । यो सेवा सुरु भएसँगै ई–सेवा, खल्ती, कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।

सेवा सुरु गर्दा ई–सेवा र कनेक्ट आईपीएसमात्रै जोडिएको भएता पनि केही दिनपश्चात खल्ती पनि उक्त सेवामा जोडिएको एसएसपी भट्टराईले बताए ।

हाल १२ देखि १५ लाख दैनिक जरिवाना संकलन हुन्छ । अनलाइन जरिवाना भुक्तानी सुरु भएको यो १५ दिनमात्रै भयो । दैनिक रुपमा तिरिने उक्त जरिवानाको ३० प्रतिशत अनलाइनबाटै भुक्तानी हुन थालिसकेको छ ।

‘मलाई लाग्छ एक महिनाको अवधिमा ४० प्रतिशतले अनलाइन भुक्तानी गर्नेछन्,’ एसएसपी भट्टराई भन्छन, ‘६ महिनाको अवधिमा ९० प्रतिशत अनलाइनबाटै जरिवाना भुक्तानी हुनेछ ।’

ट्राफिकले दिएको चिट नम्बर हाली आफूले गरेको गल्ती छनोट गर्दा त्यहीँ आफूले तिर्नुपर्ने रकम देखाउनेछ । तोकिए बमोजिमको रकम भुक्तानी गरेसँगै यसकाे जानकारी ट्राफिक सिस्टममा उपलब्ध हुनेछ । त्यसका आधारमा कार्यालयमा आएर आफ्नो सवारीको कागजपत्र लिएर जान सकिनेछ ।

यसकारण बैंक जानुपर्ने, भौचर बोकेर कार्यालय पुग्नुपर्ने अवस्था अन्त्य भएको छ । यद्यपि अनलाइन पेमेन्ट सुरु भएता पनि पुरानो सिस्टम बन्द भएको भने होइन ।

उनी भन्छन, ‘दुवै प्रक्रिया खुला छन । किनभने सबै मान्छे प्रविधिसँग आबद्ध भएका छैनन् । यस्तोमा दुवै विकल्प खुला गरिएको छ । तर, मान्छे विस्तारै प्रविधिमा सिक्दै जाने भएकाले भोलिका दिनमा एउटैमात्र विकल्प पनि नहोला भन्न सकिँदैन ।’

उनी थप्छन्, ‘जुन सिस्टम अहिले तयार भएको छ त्यो नै अन्तिम होइन । यो सिस्टम हेर्दा सहज भएता पनि राजश्व उठाएर सरकारको राजश्व खातामा पुर्याउनुपर्ने भएकाले यसभित्र ठूलो होमवर्क भएको छ । झन्डै ६ महिनाको होमवर्कको रिजल्ट आजको सिस्टम हो । अझ यही नै अन्तिम भन्ने हाेइन । प्रविधि भएकाले यसमा हरेक दिनजसो आवश्यक परिमार्जनको काम गर्नुपर्ने हुन्छ ।’

उनले थपे, ‘न चिट काट्ने बित्तिकै त्यहीँबाट पैसा तिरेर त्यहीँबाट डकुमेन्ट लिएर हिड्न सक्ने बनाउन सकिन्छ कि ? त्यसमा क्यूआरको प्रविधि प्रयोगमा ल्याउन सकिन्छ कि ? यी सबै विकल्प हुन सक्छन् ।’

भोलिका दिनमा प्रविधिको आवश्यकता अनुसार यसलाई परिमार्जन गरिने याेजना प्रहरीकाे छ । त्यसै अनुसार सेवा प्रदायकको रुपमा अरुलाई पनि थपिने उनले उल्लेख गरे । ‘यसमा जो कोही पनि जोडिन सकिने अवस्था छ । कुनै रोकताेक भन्ने छैन । हालसम्म ई–सेवा, खल्ती, कनेक्ट आईपीएस जोडिएका छन्,’ उनले भने ।

डिजिटल ट्राफिक

ट्राफिक प्रहरीकाे काम भनेको सावारी ट्राफिक व्यवस्थापन र सडक दुर्घटना हुन नदिनु हो । अहिले काठमाडौं उपत्यकामा सबैभन्दा ठूलो समस्या भनेको जाम हो । जामलाई कसरी कम गर्ने भन्ने विषय सधै चुनौती बनेको छ । यसलाई पनि प्रविधिमा आधारित बनाउने योजना रहेको उनी सुनाउँछन् ।

त्यसका लागि स्मार्ट ट्राफिक लाइटकाे काम काम भइरहेको छ । यसको अर्थ हालको ट्राफिक सिस्टम तथा ट्राफिक लाइट ‘म्यानुअल’ किसिमकाे छ । अहिले ट्राफिक ठाउँ–ठाउँमा बस्ने, उनीहरुले नै ट्राफिक व्यवस्थापन गर्ने र दुर्घटना भएको ठाउँमा ‘चेक इन’ गर्ने काम हुन्छ ।

