close

१ जीबीपीएस गतिमा भारती एयरटेलले सुरू गर्‍यो फाइभजी परीक्षण

टेकपाना टेकपाना

असार १, २०७८ १६:२२

१ जीबीपीएस गतिमा भारती एयरटेलले सुरू गर्‍यो फाइभजी परीक्षण

काठमाडौं । छिमेकी देश भारतमा फाइभजी परीक्षण सुरु भएको छ । यसअन्तर्गत भारती एयरटेलले साेमबार फाइभजी नेटवर्ककाे परीक्षण सुरु गरेको छ । हालै भारत सरकारले सेवाप्रदायकहरुलाई फाइभजी परीक्षणका लागि फ्रिक्वेन्सी उपलब्ध गराएको थियो । यसअन्तर्गत एयरटेलका अतिरिक्त रिलायन्स जियो, भोडाफोन आइडिया र एमटीएनएलले फाइभजी परीक्षणका लागि अनुमति पाएका छन् ।

सबैलाई उछिन्दै भारती एयरटेलले गुडगाउँ (गुरुग्राम) मा यसको परीक्षण थालेकाे हाे । कम्पनीले ३५०० ब्याण्डमा फाइभजी परीक्षण सुरूवात गरेकाे हाे । यसअन्तर्गत परीक्षण गरिएकाे ठाउँमा १ जीबीपीएसभन्दा बढी स्पिड दिन सफल भएकाे कम्पनीले जनाएकाे छ । याे गतिमा फाेरके मुभी एक मिनेटभन्दा थाेरै समयमै डाउनलाेड गर्न सकिन्छ ।

गुडगाउँकाे साइबर हबलाई केन्द्रमा राखेर फाइभजी परीक्षण सुरू गरिएकाे हाे । फाइभजी पूर्वाधार निर्माता एरिक्सनसँगकाे सहकार्यमा चाँडै नै मुम्बईमा पनि फाइभजी परीक्षण गर्ने कम्पनीकाे याेजना छ ।

एयरटेलले ३५०० मेगाहर्ज, २८ गिगाहर्ज र ७०० मेगाहर्जमा दिल्ली, मुम्बई र काेलकात्ता र बैंङ्लाेरमा फाइभजी परीक्षण गर्न अनुमति पाएकाे छ ।

भारतमा परीक्षण हुने फाइभजी प्रविधि फोरजीको तुलनामा १०० गुणा फास्ट हुने बताइएकाे छ । परीक्षणको दौरान टेलिमेडिसिन, टेलिएजुकेसन र ड्रोनबाट कृषि बाली अनुगमनमा फाइभजी प्रयोग गरिनेछ । साथै दूरसञ्चार कम्पनीहरुले आफ्नो नेटवर्कमा कयौं प्रकारका डिभाइसको समेत परीक्षण गर्नेछन् । फाइभजी परीक्षण गर्न ६ महिनाको अवधि दिइएको छ ।

जसमा खरिद तथा उपकरण जडानका लागि दुई महिनाको अवधि दिइएको छ । सेवाप्रदायकलाई ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत फाइभजी परीक्षण गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१