close

होटेल-रेस्टुरेन्टको सस्तो डिजिटल मेनु, क्यूआर स्क्यान गरेरै अर्डर गर्न सकिने

टेकपाना टेकपाना

चैत १९, २०७७ १८:५८

होटेल-रेस्टुरेन्टको सस्तो डिजिटल मेनु, क्यूआर स्क्यान गरेरै अर्डर गर्न सकिने

काठमाडौं । होटेल-रेस्टुरेन्टका हरेक टेलबमा क्यूआर कोड । मोबाइलबाट क्यूआर कोड स्क्यान गरेर अर्डर गर्न सकिने ।

होटेल रेस्टुरेन्टको मेनु छाप्दा लाग्ने खर्च जोगिने । मेनुमा आवश्यकता अनुसार आफैं मूल्य वा आइटम थप घट गर्न सकिने । 

सिस्टम राख्न धेरै खर्च पनि नलाग्ने । वार्षिक ३ हजार रुपैयाँ अर्थात मासिक केवल २५० रुपैयाँ मात्र खर्च गरे पर्याप्त हुने ।

अहिले सजिलो डाइन नामक कम्पनीले होटेल तथा रेस्टुरेन्टलाई यस्तै सेवा उपलब्ध गराउन थालेको छ । हालै सुरु भएको यो सेवा प्रयोग गर्ने होटेल तथा रेस्टुरेन्टको संख्या अहिले करिब ३ दर्जन पुगेको छ ।

‘ग्राहकले खाना वा खाजा अर्डर गर्नुपर्दा वेटरलाई कुरिरहनु पर्दैन,’ कम्पनीका सीईओ रिसभ जैन भन्छन्, ‘ग्राहकले क्यूआर स्क्यान गरेर मेनुमा भएका परिकार रोजेर तुरुन्तै अर्डर दिनसक्छन् ।’

होटेल तथा रेस्टुरेन्टले यो सेवा लिनका लागि कुनै जटिल किसिमको सिस्टम, सफ्टवेयर वा एप इन्स्टल गर्नु पनि पर्दैन । आफ्नो मोबाइल वा ल्यापटपको ब्राउजरमा सजिलो डाइन खोले पुग्छ ।

कम्पनीले दिएको युजरनेम र पासवर्डबाट लगईन गरेरै होटेलको मेनु तथा अर्डरलाई डिजिटल बनाउन सकिने कम्पनीले जनाएको छ । यसका लागि होटेल र ग्राहकको डिभाइसमा इन्टरनेट हुन भने जरुरी छ । 

‘मोबाइलमा रहेको क्यामेरा तथा स्क्यानरबाट सहजै क्यूआर स्क्यान गर्न सकिन्छ,’ सीई‌ओ रिसभ भन्छन्, ‘हामी अब देशभर जाने योजना छौं ।’

यो सिस्टम राख्न चाहने होटेल, रेस्टुरेन्ट र रिसोर्टहरुले कम्पनीको वेबसाइटमार्फत सम्पर्क गर्न सक्नेछन् । सकेसम्म अर्डर प्राप्त भएकै दिन सिस्टम उपलब्ध गराइने कम्पनीका सहसंस्थापक अनुपम गोयलले बताए । चाँडै एप पनि ल्याउने कम्पनीको योजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३