अब भने सहजताका लागि ट्राफिक लाइट राख्न लागिएकाे छ । स्मार्ट इन्टिलिजेन्ट लाइटको परिकल्पना अनुसार काम भइरहेकाे उनी सुनाउँछन् ।

भन्छन, ‘जसले गाडीको चाप अनुसार कुन साइडमा कति समय खोल्ने, कुन साइडबाट गाडी कटाउने भन्ने सम्पूर्ण कार्य स्वचालित रूपमा गर्नेछ ।’

त्यतिमात्रै नभएर सवारी दुर्घटनालाई कम गर्न घटना हुने कारण पत्ता लगाई त्यस अनुसारको उपकरण जडान गर्ने तयारी भइरहेको छ ।

यसको अर्थ उच्च गतिका कारण दुर्घटना हुने गरेको छ भने बाटोमा राखिएको मेसिनले नै चालकलाई उच्च गति भयो भनेर सुसूचित गराउने खालको सिस्टम जडान हुनेछ । जसको सुरवात ललितपुरको ग्वार्काेबाट गर्ने योजना महानगरिय ट्राफिकको छ ।

त्यस्तै दुर्घटना भएको ठाउँको निरीक्षण पनि प्रविधिबाटै हुने गरेको छ । यस अघिसम्म यदि कतै दुर्घटना भएको खण्डमा कागज बोकेर, टिपोट गर्नुपर्ने, स्केच बनाउनुपर्ने, फोटो खिच्ने जस्ता झन्झटिलो प्रक्रिया थियो ।

एसएसपी भट्टराई भन्छन, ‘हामीले त्यसका लागि एउटा सफ्टवेयर निमार्ण गरेर दुर्घटनामा खटिने ट्राफिक प्रहरीलाई स्मार्टफोन उपलब्ध गराएका छौं ।’

जसमार्फत उनीहरुले घटनाको टिपोट गर्ने, उक्त सफ्टवेयर आफैले स्केच बनाउने, फोटो खिचेर सोझै सिस्टममा अपलोड गर्ने, लोकेशन पत्ता लगाउने लगायतका काम आफैले गर्नेछ । यसले दुर्घटनाको तथ्यांक व्यवस्थापन गर्न सहज भएको छ ।

भेइकल ट्रयाकिङका लागि पनि तयारी भइरहेको उनी सुनाउँछन । भन्छन, ‘त्यसका लागि पहिलो चरणमा हामी एउटा क्यामेरामार्फत परीक्षण गर्दैछौं । जसले यदि कुनै गाडी दुर्घटना गरी भाग्यो भने हामीले उपलब्ध गराएको जानकारीका आधारमा उक्त गाडी पत्ता लगाउने काम गर्छ ।

साथै स्पिड क्याप्चर गर्ने क्यामेरा पनि ल्याउने तयारी भइरहेको छ । उक्त क्यामेराले यदि कुनै गाडी तोकिएको स्पिडभन्दा बढी गतिमा कुदेको पाइएमा उक्त बाइकको फोटो खिचेर सोझै सिस्टममा उपलब्ध गराउने खालको हुनेछ ।

यसको सुरुवात पनि ललितपुरको ग्वार्काेबाट हुनेछ । यसले द्रुत गतिमा कुद्ने बाइक तथा गाडीको फाटो खिची आवश्यकता अनुसार कारबाही गर्न मद्दत गर्नेछ ।

त्यति मात्रै नभएर कार्यालयलाई पनि प्रविधिमैत्री बनाउनका लागि एउटा सफ्टवेयर सञ्चालन भइसकेको छ । यसअघिसम्म यदि कीर्तिपुरमा कसैले गलत गरेको खण्डमा त्यसकाे कागजात बोकेर मुख्य कार्यालयमा जानुपर्ने बाध्यता थियो ।

तर, अहिले ६० प्रतिशतभन्दा बढी कार्यालयमा उक्त सिस्टम जडान भइसकेको छ । त्यो हुँदा अनलाइनबाटै जानकारी आदानप्रदान गर्न सकिने भएको छ । यसले ट्राफिकभित्र पनि कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

‘हामी त विस्तारै प्रविधिसँग जोडिदै गएका छौं । तर सँगै हामीसँग जोडिने संस्थालाई पनि प्रविधिमा आधारित बनाउनुपर्छ भनेर यातायात कार्यालय, सडक विभागलाई झक्झक्याउने काम गरिरहेका छाैं,’ उनले भन्छन्, ‘ताकि कुन कुन व्यक्तिले लाइसेन्स प्राप्त गरेका छन्, उनीहरुको तथ्यांक हामीसँग पनि उपलब्ध होस् । यसले ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याउने थियो भन्ने हाम्रो अपेक्षा हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१