close

गुगल प्लस कोड प्रयोग भएर आए दुई चिठी

टेकपाना टेकपाना

फागुन १७, २०७७ १५:३७

गुगल प्लस कोड प्रयोग भएर आए दुई चिठी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको हुलाक सेवा विभागले केही दिन अघिबाट मात्रै गुगल प्लस कोड प्रयोगमा ल्याएको छ । पहिलो चरणमा काठमाडौंबाट सुरु गरिएको यो सेवा विस्तारै देशव्यापी पुर्‍याउने योजनामा विभाग छ ।

त्यसका लागि विभागले गुगल प्लस कोड प्रयोगसम्बन्धी कार्य सञ्चालन प्रक्रिया, २०७७ कार्यविधि तयार पास गरिसकेको छ । कार्यविधि पास भएर लागू भएको केही दिनको अवधिमै गुगल प्लस कोड प्रयोग गरी दुई वटा चिठी प्राप्त भइसकेको गोश्वारा हुलाक कार्यालयका प्रमुख प्रद्युम उपाध्यायले बताए ।

उनका अनुसार पहिलो चिठी काठमाडौं बाहिरको सहकारी संस्थाले पठाएको थियो । उक्त चिठी सहकारी संस्थाले गुगल कोड प्रयोग गरी कलंकीको एउटा निजी आवासका लागि पठाएको थियो ।

साे चिठीमा राखिएको गुगल प्लस कोडकै आधारमा गोश्वारा हुलाक कार्यालयले सम्बन्धित स्थानमा चिठी पुर्‍याइसकेकाे छ ।

त्यस्तै दोस्रो चिठी अमेरिकाबाट आएको छ । अमेरिकामा बस्ने आफन्तले नेपालमा उक्त चिठी पठाएका हुन् ।

अमेरिकाबाटै गुगलमा घरको लोकेसन ट्रयाक गरी त्यहाँको गुगल कोड पत्ता लगाई त्यही गुगलको कोडमा चिठी पठाएको हुनसक्ने उपाध्याय बताउँछन् । उपाध्यायका अनुसार अमेरिकाबाट उक्त चिठी १२ फेब्रुअरीमा प्रेषित गरिएको रहेछ ।

उक्त चिठी कार्यालयमा आएसँगै त्यसको गुगलमा सर्च गरेर हेरियो । उक्त ठेगाना टोखा ग्रिनल्याण्ड स्कुल नजिकैको रहेछ । त्यसैका आधारमा सोमबारमात्रै उक्त चिठी कार्यालयबाट सम्बन्धित ठेगानाका लागि रवान भइसकेको छ ।

यसले चिठी आदानप्रदान गर्न तथा हुलाकलाई पनि लोकेशन पत्ता लगाउन समेत सहज भएको उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४