close

गुगल म्याप भर्सेस एप्पल म्याप: कुन अब्बल ?

टेकपाना टेकपाना

चैत २३, २०७७ २२:४

गुगल म्याप भर्सेस एप्पल म्याप: कुन अब्बल ?

काठमाडौं । नेभिगेसन एपमध्ये सबैभन्दा बढी प्रयोग हुने गुगल म्याप र एप्पल म्यापबीच झण्डै दशकदेखि प्रतिस्पर्धा हुँदै आइरहेको छ । गुगल र एप्पलले आफ्नो-आफ्नो फोनमा सुरुमै आफ्नो सेवालाई प्रिइन्स्टल गरिसकेका हुन्छन् ।

प्रति महिना एक अर्बभन्दा धेरै प्रयोगकर्ताहरुले गुगल म्यापको सेवा प्रयोग गर्ने गुगलको दाबी छ । जबकी दुई सय मुलुकहरुमा एप्पल म्यापको प्रयोगकर्ता १० करोड पुगेको एप्पलकै तथ्यांक छ । हामी तपाईंहरुलाई यी दुईमध्ये कुन उत्कृष्ट छ भन्ने तुलना देखाउछौ ।

गुगल म्याप भर्सेस एप्पल म्याप

उपलब्धता उपलब्धताको हिसाबले गुगल म्याप एप्पलभन्दा अगाडि छ । एप्पलका सेवाहरु एप्पलकै उपकरणमा मात्र उपलब्ध हुने एउटा सिमितताको नियमले पनि धेरै विस्तार हुन सकेको छैन ।

आईफोन, म्याक र एप्पल निर्मित अन्य उपकरणबाहेक यो नेभिगेसन एप अरुबाट एक्सेस गर्न पाइदैँन । यसको ठिक विपरित गुगल म्याप एन्ड्रोइड, विण्डोज, आईफोन, म्याक र एप्पलका कारप्लेमा समेत उपलब्ध छ ।

इन्टरफेस

धेरै वर्षको मेहेनत पछि गुगल र एप्पल म्याप दुवैको इन्टरफेस प्रयोग गर्न निकै सजिलो बनेको छ । प्रस्तुतीकरणको तरिका भने दुवैको फरक छ ।

एप्पल म्यापमा सबै कुरा प्रयोग गर्न सजिलो होस् भनेर एकै ठाउँमा राखिएको छ । रिसेन्ट सर्च हिस्ट्री, सेभ्ड लोकेसन तथा विजनेस वा ठाउँहरुको जानकारी सजिलै फेला पार्न सकिन्छ ।

सर्च बार पनि तपाईंले क्लिक नगरेसम्म देखा पर्दैन र त्यो हटाउन चाहेको खण्डमा माथिल्लो दायाँ कुनामा रहेको क्रस बटनलाई क्लिक गर्न सक्नुहुन्छ । यस्तै अर्को तिर गुगलको धेरै ठाउँमा बटन र टूलबारहरु छन् ।

फोनको सबैभन्दा माथि सर्च बार छ जसमा अकाउन्टको जानकारी र स्थानीय ठाउँहरु खोज्न छुट्टै विशेष बटनहरु पनि छन् । स्क्रिन मेनुमा भएको बटनबाट तपाईले धेरै एक्सप्लोर तथा फिचरहरु हेर्न सक्नुहुन्छ ।

तर तपाईंले स्क्रिनको मध्य भागमा ट्याप गर्दा यी सबै हराएर जान्छन् । यसैले इन्टरफेसको मामिलामा गुगलभन्दा एप्पल अगाडी छ ।

म्याप डिजाइन

म्याप डिजाइनको मामिलामा पनि एप्पलले इन्टरफेसमा जस्तै सजिलो र सिम्पल डिजाइनको उपाय लिएको छ । एप्पल म्यापभित्र धेरैभन्दा धेरै जानकारी भए पनि तपाईंले जूम इन नगरेसम्म यसले केही जानकारी पनि तपाईंलाई देखाउँदैन ।

