close

राइड शेयरिङ ‘टी-टिट’मा पहिलो दिनमै ह्याकरले फेला पारे ५० बढी बग

टेकपाना टेकपाना

चैत २, २०७७ १५:५५

राइड शेयरिङ ‘टी-टिट’मा पहिलो दिनमै ह्याकरले फेला पारे ५० बढी बग

काठमाडौं । राइड शेयरिङ एप टी-टिटले आफ्नो सिस्टमलाई सुरक्षा परीक्षणका लागि नेपालको पहिलो बगबाउन्टी प्लेटफर्म बगभीमा राखेको छ । टी-टिटले आफ्नो सेवालाई पूर्णरुपमा सार्वजनिक गर्नु अघि सम्भावित सुरक्षा कमजोरीहरुलाई समाधान गर्न बगभीमा आफ्नो सिस्टम राखेको हो । 

हालसम्म टी-टिटको साइटमा ५० भन्दा धेरै भल्नरेबिलिटीहरु पत्ता लागिसकेको बगभीका संस्थापक तथा साइबर सुरक्षा अनुसन्धानकर्ता नरेश लाम्गादेले बताए । तर कतिपय भल्नरेबिलिटीहरु दोहोरिएर रिपोर्ट भएको हुनसक्ने वा कम महत्वका हुनसक्ने भन्दै बग हन्टिङको प्रक्रिया पुरा भएपछि त्यसलाई विश्लेषण गरेर अन्तिम परिणाम कम्पनीलाई रिपोर्ट गर्ने उनको भनाई छ ।  

टी-टिटको सिस्टममा बग पत्ता लगाउने साइबर सुरक्षा अनुसन्धानकर्तालाई बगको गम्भीरताको प्रकृति अनुसार २५ देखि तीन सय डलरसम्म पुरस्कार प्रदान गरिने छ । टी- टिट नेपालमा सार्वनजिक हुने तयारीमा रहेको नयाँ राइड शेयरिङ एप हो ।

हालसम्म चालकहरुका लागि दर्ता प्रक्रिया शुचारु भए पनि सेवाग्राहीहरुको दर्ता प्रक्रिया सुचारु हुन बाँकी रहेको टी-टिटका सीईओ भूवन गिरीले बताए । यससँगै नेपालकै पहिलो बगबाउन्टी प्लेटफर्म बगभीमा आफ्नो सिस्टम सार्वजनिक गर्नुअघि नै भल्नरेबिलिटी परीक्षण गराउने टी-टिट पहिलो नेपाली स्टार्टअप कम्पनी बनेको छ ।

कुनै पनि कम्पनी वा संस्थाले आफ्नो सेवा सुचारु गर्नुअघि त्यसको सम्पूर्ण सिस्टमको सुरक्षा परीक्षण गराएको खण्डमा यसले कम्पनी तथा सेवाग्राहीको संवेदनशील जानकारी तथा गोपनीयता सुरक्षाको प्रत्याभूति गर्ने बगभीको विश्वास छ ।

हालसम्म बगभीमा साइबर सुरक्षाका १० वटा कम्पनी सूचिकृत भइसकेका छन् । त्यस्तै यसमा जोडिने ह्याकरको संख्या सात सय नाघिसकेको लाम्गादेको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१