close

स्मार्ट टेलिकमले असार मसान्तसम्म नवौं किस्ता तिर्ने, बक्यौता रकम ४ अर्ब ८३ करोड

टेकपाना टेकपाना

बैशाख ९, २०७८ १६:३

स्मार्ट टेलिकमले असार मसान्तसम्म नवौं किस्ता तिर्ने, बक्यौता रकम ४ अर्ब ८३ करोड

काठमाडौं । नेपालको तेस्रो ठूलो टेलिकम कम्पनी स्मार्ट टेलिकम प्रालिले चैत मसान्तसम्म तिर्नुपर्ने नवौं किस्ताबापतको रकम असार मसान्तमा तिर्नेभन्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ ।

यसअघि सरकारले बाँकी बक्यौता तिर्न स्मार्ट टेलिकमलाई आउँदो असार मसान्तसम्मको समय अवधि दिएकाले त्यसैलाई आधार मानेर स्मार्टले यस्तो पत्र पठाएको हो ।

याेसँगै स्मार्ट टेलिकमले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम ४ अर्ब ८३ करोड पुगेको छ । विभिन्न चरणको किस्ता साथै फ्रिक्वेन्सी लगायतको शुल्क बक्यौताको रुपमा रहेको हुँदा यसअघि नियामक प्राधिकरणले स्मार्टको अनुमतीपत्र खारेज गरेको थियो । प्राधिकरणले अनुमति खारेज गरेको भएतापनि सरकारबाट जीवनदान पाएको थियो ।

गएको भदौ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले स्मार्टलाई फागुन मसान्तसम्म (अन्तिम पटक) को समय अविधिसम्म अवधि दिएर जीवनदान गरेको थियो । त्यसबेला फागुन मसान्तसम्म बक्यौता नतिरे सरकारको अधिनमा लिने गरी काम अघि बढाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

साथै फागुन मसान्तसम्म स्मार्ट टेलिकमले पहिलो किस्ताको रकम जरिवानासमेत बुझाउन नसकेको खण्डमा कम्पनीको लाइसेन्स खारेजीको सम्बन्धमा आवश्यक कानूनी प्रक्रिया अपनाउन समेत प्राधिकरणलाई त्यसबेला निर्देशन दिएको थियो ।

मन्त्रिपरिषदको उक्त निर्णयमा भनिएको थियो, ‘इजाजत पत्रको नवीकरण दस्तुरको (आठौं किस्ता) तिर्नुपर्ने रकमका लागि पनि अन्तिम पटक फागुन मसान्तसम्मको अवधि कायम गरिएको छ । उक्त अवधिमा पनि कम्पनीले आफूले तिर्नुपर्ने बक्यौता रकम नतिरेको खण्डमा ग्राहकको सेवा निरन्तरता, सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने सम्बन्धमा उपयुक्त व्यवस्था गर्नू ।’

त्यसबेला सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने सम्बन्धमा कानुन नहुँदा सरकारले स्मार्टलाई आफ्नो अधिनमा ल्याएर सञ्चालन गर्न सक्ने कुनै आधार थिएन् । कानुन निमार्ण गरी प्राधिकरणले मन्त्रालयमा पठाएको भएतापनि त्यहाँबाट उक्त कानुन अघि बढ्न सकेको छैन् । यसै बिच स्मार्टलाई सरकारले त्यसबेला दिएको फागुन मसान्तको समय पनि गएको फागुन सकियो ।

उक्त समयमा पनि कम्पनीले आफु विदेशी लगानी भित्र्याउने तयारीमा रहेकाले त्यसका लागि थप केही समय आवश्यक पर्ने भनी पुनः सरकारलाई निवेदन दिएको थियो । साथै उसले समय थप भएको मितिले १५ दिनभित्र १० करोड बुझाउने पनि स्मार्टले जनाएको थियो । स्मार्टको उक्त निवेदनका आधारमा सरकारले पुनः स्मार्टलाई आउँदो असार मसान्तसम्मको समय अवधि दिएको छ ।

सरकारले दिएको असार मसान्तसम्मको समय अवधि नवौं किस्तामा पनि लागू हुने भन्दै स्मार्टले पत्र पठाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताएका छन् ।

पौडेलका अनुसार प्राधिकरणले केही समयअघि स्मार्ट टेलिकमलाई पत्र पठाउँदै फ्रिक्वेन्सी र लाइसेन्स दस्तुरबापत नवौं किस्तामा करिब एक अर्ब ७० करोड रुपैयाँ बुझाउन भनेको थियो ।

तर, स्मार्टले उक्त पत्रको जवाफमा नवौं किस्ता बुझाउन असार मसान्तसम्मको समय अवधि भएको जवाफ दिएको छ ।

जुन सरासर गतल भएको पौडेल बताउँछन् । भन्छन, ‘सरकारले स्मार्टलाई आठौं किस्तासम्मको रकमका लागि उक्त अवधि दिएको हो । सरकारले असार मसान्तसम्मको समय अवधि दिँदा स्मार्टको नवौं किस्ताको विषयमा कुनै कुरा भएको थिएन । त्यसैले अब प्राधिकरणले यो विषयमा आवश्यक निर्णय गरी पुनः स्मार्टलाई जानकारी गराउने छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१