close

विण्डोज टेनका ८ ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ

टेकपाना टेकपाना

बैशाख १८, २०७८ २१:३२

विण्डोज टेनका ८ ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ

काठमाडौं । प्रायजसो धेरैले विण्डोज पीसी प्रयोग गरिरहेका हुन्छन् । पर्सनल कम्प्युटरको कुरा गर्ने हो भने माइक्रोसफ्ट विण्डोज टेनको बजार हिस्सा करिब ७० प्रतिशतभन्दा बढी छ ।

यस्तोमा यो कुरा निश्चित छ कि विण्डोज टेन प्रयोगकर्ताबीच निकै नै लोकप्रिय छ । माइक्रोसफ्टका अनुसार अहिले १ अर्बभन्दा धेरै ल्यापटप तथा कम्प्युटरमा विण्डोज टेन अपरेटिङ सिस्टम रन भइरहेको छ ।

विण्डोज टेन सार्वजनिक भएको ६ वर्षभन्दा धेरै भइसकेको छ । तर अझै पनि यसका कतिपय फिचर र ट्रिक्स धेरै प्रयोगकर्तालाई थाहा छैन ।

यसमा तपाईंले स्टार्टअप प्रोसेसको स्पिड बढाउनेदेखि हराएका फाइलहरु खोज्ने, प्रयोग गरिरहेको प्रोग्राम बन्द गर्ने लगायतका सबै काम तपाईँले विण्डोज टेनमा सहजै गर्न सक्नुहुन्छ ।

साथै विण्डोज टेनका धेरै पक्षहरुलाई कस्टमाइज समेत गर्न सकिन्छ । आज हामी तपाईंलाई विण्डोज टेनका यस्तै दश ओटा ट्रिक्सका बारेमा बताउँदै छौं ।

१. छिटो स्क्रोल गर्न कीबोर्डको ट्रिक

तपाईंसँग राम्रो स्क्रोल ह्विल भएको फेन्सी माउस छ भने स्क्रोल गर्न एकदमै सजिलो हुन्छ । तर यदि माउसले राम्रो काम गरिरहेको छैन भने कीबोर्डको प्रयोग गर्नुहोस् । 

ब्राउजर खोल्नुहोस् र पेजलाई तलतिर स्क्रोल गर्न स्पेसबारमा थिच्नुहोस् । अब माथि स्क्रोल गर्न चाहानुहुन्छ भने सिफ्ट की र स्पेसबारलाई एकसाथ थिच्नुहोस् ।  

तपाईँले जुनसुकै ब्राउजरमा यो ट्रिक प्रयोग गर्न सक्नुहुन्छ । यदि यसो गर्दा काम भएन भने आफूले चलाउन खोजेको पेजको ब्याकग्राउण्डमा क्लिक गरिदिनुहोस् । 

२. आफ्नो सिक्रेट मेनुमा एक्सेस गर्नुहोस् 

तपाईंको विण्डोज स्टार्ट मेनु ल्यापटपको बायाँ तर्फ सबैभन्दा तल्लो कुनामा हुन्छ । त्यहाँ क्लिक गरेपछि तपाईंले आफूले सर्वाधिक प्रयोग गर्ने प्रोग्रामका साथै कम्प्युटर सेटिङको पावर अप्सन र सर्टकट देख्न सक्नुहुन्छ ।

तर के तपाईंले कहिल्यै सिक्रेट स्टार्ट मेनुको बारेमा सुन्नु भएको छ ? आफ्नो किबोर्डको विण्डोज की र एक्स कीलाई एकसाथ ट्याप गर्नुहोस् ।

यसो गर्दा तपाईं एड्भान्स मेनुमा पुग्नुहुन्छ, जहाँ डिभाइस म्यानेजर, टास्क म्यानेजर तथा डिस्क म्यानेजर जस्ता अप्सनहरु हुन्छन् । यो चलाउन एकदमै सजिलो, शर्टकट र सफा हुन्छ । 

