close

विण्डोज ११ मा एन्ड्रोइड एप : माइक्रोसफ्टले गुगलको सट्टा किन रोज्यो अमेजन ?

टेकपाना टेकपाना

असार २०, २०७८ १५:४५

विण्डोज ११ मा एन्ड्रोइड एप : माइक्रोसफ्टले गुगलको सट्टा किन रोज्यो अमेजन ?

काठमाडौं । माइक्रोसफ्टले हालै विण्डाेज ११ घाेषणा गर्‍यो । नयाँ अपरेटिङ सिस्टममा चर्चाको विषय एन्ड्रोइड एप बनिरहेको छ । विण्डाेज ११ मा प्रयोगकर्ताले एन्ड्रोइड एप प्रयोग गर्नसक्ने भएका छन् । तर, त्यही एप गुगल प्ले स्टोरबाट नभएर अमेजन स्टाेरबाट डाउनलोड गर्नुपर्ने हुन्छ ।

किन यस्तो भयो त ? प्रयोगकर्ताले आफूले चाहेअनुसार एप रोजेर प्रयोग गर्न पाउने प्ले स्टाेरकाे सट्टामा माइक्राेसफ्टले सीमित एप भएको अमेजन स्टाेर किन रोज्यो ? जसले गुगल र माइक्रोसफ्ट बीचमा रहेको आन्तरिक द्वन्दलाई समेत बाहिर ल्याएको छ ।

यसरी द्धन्दलाई बाहिर ल्याउने गरी भएकाे निर्णयका पछाडि के छ कारण ? यो विषय सबैका लागि चासोको विषय बनिरहेको छ । यसैबीच माइक्रोसफ्टले अमेजन प्लेटफर्म छनोट गर्नुको केही कारण बाहिरिएका छन् ।

त्यसमा सबैभन्दा पहिलो भने गुगलले एन्ड्रोइड एपसम्बन्धी जारी गरेको पछिल्लो निर्णय हो । गुगलले केही समयअघि एन्ड्रोइड एपको फर्म्याट परिवर्तन गरेको छ । एपीके फर्म्याटमा काम गर्दै आएको गुगलले ‘एन्ड्रोइड एप बन्डल’ (एएबी) लागू गर्‍यो ।

गुगलले यसरी नयाँ मापदण्ड लागू गर्नुको कारण थियो, डाउनलोड भएको एपको साइज कम गर्नु । भने, डाउनलोड भएको एपलाई ट्रयाक गरी यदि केही भएको खण्डमा तत्कालै रिकभर गर्न सकिन्छ भन्ने हो । यसको कारण पनि माइक्रोसफ्टले अमेजनलाई रोजेको हुनसक्ने आँकलन गरिएको छ ।

विण्डाेज ११ मा तपाईंकाे मनपर्ने एपहरु सबैको पहुँच भने पाउनुहुने छैन । अमेजन स्टोरले अहिले ४ लाख ६० हजार एपहरु मात्र प्रदान गर्छ । तर गुगलले भने ३० लाख ६० हजारको हारहारीमा एपहरु प्रदान गर्छ ।

अहिलेको लोकप्रिय टिकटकजस्ता एन्ड्रोइड एपहरु पनि माइक्रोसफ्ट स्टोरमा सूचीबद्ध हुने जनाइएको छ । यद्यपि प्रयोगकर्ताहरूले मोबाइल एप इन्स्टल गर्न आफ्नो अमेजन अकाउन्टमा लगइन गर्नुपर्नेछ । एकपटक सेटअप भएपछि, एन्ड्रोइड एपहरु अन्य विण्डोज एपजस्तै समान रुपमा चल्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३