close

एन्ड्रोइड १२ भर्सेस आईओएस १५ : कुन अब्बल ?

टेकपाना टेकपाना

जेठ २९, २०७८ २१:३६

एन्ड्रोइड १२ भर्सेस आईओएस १५ : कुन अब्बल ?

काठमाडाैं । एप्पलले हालै मात्र डब्लूडब्लूडीसी २०२१ मार्फत नयाँ आईओएस अपडेट सार्वजनिक गरेको छ । यो अपडेटसँगै आईफोनमा निकै ठूलो परिवर्तन देखिनेछ ।

यसपटक एप्पलले नोटिफिकेसनलाई व्यवस्थित गर्दै प्राइभेसी तथा पर्सनलाइजेसनमा निकै ध्यान दिएको छ । त्यसो त यसले अघिल्लो अपरेटिङ सिस्टम आईओएस १४ जति ठूलो बदलाव ल्याएको छैन ।

तर प्रयोगकर्ताका लागि भने धेरै हदसम्म नयाँपन यसमा छ । यसैगरी एन्ड्रोइड १२ को बारेमा समेत चर्चा सुरु भएको छ । एन्ड्रोइडमा गुगलको वार्षिक अपग्रेडको रुपमा गत वर्ष आईओएस १४ जस्तै भारी परिवर्तन देखिएको थियो ।

पिक्सेल फोनमा त्यो परिवर्तन सहजै देख्न सकिन्छ । जुन गुगलले अब एन्ड्रोइडमा समेत ल्याउँदै छ । गुगलले पनि आफ्नो प्राइभेसी नीतिलाई मजबुत बनाएको छ । साथै अपरेटिङ सिस्टममा थुप्रै नयाँ चिजहरु जोडिएको छ ।

समग्रमा भन्ने हो भने एन्ड्रोइड १२ मा धेरै नयाँ अपडेटहरु देख्न सकिन्छ । आज हामी कुन अपरेटिङ सिस्टममा बढी फिचर रहेका छन् भन्ने विषयमा चर्चा गर्दै छौं ।

आईओएस १५

एप्पलले आईओएस १५ को साथमा आईफोनमा यस वर्ष निकै धेरै परिवर्तनहरु ल्याएको छ । एप्पलले दैनिकीलाई सहज बनाउनका लागि ससाना कुराहरुमा धेरै ध्यान दिएको छ । यसपटक नयाँ स्टिल वालपेपर तथा रिडिजाइन नोटिफिकेसनसँगै इन्टरफेसमा समेत परिवर्तन गरेको छ ।

यस वर्ष एप्पलले नोटिफिकेसनमा धेरै नै काम गरेको छ । अब प्रयोगकर्ताले डीएनडी, ड्राइभिङ, वर्क, होमको रुपमा छुट्टाछुट्टै प्रोफाइल तयार पार्न सक्छन् । यीमध्ये कुनै पनि प्रोफाइल चयन गर्दा आईफोनले त्यसमा भएका नोटिफिकेसन मात्र तपाईंलाई पठाउनेछ । जुन नोटिफिकेसन तपाईंलाई अनावश्यक लाग्छन्, त्यस्ता नोटिफिकेसन आउने छैनन् ।

साथै एकसाथ सबै नोटिफिकेसनलाई देख्न सकिने विकल्पसमेत दिइएको छ । यसपटक नोटिफिकेसन यूआईलाई एन्ड्रोइडको जस्तै बनाइएको छ । जसले गर्दा फोनमा तपाईंको नियन्त्रण बढी हुनेछ । यदि तपाईं डीएनडी इनेबल गर्नुहुन्छ भने तपाईंलाई ‘आईमेसेज’ मा म्यासेज पठाउने प्रयोगकर्तालाई तपाईंको डीएनडी अवस्थाको बारेमा स्वतः जानकारी पुग्नेछ ।

यसबाहेक फेसटाइममा पनि निकै परिवर्तन देख्न सकिन्छ । जस्तै ब्याकग्राउण्ड न्वाइज रिडक्सन, भिडियो कलिङमा पोट्रेड मोड इफेक्ट र ग्रुप कलमा ग्रिड भ्यू उपलब्ध छ । ‘शेयर प्ले’ को माध्यमबाट आईफोन प्रयोगकर्ताले भिडियो कलमार्फत एकसाथ भिडिओ हेर्न वा म्युजिक सुन्न सक्छन् ।

यसबाहेक एन्ड्रोइड प्रयोगकर्ताले वेब ब्राउजरको माध्यमबाट फेसटाइम लिङ्कमार्फत फेसटाइम कल समेत गर्न सक्छन् । यसबाहेक सफारीमा स्मार्ट ट्याप म्यामेजमेन्टमा परिवर्तन गरिएको छ । सर्च बारलाई सबैभन्दा तल राखिएको छ । जसबाट तपाईं अर्कोमा जानका लागि स्विच गर्न सक्नुहुन्छ ।