३. डिस्क क्लिनअप टूलको मद्दतले फोहोर हटाउनुहोस् 

नयाँ कम्प्युटरमा फाइल व्यवस्थापन गर्न धेरै गाह्रो काम हो । अनावश्यक फाइल डिलिट गर्नेदेखि आवश्यक फाइल सही तरिकाले फोल्डरमा मिलाएर राख्नुपर्ने हुन्छ । डेस्कटपलाई सफा गर्नुपर्छ ।

यदि तपाईंको डेस्कटमा धेरै अनावश्यक कुराहरु छन् र स्पेस खाली गर्न तिनलाई सफा गर्नुपर्ने छ भने सबैभन्दा पहिले स्क्रिनको तल बायाँ भागमा जानुहोस् । त्यहाँ टास्कबारमा ‘Disc Cleanup’ सर्च गर्नुहोस् र त्यसलाई खोल्नुहोस् ।

जब तपाईंले डिस्क क्लिनअप एप खोल्नुहुन्छ तब एउटा ड्रप डाउन मेनु देख्नुहुन्छ, जसले तपाईंलाई सफा गर्न चाहेको ड्राइभ छनौट गर्ने मौका दिन्छ ।

यहाँबाट तपाईंले डाउनलोड प्रोग्राम फाइल, टेम्पोररी क्यास इन्टरनेट फाइल, विण्डोज इरर रिपोर्ट, रिसाइकल बिन कन्टेन्ट जस्ता विभिन्न फाइलहरुलाई डिलिट गरेर तपाईंले स्पेस खाली गर्न सक्नुहुन्छ । 

४. दुईवटा क्विक की स्ट्रोक्सको सहयोगले जूम ईन र जूम आउट गर्नुहोस् 

आफूले हेरिरहेको वेब पेजलाई ठूलो वा सानो बनाएर हेर्न मन छ भने जूम ईनका लागि कन्ट्रोल कीसँगै माथि रहेको प्लस बटन थिँच्नुहोस् ।

यस्तै वेब पेज जूम आउट गर्न कन्ट्रोलसँग माइनस बटन थिँच्नुहोस् । यदि पुरै स्क्रिनमा जूम ईन गर्न चाहानुहुन्छ भने विण्डोज बटनसँगै प्लस बटन थिँच्नुहोस् । 

५. स्क्रिनशट्स लिनुहोस् 

जब स्क्रिनशट्सको कुरा आउँछ, त्यसका लागि धेरै अप्सनहरु हुन्छन् । केही उपयोगी अप्सनबारे यहाँ बताउँदै छौं ।  

क) यदि स्क्रिनको सिङ्गल भाग लिने हो भने विण्डोज की, सिफ्ट अनि एस बटन एकसाथ थिच्नुहोस् । यसो गर्दा स्निप र स्केच आउँछ र स्क्रिनसट्सको लिन चाहेको भागलाई कर्सरले कोरेर तान्नुहोस् ।

अब यसलाई आफ्नो क्लिपबोर्डमा जोड्नुहोस् । त्यो इमेज स्क्रिनको दायाँ कुनामा तल्लो भागमा पपअप हुन्छ ।

यदि तपाईंले यसलाई सही समयमा क्याच गर्नु भएन भने टास्कबारको दायाँतिर रहेको नोटिफिकेसन आइकनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईँले स्निप इमेज देख्नुहुनेछ, त्यसलाई सेभ गर्न क्लिक गर्नुहोस् । 

ख) पुरै स्क्रिनलाई क्याप्चर गर्न विण्डोज की र प्रिन्ट स्क्रिन कीलाई एकसाथ क्लिक गर्नुहोस् । अब फोटोज एपमा गएर आफ्नो स्क्रिन सट्स हेर्नुहोस् । 

