close

पठाओले परीक्षण गर्‍यो रियल टाइम डेलिभरी, अब १५ मिनेटमै ग्रोसरी आइटम घरमा

टेकपाना टेकपाना

जेठ ३०, २०७८ १५:५०

पठाओले परीक्षण गर्‍यो रियल टाइम डेलिभरी, अब १५ मिनेटमै ग्रोसरी आइटम घरमा

काठमाडौं । राइड सेयरिङ एप पठाओले रियल टाइममै ग्रोसरी सामग्री डेलिभरी गर्ने सेवाको परीक्षण थालेकाे छ । कम्पनीले आइतबारदेखि पठाओ बजारकाे रुपमा यसको परीक्षण अघि बढाएको हो । परीक्षणको क्रममा कम्पनीले आफ्नो कार्यालय बानेश्वर क्षेत्र वरपर ग्रोसरी आइटमको डेलिभरी सेवा दिन थालेको जनाएको छ ।

योसँगै अब उक्त क्षेत्रका पठाओ सेवाग्राहीले १५ मिनेटमै सामान प्राप्त गर्नसक्ने भएका छन् । ‘आज भएको परीक्षणमा १५ मिनेटमै सामान ग्राहकको घरमा पुगेको छ,’ पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले भने, ‘भने अली टाढा रहेको स्थानमा २५ मिनेट लागेको छ । यो हिसाबले हेर्ने हो भने बढी ४५ मिनेटभित्र अब पठाओबाट अर्डर गरेको ग्रोसरी आइटम ग्राहकको घरमा पुग्नेछ ।’

जुन सामान्य डेलिभरी कम्पनीको तुलनामा निकै नै कम समय हो । हाल नेपालमा थोरैमा पनि सामान डेलिभरीको लागि २ देखि ३ घण्टा लाग्ने गरेको छ ।

तर अब बढीमा ४५ मिनेटमा घरमा सामन पुग्नेछ । यसरी रियल टाइम डेलिभरी सेवा सुरू गर्ने कम्पनीका रुपमा नेपालमा पठाओको ग्रोसरी सेवा नै सबैभन्दा पहिलो भएको बस्न्यातको दाबी छ । उनका अनुसार पठाओका सेवा उपलब्ध सबै स्थानमा डेलिभरी गर्ने याेजना छ ।

तर, त्यसका लागि केही समय लाग्ने उनी बस्न्यात बताउँछन् । भन्छन, ‘लकडाउनको अहिलको अवस्थामा यसलाई विस्तार गर्नसक्ने अवस्था छैन । बानेश्वरमा भएको परीक्षणमा पनि कस्तो प्रतिक्रिया आउने हो त्यसको आधारमा यसको विस्तारको विषय निर्धारण हुनेछ ।

कोभिड भएर आफू घरमा बस्दा ग्राेसरी आइटम किन्न भएको असहजतालाई कम्पनीले अवसरको रुपमा यो कदम अघि बढाएको उनले बताए । ‘मेरो घरमा कोभिड हुँदा तरकारी किन्न जानसक्ने अवस्था थिएन,’ उनले सुनाए, ‘यस्तोमा रियल टाइममा अडर गर्ने बित्तिकै सामान ल्याइदिने कुनै प्लेटफर्फ भएको भए कति सहज हुने थियो भन्ने लागेको थियो । यसपछि हामी यसलाई परियोजनाको रुपमा अघि बढाएका हाैं ।’

ग्रोसरी आइटम लामो समय स्टक राख्न नसकिने सामग्रीहरु हुन् । तर, हामीलाई हरेक दिन आवश्यक पर्ने भएकाले दैनिक किन्न जानुभन्दा एक दिन गएर एक हप्ताको लागि एकै पटक ल्याउनुपर्ने बाध्यता छ । याे वाध्यतालाई अन्त्य गर्न पनि यो परियोजना अघि बढाएको उनले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१