क्यामेराको कुरा गर्ने हो भने अन्य एपमा कपी गर्ने वा नोट्सको रुपमा सेभ गर्नका लागि फोटोबाट टेक्स्ट स्क्यान गर्न सकिन्छ । स्पटलाइट सर्चले अब त्यस्ता फोटो तथा वेबको जानकारी देखाउँछ, जुन तपाईंका लागि महत्वपूर्ण छन् ।

सिरीको प्रयोग अफलाइनमा समेत गर्न सकिन्छ । त्यस्तै प्राइभेसीको कुरा गर्ने हो भने तपाईंले इन्स्टल गरेका सबै एपले तपाईंको डेटा कहाँ सेभ भइरहेको छ र त्यसलाई कसरी ट्र्याक गर्न सकिन्छ भन्ने कुराको जानकारी दिनेछ ।

आईओएस १५ अपडेट ‘आईफोन सिक्स एस’ पछिका नयाँ मोडेलमा उपलब्ध हुनेछ । जसमा आईफोन सेभेन सिरिज, आईफोन एट सिरिज, आईफोन एक्स, आईफोन एक्स एस सिरिज, आईफोन एक्स आर, आईफोन इलाभेन, आईफोन ट्वेल्भ, आईफोन एसई, आईफोन एसई २०२० र आईपड टच सेभेन्थ जेनेरेसन रहेका छन् ।

एन्ड्रोइड १२

एन्ड्रोइड १२ मा यसपटक प्राइभेसीमा सबैभन्दा धेरै ध्यान दिइएको छ । एन्ड्रोइडले डिजाइन थिममा समेत निकै ध्यान दिएको छ । यस वर्ष एन्ड्रोइड १२ अन्य कुनै पनि कस्टम स्क्रिनभन्दा अलग देखिन्छ । यसमा भारी मात्रामा विजेट तथा आकर्षक नोटिफिकेसन शेड राखिएको छ ।

अब लक स्क्रिन एओडी तथा होमस्क्रिनमा फोन वालपेपरको कलरदेखि कलरको बेस तयार गर्नेछ । कयौं थिम डार्क वा लाइटको साटो कलरमा आधारित हुनेछन् । साथै मेटेरियल यू डिजाइन थिम भने पिक्सेलमा मात्रै सीमित हुनेछ । यसपटक नोटिफिकेसन शेडदेखि गुगल प्ले तथा होम कन्ट्रोलमा सहजै एक्सेस बनाउन सकिनेछ ।

यसपटक गुगल असिस्टेन्टलाई पावर बटन दुई पटक दबाएकै भरमा एक्सेस गर्न सकिने बनाइएको छ । साथै एन्ड्रोइड १२ मार्फत गुगलले फास्ट काम गर्नेछ । सीपीयूको समय २२ प्रतिशत कम हुनेछ र नयाँ एनिमेसन अनुभव फरक फरक स्तरमा चल्नेछ । एन्ड्रोइड टिभी रिमोट अब डिफल्ट रुपमा सिस्टमबाटै सेट गरिएको छ ।

अब क्रोम ब्राउजरले तपाईंलाई पासवर्डको जानकारी दिनेछ र गुगल असिस्टेन्टले तपाईंलाई आवश्यक पासवर्ड तुरुन्त परिवर्तन गर्न सल्लाह दिनेछ । एन्ड्रोइड १२ मा आईओएस १४ को जस्तै एउटा नयाँ प्राइभेसी ड्याशबोर्ड एप दिइएको छ । जसले कुन एपले सेन्सरको माध्यमबाट निजी डेटा प्रयोग गरिरहेको छ भन्ने कुरा चेक गर्नेछ ।

यद्यपि यसले आईओएस १५ को जस्तै वेबसाइट ट्र्याक भने गर्दैन । एपको प्रयोगको दौरान प्राइभेसी इन्डिकेटरले प्रयोगकर्ताको डिभाइस सेन्सर एक्सेसको बारेमा जानकारी दिनेछन् । गुगलले समेत सबै कलरका प्रयोगकर्ताको लागि सहज बनाउन क्यामेरा एल्गोरिदमलाई सुधार गरिरहेको छ ।

एन्ड्रोइड १२ अपडेट पिक्सेल थ्री सिरिज, पिक्सेल थ्री ए सिरिज, पिक्सेल फोर सिरिज, फिक्सेल फोर ए सिरिज र पिक्सेल फाइभ सिरिजमा काम गर्नेछ । यस बाहेक एन्ड्रोइड साझेदारमा समेत निर्भर हुन्छ । एन्ड्रोइड १२ को सपोर्ट कुन डिभाइसमा उपलब्ध गराउने भन्ने कुरा त्यसैअनुसार तय हुन्छ । वनप्लस, साओमी, एसुस, ओप्पो र रियलमीले बेटमा भाग लिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१