close

फाइभजी परीक्षणका लागि तयारीमा जुट्यो नेपाल टेलिकम

टेकपाना टेकपाना

बैशाख १२, २०७८ १२:५०

फाइभजी परीक्षणका लागि तयारीमा जुट्यो नेपाल टेलिकम

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम फाइभजी सेवा परीक्षणका लागि आवश्यक तयारीमा जुटेको छ । टेकपाना मिडियाले शनिबार आयोजना गरेको ‘फाइभजी र नेपालको तयारी’ विषयक अन्तरक्रिया कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले यसको जानकारी दिएका हुन् । 

अधिकारीका अनुसार कम्पनीले फाइभजी परीक्षणका लागि छुट्टै कमिटी गठन गरेर अध्ययन सुरु गरिसकेको छ । ‘सरकारले फाइभजीमा जाने निर्णय यस अघि नै गरिसकेको छ । त्यस अनुरुप नेपाल टेलिकमलाई फाइभजी परीक्षणका लागि निःशुल्क रुपमा फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय समेत भइसकेको छ ।

‘हामीले त्यसका लागि नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट एउटा पत्र समेत पाइसकेका छौं,’ टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले भने, ‘त्यसमा फाइभजी परीक्षणका लागि प्रस्ताव बुझाउन भनिएको छ । नेपालको सन्दर्भमा  कुन स्पेक्ट्रम प्रभावकारी हुन्छ भन्ने विषयमा हामीले कमिटी बनाएर अध्ययन सुरु गरिसकेका छौं ।’

अबको केही समयमा नियामकलाई यस सम्बन्धमा कम्पनीको धारणा, परीक्षण मोडालिटी आदि विषयमा प्रस्ताव पेश गर्ने तयारी रहेको उनको भनाइ थियो । सरकारको नियमनकारी निकाय सेवाप्रदायकको नियमनमै सीमित रहेको भन्दै अधिकारीले अनुसन्धान र विकासको क्षेत्रमा समेत काम गर्न आवश्यक रहेकोमा जोड दिए ।

‘फाइभजीको तयारीमा मानव संसाधन तथा पूँजीको कुरा महत्वपूर्ण हुन्छ,’ उनले अगाडि भने, ‘फाइभजी परीक्षण गर्नका लागि हामीसँग दक्ष जनशक्ति छ कि छैन ? फाइभजीमा एआर, भीआर, क्लाउड कम्प्युटिङका कुराहरु छन् । भर्चुअलाइजेसनका कुराहरु छन् । त्यसलाई पकड्नसक्ने किसिमको जनशक्ति हामीसँग छ कि छैन ?’

यस किसिमका कुराहरुमा पनि तयारी थाल्नुपर्ने उनको सुझाव थियो । फाइभजीका लागि आवश्यक पूर्वाधारमा कम्पनीले यस अघि देखिनै काम सुरु गरिसकेको छ । यसका लागि आवश्यक ब्याकबोन तहमा प्रमुखताका साथ काम भइरहेको अधिकारीले बताए । 

‘एक्सेस नेटवर्कमा हामीले धेरै मात्रामा फाइबर जडान गरिरहेका छौं । नौ लाख लाइन बराबरको फाइबरको योजना सम्पन्न हुँदै गरेको अवस्थामा साढे ४ लाख घरमा फाइबर सेवा दिने गरी हाम्रो नेटवर्क तयार भइसकेको छ,’ उनले भने, ‘त्यसमध्ये करिब डेढ लाख घरमा हामीले छोटो समयमै अप्टिबल फाइबर पुर्‍याउन आँटिसकेका छौं ।’

सामान्य प्रयोगकर्ताको इन्टरनेट एक्सेस गर्ने, ब्राउजिङ गर्ने, सञ्चार गर्ने, भ्वाइस चलाउने सबै आवश्यकता फोरजीले नै पुरा गर्ने भन्दै प्रबन्ध निर्देशक अधिकारीले यस्तोमा फाइभजी किन भन्ने चुनौती रहेको बताए ।

‘फाइभजी सिस्टमभित्र हामी इनहान्स्ड माेबाइल ब्राेडब्याण्ड (eMBB), म्यासिभ मसिन टाइप्स कम्युनिकेशन (mMTC) र अल्ट्रा रिलायबल लाे ल्याटेन्सी (uRLLC) का कुरा गर्छौं, त्यसका एप्लिकेसनका कुरा गर्छाैं,’ उनले भने, ‘स्मार्ट सिटीमा जाने विषय छ‍ । कृषिदेखि लिएर मेडिकल शिक्षा र विज्ञान सबै क्षेत्रमा हामीले जाने कुरा गरेका छौं भने सुरुवाती चरणमा सेवाप्रदायकलाई व्यावसायिक मुनाफा हुन्न भन्ने लाग्छ ।’

यद्यपि यसले समग्रमा मुलुको कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) मा ठूलो योगदान दिन सक्छ । एउटा अध्ययनले सन् २०२५ सम्म फाइभजी कनेक्टिभिटीले जीडीपीमा २.५ प्रतिशत योगदान दिनसक्ने कुरा देखाएको छ । 

यस हिसाबले समग्र अर्थतन्त्रलाई यसले महत्वपूर्ण योगदान पुर्‍याउने छ । तर सुरुवाती दिनहरुमा लगानीकर्ताको तहमा भने यसबाट रिटर्न अर्थात प्रतिफल नआउने सम्भावना बढी रहेको अधिकारीको भनाई थियो ।

त्यस्तो अवस्थामा नियामक र सरकारले यसका लागि प्रयोग हुने स्पेक्ट्रमको मूल्य घटाउने र लगानी तथा सुविधामा सहजीकरण गर्ने काम गर्नुपर्ने सुझाव उनले दिए । ‘अहिले फाइभजीमा जाने हाम्रो जुन किसिमको अग्रसरता छ, विभिन्न देशको अनुभवले बजार र डिभाइस इकोसिस्टम सुहाउँदो नीति अपनाउनुपर्ने आवश्यकता देखिन्छ,’

अधिकारीले अगाडि भने, ‘हाम्रो नियामकले हाई ब्याण्डको रुपमा २६०० र ३५०० मेगाहर्ज र लो ब्याण्डको रुपमा ७०० मेगाहर्ज प्रस्ताव गरेको छ । तर डिभाइस इकोसिस्टमको कुरा हेर्ने हो भने अहिले सबैभन्दा बढी सपोर्ट गर्ने ३५०० मेगाहर्ज छ र त्यसपछि २६०० मेगाहर्ज छ ।’

यस्तो अवस्थामा डिभाइस इकोसिस्टममा ध्यान नदिने हो भने असहज अवस्था निम्तिन सक्ने चिन्ता समेत उनले व्यक्त गरे । 

फाइभजी सेवा कुन सहरमा कुन प्रयोजनका लागि परीक्षण गर्ने, ग्रामीण र पहाडी क्षेत्रमा कुन विषयमा त्यसलाई व्यवसायिकीकरण गर्न सकिन्छ लगायतका विषयका आधारमा कम्पनीले फाइभजी परीक्षण गर्ने प्रबन्ध निर्देशक अधिकारीको भनाइ थियो ।

‘परीक्षण गरिसकेपछि हामी त्यसै अनुरुप नियामकलाई सिफारिस गर्छौं,’ अधिकारीले भने, ‘त्यसले नेपालमा फाइभजीलाई अगाडि लैजान मार्ग प्रशस्त गर्नेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१