गुगलले पनि जूम इन गर्दै जाँदा धेरै जानकारी देखाउदैँ जान्छ तर एप्पल म्यापको तुलनामा यसले तपाईंलाई सुरुमै धेरैभन्दा धेरै जानकारी देखाइदिन्छ । जानकारी दिने कुरामा दुवै बराबर छन् ।

कुनैमा केही कमी छैन । तर म्याप नेभिगेट गर्दै गर्दा जसरी गुगल म्यापले आवश्यकसँगै अनावश्यक कुराहरु देखाएर नेभिगेसनलाई झन्झटिलो र फोहोर बनाइदिन्छ ।

त्यो कुरा एप्पल म्यापमा देख्न पर्दैन । यी दुवै एप्लिकेसनमा डार्क मोड पनि छन् । अन्तिममा म्याप नेभिगेसनको मामिलामा गुगलको तुलनामा एप्पलको म्याप तपाईंको आँखामैत्री छ ।

नेभिगेसन

दुवै म्यापले तपाईको यात्रा प्रगति, समय र दूरीका कुराहरुलाई ट्रयाक गर्दछ । दुवैले तपाईंको रुटको अवस्था ट्राफिक, सडक जाम, बन्दजस्ता सबै कुराको जानकारी तपाईंहरुलाई दिन्छ । दुवै एपले वैकल्पिक रुटको पनि सुझाव दिन्छ ।

तर यी दुवैको सेवा यस मामिलामा गुगलको नेभिगेसन सफ्टवेयर एप जतिको राम्रो छैन । तर नेभिगेसनकै मामिलामा पनि यी दुई एपबीच केही फरक भने अवश्य छ ।

रुट परिवर्तन गर्ने अप्सन दुवै एपमा छैन । अझ टोल रोड (हिड्दा शूल्क लाग्ने रोड) त एप्पल म्यापले आफै स्किप गरिदिन्छ ।

प्रयोगकर्ताले टोल रोडलाई अनुमति दिन एप्पल म्यापको सेटिङ मिलाए पनि यसले त्यो विकल्प प्रयोगकर्तालाई दिदैँन । प्रारम्भिक रुट अफर गर्ने मामिलामा दुवै एप उस्तै छन् ।

तर वैकल्पिक रुटमा यी दुवैबीच फरक छन् । समग्रमा भन्नु पर्दा एप्पल म्यापको तुलनामा गुगल म्यापको नेभिगेसन राम्रो छ ।

ट्राफिक

यी दुवै एपसँग रियल टाइम ट्राफिक डेटामा एक्सेस छ । कुनै पनि रुटमा जाँदा उठाउनु पर्ने सम्भावित जोखिम बारे यी दुबैले जानकारी समेत दिन्छन् । चाहे सडक अवरोध होस् वा भारी ट्राफिक जाम ।

सडकमा हुने दुर्घटना, स्पिड क्यामेरा र यात्रालाई प्रभावित पार्ने सबै किसिमका समस्याविरुद्ध रिपोर्ट गर्ने फिचर दुवै एपमा छन् । तर गुगलको ‘कम्युट फिचर’ का कारण गुगल म्यापमा अलिक धेरै लाभ पाउन सकिन्छ ।

गुगल म्यापको सेटिङमा एकपटक घर र कार्यस्थलको लोकेसन सेटअप गरिसकेपछि कम्युटलाई टयाप गरेको खण्डमा तपाईको सम्भावित यात्राको झलक यसले दिन्छ । जस्तै यात्रा कति लामो हुन्छ, कस्तो बाटो भएर हिड्नुहुन्छ र सडक कति सुरक्षित छ यी सम्पूर्ण कुरा यसले तपाईंलाई बताउने छ ।

यदि कुनै रुट तपाईंलाई मन परेन भने अन्य रुट हेर्न सक्नुहुन्छ । यसबाहेक गुगल म्यापले तपाईंलाई आफ्नो आगमन र जाने समय पनि म्यापमा सेट गर्न सहयोग गर्दछ जुन एप्पल म्यापले गर्दैन ।

एप्पल क्यालेण्डरमा ट्राभल टाइम फिचर छ जसले यस्तै काम गर्दछ । कम्युट फिचरका कारण ट्राफिकको फिचरमा पनि एप्पल म्यापभन्दा गुगल म्याप नै अगाडी छ ।

