close

इन्टरनेटमा भने जति स्पिड पाउनुभएन ? प्राधिकरणलाई अब घरमै बोलाएर अनुगमन गर्न सकिने

टेकपाना टेकपाना

असार ४, २०७८ १८:५

इन्टरनेटमा भने जति स्पिड पाउनुभएन ? प्राधिकरणलाई अब घरमै बोलाएर अनुगमन गर्न सकिने

काठमाडौं । भने जति स्पिड नपाएको भन्दै इन्टरनेट ग्राहकले निरन्तर गुनासो गरेको पाइन्छ । पछिल्लो समय कोभिड-१९ को महामारीले इन्टरनेट प्रयोग बढाउँदा झनै यस्ता गुनासा आउने गरेका छन् ।

सामान्यत: धेरै डिभाइसमा एकैपटक सेवा प्रयोग गर्दा इन्टरनेट स्लो हुने गरेको छ । वा अन्य विभिन्न कारणले भने जति स्पिडमा इन्टरनेट प्रयोग गर्न सकिँदैन ।

तर, सामान्य अवस्थामा पनि प्रयोगकर्ताले आफूले इन्टरनेट तोकिएको जति नपाएको गुनासो गर्ने गरेका छन् । पछिल्लो समय यसरी गुनासाे गर्नेको संख्या बढेपछि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यसकाे समाधानका लागि नयाँ सिस्टम भित्र्याउने भएको छ ।

प्राधिकरणले आगामी आर्थिक वर्ष २०७८/०७९ को आर्थिक वर्षमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको गुणस्तर नियमनका लागि हार्डवेयर तथा सफ्टवेयर व्यवस्थापन गर्ने कार्यक्रम राखेको छ ।

याे कार्यक्रमअन्तर्गत प्राधिकरणले हार्डवेयर र सफ्टवेयर दुवै खरिद गर्नेछ, जसलाई आवश्यकताअनुसार ग्राहकको घरमा रहेको राउटरसँग लगेर जोडिनेछ । कम्तीमा १० दिन र बढीमा एक महिनासम्म प्रयोगकर्ताको घरमा राखिएको उक्त सिस्टमले सेवाप्रदायकले दिएको इन्टरनेटको गति मापन गर्नेछ ।

यसरी मापन गर्दा आउने तथ्याङ्कले ग्राहकलाई सेवाप्रदायकले तोकिएअनुसार इन्टरनेट दिए/नदिएको भनेर स्पस्ट जानकारी दिने प्राधिकरण स्रोतले जनाएको छ । उसका अनुसार यो सिस्टम गुनासो गर्ने ग्राहकको घरमा उसको अनुमतिमा मात्रै राखिने छ ।

यसअघि पनि यस्तो खालका केही डिभाइस प्राधिकरणमा उपलब्ध थिए । तर, त्यसको उचित प्रयोग भने हुने सकेको थिएन । पछिल्लाे समय ग्राहकबाट गुनासो आउने क्रम बढेसँगै थप डिभाइसका साथै तथ्याङ्क केलाउन आवश्यक पर्ने सफ्टवेयर खरिद गर्ने तयारीमा प्राधिकरण जुटेकाे हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१