ग) पुरै ईमेल वा वेबपेजको स्क्रिनसट्स लिने चाहनुहुन्छ भने ब्राउजर एक्सटेन्सन उपयुक्त अप्सन हो । क्रोम र माइक्रोसफ्ट एजमा गोफूलपेजमा स्क्रिनशट्सका लागि तपाईंले निःशूल्क भर्सन पाउनुहुनेछ ।

५. ईमोजी

ईमोजीको प्रयोग स्मार्टफोनमा मात्र नभएर ल्यापटप तथा कम्प्युटरमा समेत बनाउन सकिन्छ । कम्प्युटरको किबोर्डको सहयोगमा तपाईंले सहजै ईमोजी तयार पार्न सक्नुहुन्छ ।

यसका लागि तपाईंले विण्डोज की र फुल स्टप की एकसाथ दबाउनुपर्ने हुन्छ । यति गरिसकेपछि तपाईंले एउटा नयाँ स्क्रिन देख्नुहुनेछ, जसमा ईमोजी दिइएका हुन्छन् । अब तपाईंले माउसको सहयोगमा यसमा रहेका कुनै पनि ईमोजी छानेर प्रयोग गर्न सक्नुहुन्छ । 

६. कपी पेस्ट

त्यसो त कपी पेस्ट सबैजसो प्रयोगकर्ताका लागि सामाान्य विषय हो । विण्डोज टेनको क्लिपबोर्ड हिस्ट्री फिचरको प्रयोग गरेर तपाईंले कपी पेस्टलाई अझ सहज र प्रभावकारी बनाउनु सक्नुहुन्छ ।

यसको माध्यमबाट तपाईंले सबै कपी गरिएका सामग्रीलाई एकसाथ एउटै स्थानमा स्टोर गर्न सक्नुहुन्छ । यो फिचर विण्डोजमा पहिले थिएन ।

यसका लागि तपाईंले विण्डोज कीको साथमा भी दबाउनुपर्ने हुन्छ । त्यसपछि क्लिपबोर्ड हिस्ट्री खुल्नेछ र तपाईंले त्यसलाई सेट गर्न सक्नुहुनेछ ।

तपाईंले सबै कपी गरिएका विषयवस्तुलाई क्लिपबोर्ड हिस्ट्रीको रुपमा देख्न सक्नुहुनेछ । जसलाई डबल क्लिक गरेर प्रयोग गर्न सकिन्छ । 

यसबाट के हुन्छ भने तपाईंले एकपछि अर्को गर्दै विभिन्न टेक्स्टहरु कपी गर्दै जान सक्नुहुन्छ र त्यसलाई एकै ठाउँमा पाउन सक्नुहुन्छ । एक एक गर्दै कपी पछि पेस्ट गरिरहनु पर्दैन ।

७. फोकस असिस्ट

विण्डोज टेनमा एउटा फोकस असिस्ट फिचर रहेको छ । यो डु नट डिस्टर्ब फिचर जस्तै हो । यसलाई अन गरेपछि तपाईंले नोटिफिकेसन देख्न सक्नुहुन्न ।

यसमा तीन वटा विकल्प हुन्छन् । जसमा टर्न अफ, प्रायोरिटी र अलार्म मोड रहेका छन् ।

जसलाई तपाईंले आफ्नो आवश्यकता र अनुकुलतामा सेट गर्न सक्नुहुन्छ । टास्क बारमा गएर “Focus Assist” सर्च गर्नु भयो भने तपाईंले यो फिचर फेला पार्न सक्नुहुनेछ ।

८. वाईफाई कनेक्सन शेयर गर्नुहोस

विण्डोज टेनमा आफ्नो वाईफाई जो कसैसँग शेयर गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो विण्डोज टेनको इन्टरनेट कनेक्सनबाट अर्को डिभाइसमा कनेक्ट गराउन सक्नुहुन्छ ।

यसका लागि तपाईंले टास्कबारबाट नेटवर्क स्टाटसमा गएर हटस्पट सेट गर्न सक्नुहुन्छ । त्यहाँ तपाईंले हटस्पटको नाम र पासवर्ड देख्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१