close

वर्ल्डलिङ्कका अध्यक्ष अग्रवाललाई प्रश्न : नेपालीले २-३ सय रुपैयाँमा इन्टरनेट कहिले पाउँछन् ?

टेकपाना टेकपाना

बैशाख १८, २०७८ १८:३६

वर्ल्डलिङ्कका अध्यक्ष अग्रवाललाई प्रश्न : नेपालीले २-३ सय रुपैयाँमा इन्टरनेट कहिले पाउँछन् ?

काठमाडौं । नेपालमा इन्टरनेट सेवालाई कसरी सर्वसुलभ बनाउन सकिन्छ भन्ने विषयमा बारम्बार बहस भइरहन्छ । उपभोक्ताले इन्टरनेटको गुणस्तर र शुल्कलाई लिएर प्रश्न गरिरहन्छन् । अर्कोतर्फ सेवाप्रदायकले नेपालमा विभिन्न चुनाैतीका बावजुद प्रतिस्पर्धी मूल्यमै इन्टरनेट दिइरहेकाे बताउने गरेका छन् ।

शनिबार टेकपाना डटकमले आयोजना गरेको ‘दूरसञ्चार क्षेत्रको नीतिगत बहस श्रृंखला’ अन्तर्गत ‘दूरसञ्चार पूर्वाधारको सहप्रयोग’ विषयक भर्चुअल कार्यक्रममा बाेल्दै वर्ल्डलिङ्कका अध्यक्ष दीलिप अग्रवालले नेपालीहरूले सस्ताे मूल्यमै इन्टरनेट पाइरहेकाे तर्क गरे ।

‘नेपालीले २-३ सय रुपैयाँमा इन्टरनेट कहिले पाउँछन् ?’ भन्ने प्रश्नमा उनले भने, ‘नेपालीहरुले अन्तराष्ट्रिय स्ट्याण्डर्डको आधारभूत ब्रोडब्याण्ड साढे दुई सयमै पाइरहेका छन् ।’

सस्तो मूल्यमा फाइबर इन्टरनेट प्रदान गर्ने नेपाल शीर्ष पाँच मुलुकमै पर्ने अग्रवालको दाबी छ । अन्तर्राष्ट्रिय स्ट्याण्डर्डको आधारभूत ब्रोडब्याण्डको मूल्य प्रतिव्यक्ति आयको तीनदेखि चार सय हुनु पर्नेमा नेपालीहरुले साढे दुई सयमै ब्रोडब्याण्ड सेवा पाइरहेको उनकाे भनाइ छ ।

एउटा ब्रोडब्याण्डले औषतमा पाँचजना व्यक्तिलाई सेवा दिइरहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क प्रस्तुत गर्दै उनले नेपाल टेलिकमले ८ सयदेखि र अन्य सेवाप्रदायकले हजार रुपैयाँसम्मको प्याकेज प्रदान गरिरहेको हुँदा जनताले साढे दुई सयसम्ममा ब्रोडब्याण्ड सेवा पाइरहेको बताए ।

उनले सिङ्गो ब्रोडब्याण्डको आधारभूत शुल्क न्यून नै रहेकाे र तर, बुझाइमा अस्पष्टता र भ्रम रहेकाे तर्क गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१