close

ल्यापटप तातेर हैरान हुनुभयो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

जेठ १३, २०७८ १९:१६

ल्यापटप तातेर हैरान हुनुभयो ? यसो गर्नुहोस्

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै पुनः देशभर निषेधाज्ञा जारी छ । यस्तोमा सम्भव भएसम्म अफिसको काम घरबाटै गर्न थालिएको छ । तर ल्यापटपबाट काम गर्दा ल्यापटप तात्ने समस्याले हैरानी दिइरहेको हुन्छ ।

आज हामी तपाईंलाई ल्यापटप तात्ने समस्या कम गर्ने केही तरिका बताउँदै छौं । कयौं पटक ल्यापटप तात्नुको कारण त्यसको ब्याट्री हुन्छ । यदि ब्याट्रीले राम्रोसँग काम गरिरहेको छैन भने हामी लामो समयसम्म ल्यापटपलाई चार्जमा राखेर काम गर्छौं । लामो समयसम्म चार्जमा राख्दा ब्याट्री तात्न थाल्दछ । जसका कारण ल्यापटप नै तात्न पुग्छ ।

यस्तोमा सम्भव भएसम्म ल्यापटपको ब्याट्री परिवर्तन गर्नुहोस् । ल्यापटपमा भित्रको तातो हावा बाहिर पठाउन कुलिङ फ्यान राखिएको हुन्छ । तर लामोसमय प्रयोग गर्दा धुलो माटोले भरिन पुग्छ र हावा राम्रोसँग बहन सक्दैन । यस्तोमा समय समयमा ल्यापटपको कुलिङ फ्यान सफा गर्नुपर्ने हुन्छ । यदि कुलिङ फ्यान नै बिग्रिएको छ भने त्यसलाई बनाउन लगाउनुहोस् ।

अफिसमा काम गर्दा ल्यापटप प्रायः टेबलमै राख्ने गरिन्छ । तर वर्क फ्रम होमको अहिलेको समयमा हामीले कतिपय समय त्यसलाई काखमा राखेर काम गरिरहेका हुन्छौं । तपाईं पनि यसैगरी काम गर्नुहुन्छ भने आफ्नो बानी तुरुन्तै बदल्नुहोस् । किन कि यो गलत तरिका हो । धेरैजसो ल्यापटपको कुलिङ फ्यान तल मुनी भागमा हुन्छ ।

जहाँबाट फ्यानले हावा ल्यापटप भित्र पठाउँछ । तर काखमा राखेर काम गर्दा हावा भित्र जान पाउँदैन र ल्यापटप निकै तात्ने हुन्छ । त्यसैले ल्यापटपमा काम गर्दा त्यसको एयर भेन्टिलेटर राम्रो अवस्थामा रहेको र सीपीयूमा पर्याप्त हावा प्रवाह भइरहेको ख्याल राख्नुहोस् । यसैगरी ल्यापटपको सरसफाई समेत महत्वपूर्ण विषय हो ।

यसमा भित्री र बाहिरी दुवै किसिमको सरसफाई जरुरी हुन्छ । त्यसैले दुई तीन दिनको अन्तरालमा ल्यापटपलाई नरम तथा सफा कपडाले सफा गर्नुहोस् । यदि तपाईंसँग ल्यापटप क्लिनर ब्रस छ भने त अझ राम्रो । यस बाहेक ल्यापटपमा अनावश्यक एप्लिकेसन नराख्नुहोस् । त्यस्ता एप्लिकेसन छन् भने पनि हटाउनुहोस् ।

किनभने ल्यापटपको मेमोरी फुल हुँदा समेत स्लो हुने र प्रोसेसरमा धेर भार पर्ने भएकाले तात्ने गर्दछ । यदि दिनरात ल्यापटप अन राख्नुहुन्छ भने त्यसबाट पनि ल्यापटप तात्ने समस्या उत्पन्न भइरहेको हुन्छ । आफ्नो काम सकेपछि ल्यापटपलाई पनि आराम दिनुहोस् । छोटो ब्रेक हो भने स्लिप मोडमा राख्नुहोस् । नत्र शटडाउन गर्ने बानी बसाल्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१