close

पाठ्यक्रमका लागि सरकारी वेबसाइट, जसले शिक्षक र विद्यार्थीलाई पोर्न साइटमा पुर्‍याउँदै छ

टेकपाना टेकपाना

असार ७, २०७८ १६:३३

पाठ्यक्रमका लागि सरकारी वेबसाइट, जसले शिक्षक र विद्यार्थीलाई पोर्न साइटमा पुर्‍याउँदै छ

काठमाडौं । देशका कक्षा कोठामा विद्यार्थीले के पढ्छन्, कति पढ्छन, कुन कक्षामा कस्तो विषय पढ्ने, कुन विषयमा के–के पढ्ने भन्ने सबै कुराको निर्धारण गर्ने सरकारी निकाय पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा माल्वेयर स्क्रिप्ट रहेको पाइएको छ । जसका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको केन्द्रको वेबसाइटले शिक्षक तथा विद्यार्थीलाई अश्लील साइटमा पुर्‍याइरहेको छ ।

केन्द्रको वेबसाइटमा रहेको डिजिटल लाइब्रेरीभित्र विभिन्न सेक्सन छन् । जसमा कक्षा अनुसारको कोर्ष अफ स्टडी, शिक्षकका लागि गाइड, टेक्स्टबुक, विद्यार्थीका लागि विभिन्न रिसोर्सहरु उपलब्ध छन् । वेबसाइटमा रहेको उक्त सामग्रीमा पुहँचका लागि लिंकमा क्लिक गर्दा शिक्षक तथा विद्यार्थी सोझै विभिन्न पोर्न साइट र विभिन्न विज्ञापनका साइटमा पुगिरहेका छन् ।

कोभिड-१९ का कारण हालको अवस्थामा अनलाइन शिक्षाले प्राथामिकता पाएको छ । विद्यालयहरु भौतिक उपस्थिति बिना भर्चुअल माध्यमबाट वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिरहेका छन् ।

अझ सरकारी विद्यालयका विद्यार्थीका लागि शैक्षिक सामग्री प्राप्त गर्ने मुख्य स्रोत भनेकै पाठ्यक्रम विकास केन्द्रको ई-लाइब्रेरी हो । तर, शैक्षिक गतिविधिसँग जोडिएको वेबसाइटमा अनैतिक र हानिकारक विज्ञापन भेटिएकाे छ ।

टेकपानालाई जानकारी दिँदै स्याङ्जाकाे सरकारी विद्यालयमा कार्यरत शिक्षक विकास गुरुङले भने, ‘केही दिनअघि मैले मेरा विद्यार्थीलाई पाठ्यक्रम विकास केन्द्रकाे वेबसाइटमा विभिन्न शिक्षण सिकाई सामग्री उपलब्ध छन भनेर जानकारी दिँदै थिए । सो क्रममा वेबसाइटमा रहेको करिकुलम, टेक्स्टबुक, ई–लाइबेरी जस्ता सेक्सन खोल्दा एक्कासी मलाई लज्जित बनाउने खालका साइट खुल्यो ।’

उक्त वेबसाइटमा हामीले थाहै नपाई पप–अप विन्डोमा विज्ञापन खुल्ने र त्यस्ता वेबसाइटमा पोर्न सामग्री देखिने गरेकाे छ ।

टेकपानासँगकाे कुराकानीमा एक डेभलपरले भने, ‘यो माल्वेयर स्क्रिप्ट हो । साइटका पोर्टहरु खुल्ला हुँदा ह्याकरले त्यस्तो स्क्रिप्ट राखिदिने गर्छन् ।’

यसको अर्थ उक्त सरकारी साइटमा ह्याकरले पहुँच बनाएको छ, जसमार्फत विभिन्न विज्ञापन डिस्प्ले भइरहेका छन् । भने, त्यहाँबाट प्रयोगकर्ताकाे जानकारीसमेत संकलन भइरहेकाे हुनसक्ने अनुमान गरिएकाे छ ।

यो विषयमा सम्बन्धित निकाय भने अनभिज्ञ छ । पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले आफूलाई यो विषयमा कुनै जानकारी नभएको बताए । उनले यदि यस्तो समस्या देखिएकाे पाइए समाधान थालिने बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६