सार्वजनिक यातायात

दुवै एपको सेवामा धेरैवटा ट्रान्जिट अथोरिटी, समयतालिका, राइड शेयरिङ सेवा र स्टाटस अपडेटका डेटाहरु छन् । तर गुगल म्याप प्रयोकगर्ता कता छन् भन्ने जानकारी गुगलसँग हुन्छ र ऐतिहासिक तथा क्राउडसोर्स डेटाका कारण तत्कालिन समयमा कुनै पनि सार्वजनिक यातायात कत्तिको व्यवस्त छ भन्ने कुराको जानकारी गुगलसँग हुन्छ ।

यति भएपछि कम्युट फिचरमा जस्तै प्रयोगकर्ताले यात्रा र रुटलाई अनुमान गरी नयाँ रुट लिन सक्छन् । हालसम्म यो फिचर एप्पलमा छैन ।

तर आईओएस १४.५ बेटा भर्सनमा गुगल म्यापको लाइभ स्टाटस एप्पल म्याप्समा पनि आउने क्रममा रहेको बुझिएको छ यद्यपी गुगलमा हाल यो फिचर भएको कारण सार्वजनिक यातायातको मामिलामा पनि अहिले गुगल म्याप नै अगाडी छ ।

ह्याण्ड्स फ्रि कन्ट्रोल

यदि तपाईं गाडी वा बाइक कुदाउँदै हुनुहुन्छ भने ह्याण्ड्स फ्रि कन्ट्रोल एउटा महत्वपूर्ण कुरा हो । किनभने यी काम गरिरहँदा तपाईं लगातार फोनमा ट्याप गरिरहन सक्नुहुँदैन ।

यी दुवैसँग ह्याण्ड्स फ्रि कन्ट्रोल फिचर त छन् तर दुवैले फरक तरिकाले काम गर्छन् । एप्पलको म्याप सिरीसँग कनेक्ट छ जुन हरेक आईफोनमा बाई डिफल्ट इन्स्टल हुन्छ ।

सिरीले अहिले गुगल म्यापमा पनि काम त गर्छ तर कता कमाण्ड गर्ने हो भन्ने कुरा तपाईंले आफै सेट गर्नु पर्ने हुन्छ । यदि तपाईंले सिरीलाई गुगल म्याप खोल्न अह्राउनु भयो भने उसले गुगल होइन एप्पल म्याप खोलिदिन्छ ।

बरु यसको सट्टा तपाईंले गुगल असिस्टेन्ट डाउनलोड तथा सेटअप गर्नसक्नुहुन्छ अनि स्क्रिनको तलतिर रहेको माइक्रोफोन आइकनमा ट्याप गरी भ्वाइस कमाण्ड दिन सक्नुहुन्छ । यसै गरी एन्ड्रोइड उपकरणमा पनि गुगल म्याप र गुगल असिस्टेन्ट सुरुदेखि नै इन्स्टल हुन्छन् ।

यसैले यसमा ह्याण्ड्स फ्रि कमाण्ड फिचर हुन्छ । तर एप्पलमा म्याप एन्ड्रोइडमा तपाईंले प्रयोग गर्न पाउनु हुँदैन । चाहे तपाईं जुनसुकै उपकरण प्रयोग गर्नुहोस् ।

तर सडकमा सवारी कुदाइरहेको समय तपाईं स्क्रिनमा ट्याप गरिरहन सक्नुहुन्न । यस्तो बेला दुवै डिभाइसमा भ्वाइस असिस्टेन्ट टूल त हुन्छन् । यसैले यो अवस्थामा यी दुवै एप बराबर छन् ।

स्ट्रिट भ्यू

आफ्नो तरिकाले सडक हेर्न चाहानुहुन्छ भने स्ट्रिट भ्यू मोड तपाईंको लागि सहयोगी टूल बन्न सक्छ । किनभने यसले कुनै पनि लोकेसनलाई तपाईंको दृष्टिकोणबाट देखाइदिन्छ ।

