close

एफटीटीएचले बढायो ल्याण्डलाइन फोनको प्रयोग

टेकपाना टेकपाना

चैत २१, २०७७ १४:३२

एफटीटीएचले बढायो ल्याण्डलाइन फोनको प्रयोग

काठमाडौं । पछिल्ला केही वर्षमा लगातार रुपमा घट्दै गएको ल्याण्डलाइन अर्थात तारयुक्त टेलिफोन सेवाको प्रयोग अप्टिकल फाइबर आएसँगै बढ्न थालेको छ । मोबाइल प्रविधिको लोकप्रियता बढेसँगै विगत तीन वर्षदेखि घट्दै गएको ल्याण्डलाइन तथा पीएसटीएन टेलिफोन सेवाको प्रयोग यस वर्ष बढेको हो ।  

नेपालमा सरकारी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मात्रै ल्याण्डलाइन टेलिफोन सेवा उपलब्ध गराउँदै आएको छ । अप्टिकल फाइबरमा आधारित एफटीटीएच इन्टरनेट सेवा सुरु भएसँगै कम्पनीले अहिले त्यसैमार्फत ल्याण्डलाइन र आईपीटिभी सेवा समेत दिन थालेको छ ।

यद्यपी एफटीटीएच मार्फत उपलब्ध गराउन थालिएको भ्वाइस सेवालाई एफटीटीएचमा आधारित फिक्स भ्वाइस सेवा भन्ने गरिएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार २०७४ को माघमा टेलिकमको ल्याण्डलाइन तथा फिक्स भ्वाइस सेवा प्रयोग गर्ने ग्राहकको संख्या ६ लाख ८५ हजार ८२३ रहेको थियो ।

तर त्यसयता लगातार रुपमा त्यसको प्रयोग घट्दै गत पुषसम्म आइपुग्दा ६ लाख ६ हजार ८५७ मा सीमित भइसकेको थियो । तर पछिल्लो समय एफटीटीएच प्रयोगकर्ताले समेत ल्याण्डलाइन सेवा लिन थालेपछि ल्याण्डलाइन टेलिफोन प्रयोग गर्नेको संख्या अहिलेसम्मकै उच्च भएको छ ।

प्राधिकरणका अनुसार हाल देशभर ६ लाख ९३ हजार २४८ नाघेको छ । जुन अहिलेसम्मकै उच्च हो । यद्यपी समग्रमा नेपालको भ्वाइस सेवामा फिक्स टेलिफोन सेवाको बजार हिस्सा समेत खुम्चिएको छ ।

३ वर्ष अघि कूल भ्वाइस टेलिफोनीमा २.९४ प्रतिशत बजार रहेको फिक्स भ्वाइस सेवाको हिस्सा हाल २.६९ प्रतिशतमा सीमित भएको छ । हाल नेपालमा मोबाइल (जीएसएम र सीडीएमए), एफटीटीएच तथा ल्याण्डलाइनसँगै डब्लूएलएल (वायरलेस लुप), भिस्याट र जीएमपीसीएस ७ किसिमको प्रविधिमा भ्वाइस सेवा उपलब्ध छ ।

जसमा प्रयोगमा रहेका जीएसएम मोबाइल सिमको संख्या ३ करोड ७० लाख ७५ हजार ७२७ रहेको छ भने दोस्रोमा रहेको सीडीएमए मोबाइल सिमको संख्या १६ लाख ९१ हजार ८५९ रहेको छ ।

त्यस्तै पीएसटीएन ल्याण्डलाइन फोनको संख्या पाँच लाख ९८ हजार ६०८, एफटीटीएच ल्याण्डलाइनको संख्या ९४ हजार ६४०, डब्लूएलएल एक लाख १८ हजार २१, जीएमपीसीएस प्रयोगकर्ता दुई हजार ९०५ र भीस्याट प्रयोगकर्ता ५८१ रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३