close

अन्तरिक्षमा जान लागेका बेजोसलाई पृथ्वीमा फर्किन नदिन ५६ हजार बढीको हस्ताक्षर

टेकपाना टेकपाना

असार ७, २०७८ १५:१६

अन्तरिक्षमा जान लागेका बेजोसलाई पृथ्वीमा फर्किन नदिन ५६ हजार बढीको हस्ताक्षर

काठमाडौं । आउँदो महिना विश्वका सर्वाधिक धनी व्यक्ति, अमेजनका संस्थापक एवं स्पेस कम्पनी ब्ल्यु ओरिजिनका मालिक जेफ बेजोस अन्तरिक्ष यात्रामा जाँदै छन् । ब्ल्यु ओरिजिनले आगामी २० जुलाईमा न्यू सेपहार्ड रकेट र क्याप्सुल सिस्टमलाई क्रु मेम्बरसहित अन्तरिक्षमा प्रक्षेपण गर्दैछ, जसमा बेजोस, उनका भाइ मार्क बेजोस र अन्य चार जना गरी कुल ६ जना यात्रु हुने तय गरिएको छ ।

न्यु सेफर्ड रकेटको पहिलो मानवयुक्त यात्रामा जाने तयारीमा रहेका जेफ बेजोसलाई स्पेसबाट फर्किन दिनुहुन्न भनी हस्ताक्षर संकलन सुरु भएको छ । बेजोसले आफू अन्तरिक्ष यात्रामा जाने इन्स्टाग्रामबाट जानकारी गराएको तीन दिनपछि एकैपटक हस्ताक्षर संकलनको कार्यक्रम सुरु भएको थियाे ।

हस्ताक्षर संकलन भएको १० दिनकाे आवधिमा ५६ हजारभन्दा बढी याे अभियानमा सहभागी भइसकेका छन् । जसमध्ये ‘डु नट अलाउ जेफ बेजोस टु रिटर्न टु अर्थ’ अर्थात् जेफ बेजोसलाई पृथ्वीमा फर्किन नदिउँ भन्ने नाराउक्त हस्ताक्षर कार्यक्रममा ३८ हजारभन्दा बढीले सहभागी भइसकेका छन् ।

पृथ्वीमा होस् या अन्तरिक्षमा, अर्बपतिको अस्तित्व हुनुहुन्न भनी उल्लेख गरिएको उक्त पिटिसनमा धेरैले कारणसहित हस्ताक्षर गरका छन् । हस्ताक्षर गर्ने एकजनाले उनीहरुलाई पृथ्वीमा पुनः आउन दिनु ‘प्रिभिलेज’ हो, जुन राम्रो होइन भनेर कमेन्ट गरेका छन् ।

त्यस्तै कतिपयले पृथ्वीले जेफ बेजोस, एलन मस्क, बिल गेट्सजस्ता अर्बपती नचाहेको भनी कमेन्ट गरेका छन् । त्यस्तै ‘पिटिसन टु नट अलाउ जेफ बेजोस रि–इन्ट्री टु अर्थ’ नामक अर्को हस्ताक्षर संकलन कार्यक्रममा पनि १९ हजारभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् । अभियानमा कूल ७५ हजार हस्ताक्षर संकलन गर्ने तयारी गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६