close

अनलाइनमै मानसिक स्वास्थ्य सेवा लिन सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

बैशाख २०, २०७८ २०:१६

अनलाइनमै मानसिक स्वास्थ्य सेवा लिन सकिने, यस्तो छ तरिका

काठमाडौं । अनलाइनमार्फत मानसिक स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यका साथ ‘ह्याप्पी माइन्डस् डट हेल्थ’ सञ्चालनमा आएको छ । काठमाडौंमा औपचारिक कार्यक्रम कम्पनीले आफ्नो सेवा सुरु गरेको हो ।

जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको यो सेवाले मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

‘ह्याप्पी माइण्डस्’ को सेवाको उद्घाटन गर्दै गायिका आनी छोइङ डोल्माले युवाहरुलाइ अनिवार्य रुपमा आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव दिइन् ।  संगीतले पनि थेरापीको काम गर्ने भन्दै उनले आफ्नो शारीरिकसँगै मानसिक स्वास्थ्यको समेत ख्याल राख्न आग्रह गरिन् ।

उपयुक्त समयमा समयमा आवश्यक सेवा शुरु गरेको भन्दै उनले ह्याप्पी माइन्ड्सको सफलताको कामना पनि गरिन् । मनोचिकित्सक डा सुरज शाक्यको नेतृत्वको ह्याप्पी माइण्डसमा नेपाल, अमेरिका र अष्ट्रेलियाका काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ आवद्ध छन् ।

डा शाक्यले कोभिड महामारीका बेला मानिसहरुमा मानसिक स्वास्थ्य समस्या पनि निकै बढेर गएको उल्लेख गर्दै रोजगारदाताहरुलाई आफ्ना कर्मचारी र शैक्षिक संस्थाहरुलाई आफ्ना विद्यार्थीहरुको मानसिक स्वास्थ्यको ख्याल राख्न आग्रह गरे ।

मानसिक समस्यालाई समयमै सम्बोधन नगर्दा डिप्रेसन तथा आत्महत्याका घटनाहरु पनि बढ्दै गएको भन्दै उनले आफ्नो परिवारका सदस्य तथा साथीहरुमा त्यस्तो समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न र विज्ञहरुबाट परामर्श लिन उनको अनुरोध छ ।

ह्याप्पी माइन्ड्सका प्रबन्ध निर्देशक श्रेया गिरिले अनलाइनबाटै मनोचिकित्सा सेवा प्रदान गर्न यो सेवा सञ्चालनमा ल्याइएको बताइन् । ‘कोरोना महामारीको प्रकोपपछि विश्वभर मानसिक समस्या विकराल बन्दै गइरहेको छ, नेपालमा पनि यो अवस्था निकै गम्भीर रुपमा देखिन थालेको छ,’ गिरिले भनिन्, ‘यही समस्याको न्यूनिकरण र निराकरणको उद्देश्यका साथ हामीले ह्याप्पी माइन्डस् सुरु गरेका हौं ।’

कसरी लिने सेवा ?

सेवाग्राहीले ह्याप्पी माइन्ड्सको वेबसाइटबाट मानसिक स्वास्थ्यम्बन्धी सेवा लिनका लागि अनुरोध गर्न सक्नेछन् । हाल धेरै भार परेकाले साइट क्र्याश भएको बताइएको छ ।

सेवाग्राहीले टेलिथेरापी र अनलाइन परामर्शका लागि कम्पनीको फेसबुक पेजमा र इन्स्टाग्राममा समेत म्यासेज गर्न सक्नेछन् । त्यसबाहेक कम्पनीका मोबाइल नम्बर ९८१३२७००२६/९८४७९०८७६२ मा कल गरेर समेत सेवा लिनका लागि सम्पर्क गर्न सक्नेछन् ।

प्रबन्ध निर्देशक गिरिका अनुसार हाल कम्पनीले अनलाइन परामर्श र टेलिथेरापी सेवा सञ्चालन गरिरहेको छ । समूहमा दिइने परामर्श सेवाका लागि १२० मिनेटको अनलाइन सेसनका लागि १२,०० रुपैयाँ शुल्क राखिएको छ ।

यस्तो सेसनमा १२ देखि १५ जना बिरामीहरु रहने बताइएको छ । उनीहरुलाई मेन्टल हेल्थ नर्स र काउन्सिलरले परामर्श दिने गर्दछन् । सही परिणामका लागि सकेसम्म चार देखि पाँच वटा सेसनमा सहभागी हुन कम्पनीको सुझाव छ ।

सेसन बुकिङ गर्नु अघि नै त्यस सम्बन्धि विषयवस्तु उपलब्ध गराइनेछ । टेलिथेरापी भने क्लिनिकल साइकलोजिस्टले दिने गर्दछन् । यस्तो थेरापी समूहमा नभएर एक एक जना बिरामीलाई दिइने कम्पनीले जनाएको छ ।

यसका लागि ६० मिनेटको सेवाका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । बिरामीहरुले कनेक्ट आईपीएस, फोनपे, ईसेवा, बैंक ट्रान्सफर आदि माध्यमबाट सेवा शुल्क तिर्न सक्नेछन् । देश बाहिर बस्नेका लागि पेपालबाट भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

टेलिथेरापी तथा अनलाइन परामर्शका लागि जूम तथा गुगल मिट प्रयोग गरिने कम्पनीले जनाएको छ । हाल अनलाइनबाट मानसिक स्वास्थ्य सेवा लिनेहरुमा कक्षा १२ का विद्यार्थी धेरै रहेको प्रबन्ध निर्देशक गिरिले बताइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१