गुगल स्ट्रिट भ्यू २००७ देखि अस्तित्वमा छ । अहिलेसम्म यो विश्वभर फैलिसकेको छ । यसलाई एक्सेस गर्ने तरिका पनि सजिलै छ ।

मात्र तपाईंले म्यापलाई स्ट्रिट भ्यू अप्सनमा परिवर्तन गर्नुपर्ने हुन्छ र निलो रङ्गले हाइलाइट भएका ठाउँहरुलाई क्लिक गर्नु पर्ने हुन्छ । यस्तै एप्पलको पनि स्ट्रिट भ्यू मोड छ जसलाई ‘लुक अराउण्ड’ भनिन्छ ।

सन् २०१९ को अन्त्यतिर सार्वजनिक भएको यो सेवा अहिले विस्तारै अमेरिका, बेलायत, आयरल्याण्ड र क्यानडाका मूख्य शहरहरुमा विस्तारै फैलिदैँछ ।

यो मोडलाई एक्सेस गर्न र यसबाट नेभिगेट गर्न अलिक अप्ठ्यारो छ । यसैले स्ट्रिट भ्यू मोडमा पनि एप्पलको तुलनामा गुगल म्याप अगाडी छ ।

गोपनीयता

गोपनीयताको मामिलामा एप्पल कम्पनी सधै अग्रस्थानमा छ । यसबाट एप्पलको म्याप पनि फरक छैन ।

गोपनीयता र नेभिगेसन यी दुई एकअर्कासँग नमिल्ने हुँदा एप्पलले गोपनीयतालाई सुनिश्चित गर्ने प्रक्रिया ‘फूजिङ’ विकास गर्यो । यसले तपाईंको नेभिगेसन रिक्वेस्टमा गोपनीयता प्रदान गर्दछ ।

तपाईंले कहाँ कुन कुरा सर्च गर्दै हुनुहुन्छ भन्ने कुराको जानकारी एप्पल आफैले पनि राख्दैन । साथै एक्सर्टनल सर्भरमा पुग्ने कुनै पनि सूचनाहरु तपाईंको एप्पल आईडीसँग सम्बन्धित हुँदैन ।

एप्पल म्यापसँग सम्बन्धित कुनै पनि व्यक्तिगत डेटा सर्भरमा नभई तपाईंकै डिभाइसमा सुरक्षित भएर बस्छ । यसको मतलब सेटिङमा गएर जुनसुकै समय डेटा मेट्न सक्नुहुन्छ ।

तर गुगल म्यापसँग यी कुनै पनि फिचर छैनन् । गुगलले आफ्नो एडलाई पर्सनलाइज गर्न तपाईंका सम्पूर्ण नेभिगेसन तथा यात्राका इतिहासलाई रेकर्ड गरेर दुरुपयोग गर्दछ ।

त्यसो त क्रोम ब्राउजरमा जस्तै गुगल म्यापमा पनि इनकग्निटो मोड छ जसले तपाईंको डेटाको एक्सपोजर हुनबाट रोक्न सक्छन् । तर यसले पनि गुगल सर्भरमा पुग्ने सबै कुरालाई त रोक्न सक्दैन ।

अन्ततः कुन उत्कृष्ट ?

एप्पल म्यापको तुलनामा गुगल म्याप राम्रो बन्नुको पछाडी एउटै कारण हो गुगलको डेटा संकलनको अभ्यास । एप्पल म्याप सधै प्रयोगकर्ताको गोपनीयतामा केन्द्रित रहने हुँदा आफ्नो एपमा सुधार गर्न यसले हाम्रो डेटा प्रयोग गर्न सक्दैन ।

यसैले गुगलसँग रियल टाइम अपडेट देखाउने धेरै फिचरहरु छन् । तर सँगै गुगल म्यापले तपाईंको हरेक गतिविधिलाई पनि ट्रयाक गरिरहेको हुन्छ ।

ती डेटालाई आफ्नो फाइदाका लागि दुरुपयोग गरिरहेको हुन सक्छ। तपाईं सहजतालाई महत्व दिनु हुन्छ वा गोपनीयतालाई यी कुराले कुन एप उत्कृष्ट भन्ने कुरालाई निर्धारण गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१